सुजल श्रेष्ठ
प्युठान, असोज ३० गते । झिमरुक गाउँपालिका–६ स्थित अर्गेली र सिमलचौरमा झोलुङ्गे पुल निर्माण भएपछि अहिले स्थानीयलाई आवतजावत गर्न सजिलो भएको छ । अर्गेली र सिमलचौर बीचमा पर्ने झिमरुक नदिमा साहुखुट्टा–सिमलचौर झोलुङ्गे पुल बनेपछि स्थानीयले वर्षौदेखि नदि वारपार गर्न पाएको सास्ती हटेको छ ।
स्थानीय खगेश्वर भट्टराईले धेरै पहिलेदेखि पुल बनाउन स्थानीयले गरेको माग पुरा भएको भन्दै खुशी हुनुहुन्छ । ‘‘साना नानिबाबुलाई विद्यालय जान आउन समस्या थियो,’’ उहाँले भन्नुभयो, ‘‘दाउँरा घाँस गर्न निकै सास्ती थियो, अहिले पुल बनेपछि सजिलो भएको छ ।’’
यसैगरी, नौबहिनी गाउँपालिका–५ स्थित चिप्लेखोलामा स्टिल टर्स पुल निर्माण भएपछि स्थानीयको दैनिकी सहज बनेको वडा अध्यक्ष दलराज पुनले बताउनुभयो । ‘‘यस क्षेत्रमा स–साना खोलाहरु बढी छन्,’’ उहाँले भन्नुभयो, ‘‘वर्खाको बेला धेरै दुःख हुने गर्छ ।’’ गाउँमा अझै केहि ठाउँमा पुल बनाउन आवश्यक भए पनि बजेट अभावले बनाउन नसकिएको उहाँको भनाइ छ ।
झोलुङ्गेपुल क्षेत्रगत कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७९/०८० मा जिल्लामा १२ वटा झोलुङ्गे पुल निर्माण भएको मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रका कार्यकारी प्रमुख विजय कुमार श्रेष्ठले बताउनुभयो । नेपाल सरकार, टि.वि.एस.यु, प्रादेशिक सेवा प्रदायक संस्था र स्थानीय तहसँगको साझेदारीमा पुल निर्माण हुँदै आएको कार्यकारी प्रमुख श्रेष्ठले बताउनुभयो । यस चालु आर्थिक वर्षमा ८ वटा पुल निर्माण गर्ने प्रक्रियामा रहेको जानकारी दिनुभयो । उहाँले रोल्पा जिल्लामा समेत पुल निर्माण गर्ने काम संस्थाले गर्दै आएको बताउनुभयो ।
जिल्लामा पर्याप्त मात्रामा र पायक पर्ने ठाउँमा झोलुङ्गे पुल नहुँदा नदि तर्ने क्रममा खोलाले बगाउने समस्या रहेको छ । अहिले त्यो विस्तारै कम हुँदै गएको छ । बालबालिकालाई विद्यालय पढ्न सहज भएको छ । खेतिपाती गर्न र ओसारपसार गर्ने समेत सहज भएको झिमरुक गाउँपालिका–६ का स्थानीय हरिहर पोख्रेलले बताउनुभयो ।