• ३१ वैशाख २०८२, बुधबार

एमाले बाँकेले शिक्षा सुधारको माग गर्दै बुझाए पालिकालाई पत्र

blog

कोहलपुर नगरपालिकाका प्रमुख आचार्यलाई माग पत्र बुझाउँदै एमालेको टोली । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, वैशाख ३१ गते । नेकपा एमाले बाँकेले जिल्लाका आठ वटै स्थानीय सरकारलाई शिक्षा क्षेत्रको नीतिगत सुधार र बजेट वृद्धि गर्न ध्यानाकर्षण गराएको छ ।

नेकपा एमाले शिक्षा तथा मानव श्रोत विभागले जिल्लाका आठ वटा स्थानीय तहलाई २३ बुँदे माग राख्दै ध्यानाकर्षण गराएको हो । विभागको वैशाख २५ गतेको निर्णयअनुसार जिल्लाका आठ वटै स्थानीय तहका प्रमुखलाई भेटेर माग पत्र बुझाउने क्रम चलिरहेको विभागका प्रमुख सूर्यबहादुर रोकायाले बताउनुभयो । 

उहाँका अनुसार शैक्षिक गुणस्तर र भौतिक व्यवस्थापनको मागसहित प्रत्येक स्थानीय तहका अध्यक्ष र प्रमुखलाई भेटेरै मागपत्र बुझाउने काम भइरहेको छ। भौतिक व्यवस्थापनका नौ र शैक्षिक गुणस्तर वृद्धिका १४ बुँदासहित विभागले मागपत्र बुझाइरहेको प्रमुख रोकायाले बताउनुभयो । 

उहाँले सोही अन्तर्गत हालसम्म नेपालगन्ज उपमहानगरपालिका, खजुरा, जानकी र बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका तथा राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तथा प्रमुखलाई भेटेर मागपत्र बुझाइएको बताउनुभयो । नरैनापुर र डुडुवा गाउँपालिकामा जेठ एक गते माग पत्र बुझाउने कार्यक्रम रहेको रोकायाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘बाँकेमा शिक्षा क्षेत्रमा अहिलेपनि धेरै समस्या छन् । ती समस्या समाधानको लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहन्छ । स्थानीय सरकार बजेटको तयारी गरिरहेका छन् । आगामी बजेटमा स्थानीय सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकता दिउन् भन्ने हाम्रो उद्देश्य हो ।’ 

एमाले बाँकेको शिक्षा तथा मानव श्रोत विभागले भौतिक व्यवस्थापन अन्तर्गत स्थानीय सरकारसंग विद्यालयमा पर्याप्त सफा र स्वच्छ खानेपानी र शौचालय, फर्निचर तथा खेल सामग्री व्यवस्थापन, टिनको पाता विस्थापन तथा जिप्सन प्रयोग र कक्षा ३ को फ्लोर सेटिङ व्यवस्थापन गर्न माग गरेको छ । 

यस्तै, मनोरञ्जन तथा खेल व्यवस्थापनको लागि सामग्री व्यवस्थापन, विपद् जोखिम न्यूनीकरणमा प्राथमिकता, समोवशी तथा अपांगतामैत्री संरचना विद्यालयको बिजुली खर्च व्यवस्थापन, विद्यालय वाउण्ड्री व्यवस्था र पुस्तकालय तथा प्रयोगशाला भवनको व्यवस्था गर्न समेत माग गरिएको छ ।

यसैगरी, शैक्षिक गुणस्तर अन्तर्गत अभिभावक शिक्षा लागु गर्ने र निःशुल्क तथा अनिवार्य शिक्षा लागु गर्न विद्यालय सञ्चालन तथा व्यवस्थापन खर्च अनुदान दिने, अंग्रेजी, गणित तथा विज्ञान शिक्षक क्षमता विकास तालिम, विषयगत, तहगत तथा विद्यार्थी अनुपातका आधारमा शिक्षक व्यवस्थापन र शिक्षक सहायता सामग्रीका लागि कक्षाकोठामा आधारित अनुगमन प्रणाली व्यवस्थापनको माग गरिएको छ । 

मागपत्रमा विद्यालय नर्सिङ कार्यक्रम गर्ने साथै उपचारात्मक शिक्षण पद्धतिको अवलम्बन गर्ने, विद्यालयस्तरमा स्वास्थ्य परीक्षणको व्यवस्थापन, स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तकको व्यवस्थापन र अपांगता भएका बालबालिकाको सामावेशी शिक्षामा जोड दिन आग्रह गरिएको छ । 

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले एमाले बाँकेले महत्त्वपूर्ण विषयहरूको माग सही समयमा गरेको जनाउँदै धेरै मागहरु पुरा गरिने बताउनुभयो । सोही प्रकारले राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले पनि बजेट तथा नीति निर्माण गर्ने समयमा उठाइएका उचित मागहरूलाई समेटिने प्रतिबद्धता जनाउनुभयो ।