• २३ असार २०८२, सोमबार

‘दुःखमा सम्झिने राज्य संयन्त्र नेपाल प्रहरी’

blog

काठमाडौँ, कात्तिक १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आमनागरिकलाई दुःख परेका बेलामा सम्झिने पहिलो राज्य संयन्त्र नेपाल प्रहरी भएकाले यस सङ्गठको विशेष महत्व रहेको बताउनुभएको छ । आमनागरिकका हरेक सरोकार र समस्यामा नेपाल प्रहरीले प्रथम पङ्क्तिमा रहेर भूमिका निर्वाह गर्नु आफैँमा महत्वपूर्ण कार्य भएको उल्लेख गर्नुभएको हो । 

६८ औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा मङ्गलबार आयोजित समारोहमा प्रधानमन्त्री प्रचण्डले सो धारणा व्यक्त गर्नुभएको हो। नेपाल प्रहरीको क्षमता अभिवृद्धिसँग सरकारको सफलता पनि समेटिएको उल्लेख गर्दै उहाँले यस सङ्गठनको समयसापेक्ष आधुनिकीकरणका लागि सरकार अत्यन्त गम्भीर रहेको बताउनुभयो ।

“नेपाल सरकार नेपाल प्रहरीका विभिन्न श्रेणीका अधिकृतदेखि जवानसम्म सबैको साझा अभिभावक हो, सबैलाई समान र न्यायपूर्ण व्यवहार गर्दछ भन्ने कुरा व्यवहारबाटै प्रमाणित गरिएको छ,” उहाँले भन्नुभयो, ‘‘यस प्रकारको कार्यले सङ्गठनमा सुदृढ एकता कायम गर्न, प्रहरी कर्मचारीको मनोबल उकास्न तथा सङ्गठनभित्र सबैले आफ्नो जीवन देख्ने संस्कारको विकासमा महत्वपूर्ण योगदान पु¥याउँछ ।” 

सरकारले लिएको यस नीतिको गम्भीरतालाई ग्रहण गरी सोही अनुरूप सिङ्गो सङ्गठनको वृत्तिविकास र परिचालन व्यवस्थित तुल्याउन प्रधानमन्त्री प्रचण्डले प्रहरी महानिरीक्षकलाई निर्देशिन दिनुभयो । संविधानबमोजिम 

नेपाल प्रहरीले सङ्घीय संरचनामा जान रूपान्तरणको तयारी गरेका कार्य महत्वपूर्ण रहेको उहाँको भनाइ थियो।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्‍ट्रसङ्घमार्फत नेपाल प्रहरीले विश्‍व शान्तिमा ठुलो योगदान पु¥याएको चर्चा गर्दै उहाँले आगामी दिनमा विश्व शान्तिका निम्ति नेपाल प्रहरीलगायतका देशका सुरक्षा अङ्गको उपस्थिति र भूमिका बढाउने सन्दर्भमा सरकारले आवश्यक कूटनीतिक पहल लिने जानकारी दिनुभयो ।

नेपाल प्रहरीले पनि आफू र आफ्नो सेवा प्रवाहलाई समयसापेक्ष आधुनिकीकरण गर्दै अहिलेको अवस्थामा आधुनिक, दक्ष, जिम्मेवार अनि राष्ट्रिय साथै अन्तर्राष्ट्रिय जगत्मा समेत प्रभावशाली प्रहरी सङ्गठनका रूपमा स्थापित हुन सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सीमित साधनस्रोत, जनशक्ति र अनेकौँ चुनौतीबिच पनि अपराध नियन्त्रण र अनुसन्धानका क्षेत्रमा नेपाल प्रहरीले विश्वस्तरमा जुन ख्याति प्राप्त गरेको छ, यो हाम्रा लागि महत्वपूर्ण पुँजीसमेत हो ।’’

उहाँले भन्नुभयो, “प्रहरीले हाम्रो समाजमा पु¥याएको योगदान, अहोरात्र प्रदान गरेको सुरक्षा, आमनागरिकलाई समस्या परेको समयमा दिएको काँध र मातृभूमिका लागि गरेको बलिदान, चुनौतीपूर्ण परिस्थितिमा स्वयम्सेवी भावनाद्वारा प्रेरित भई गरेको कर्तव्यनिष्ठ सेवाप्रति सम्मान प्रकट गर्ने राष्ट्रिय अवसरसमेत हो ।’’

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाल प्रहरीद्वारा सञ्चालनमा ल्याइएको ‘पक्लिक सर्भिस एनाउन्समेन्ट (पिएसए)’ को शुभारम्भ गर्नुभयो । त्यसै गरी उहाँले १९ औँ एसियाली खेलकुदमा उत्कृष्ट हुने नेपाल प्रहरीका खेलाडीलाई सम्मान तथा नगद पुरस्कार प्रदान गर्नुका साथै नेपाल प्रहरीद्वारा प्रदान गरिने पुरस्कार, सम्मान र छात्रवृत्तिसमेत प्रदान गर्नुभयो ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले ‘नेपाल प्रहरी कार्ययोजना–२०८०’ तर्जुमा गरी लक्षित वर्गकेन्द्रित कल्याणकारी योजना विकास गर्ने, प्रहरी कर्मचारीको उत्प्रेरणा तथा मनोबल वृद्धि हुने क्रियाकलाप सञ्चालन गर्ने, नवप्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्नेलगायतका कार्यक्रम अगाडि बढाइएको जानकारी दिनुभयो ।

सो अवसरमा नेपाल प्रहरीका विभिन्न कालखण्ड भल्किने ऐतिहासिक मार्चपास, बैन्ड डिस्प्ले, सात वटै प्रदेश र उपत्यकाका कला संस्कृति झल्किने झाँकी, नेपाल प्रहरीको विशेष कार्यदलबाट प्रहरी कला प्रदर्शन, केनाइन कार्यालयबाट तालिम प्राप्त कुकुरको विविध क्रियाकलाप प्रदर्शन गरिएको थियो ।