• ३१ वैशाख २०८२, बुधबार

घाटु नाच जोगाउँदै मगर समुदाय (फोटो फिचर)

blog

घाटु नाच नाच्दै मगर समुदायका युवतीहरू । तस्बिरः इमानसिं राना

इमानसिं राना

रामपुर (पाल्पा), वैशाख ३१ गते । ७३ वर्षीय पार्वती ठाडाले गीत सुरु गर्नु भएसँगै साथमा रहनु भएका ज्येष्ठ महिला तथा अन्य महिलाले एउटै लयमा गइरहेका छन् । नौ जना कन्या किशोरी लहरै समान हाउभाउमा नाचिरहेका छन् ।

वैशाख पूर्णिमादेखि पाल्पाको निस्दी गाउँपालिका–४, भोर्मामा निकालिएको घाटु नाचको दृश्य हो यो । सदियौंदेखि सुरु भएको घाटु जिल्लाको पूर्वी क्षेत्रका मगर समुदायले निरन्तरता दिँदैआएको छ । घाटुका गुरुआमा रहनु भएका ठाडाले पुस्तौंदेखि चल्दैआएको घाटु नाचलाई निरन्तरता दिँदै आएको बताउनुभयो । 

उहाँका अनुसार यस क्षेत्रमा सती घाटु नाचाइँदै आएको छ । राजाको निधन पश्चात रानी सती जाने भएकाले सती घाटु भनिएको हो । घाटुको गीतमा परशुराम राजा, यम्पावती रानीको कथा रहेको र यही कथावस्तुलाई आधार बनाइ नचाइन्छ ।  ‘राजारानीको विवाह, प्रेम, गृहस्थी, राजकाज, जङ्गलको सिकार, पुत्रबढाइँ, लडाइँ र मृत्युसम्मको कथालाई गीतबाट प्रस्तुत गरी घाटु नचाइन्छ’ ठाडाले भन्नुभयो । 

गीतसँगै कथावस्तुको आधारमा पात्रअनुसार अभिनय पनि गरिन्छ । घाटुमा गुरुआमाले गीत सुरु गरेपछि अन्य सहभागी महिलाले गाउने र घाटुसरी (कन्या, बालिका) ले नाच्ने गर्दछन् । घाटु गीत सुरुदेखि अन्त्यसम्म नबिराइकन गाउनुपर्ने भएकाले जो केही गुरुमा बन्न नसक्दा हराउने होकि भन्ने चुनौती देखिएको छ ।

जसका कारण कुनै समय जिल्लाको पूर्वी क्षेत्रका अधिकांश स्थानमा प्रदर्शन गरिने घाटु संस्कृति अहिले केही स्थानमा सीमित देखिएको छ । प्रत्येक वर्ष वैशाख शुक्लपञ्चमीको दिन गीतको थालनी गरेर चण्डी पूर्णिमाको दिनदेखि तीन दिनसम्म निरन्तर घाटु नचाइँदैआएको ७५ वर्षीय सर्मौती खाम्चाले बताउनुभयो । 

गीतमार्फत सम्पूर्ण देवीदेवताको नाम लिएर मात्र घाटुको सुरु गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आमाहरुबाट सिकेर निरन्तर घाटु नचाइँदै आएका छौं । पछिल्लो समय अन्य समयमा पनि घाटु निकाल्ने गरेको पाइन्छ । तर हामीले वैशाख पूर्णिमादेखि तीन दिनसम्म मात्र घाटु नचाउँछौं ।’ गाउँको राम्रो होस्, कोही कसैलाई केही नहोस् भन्ने कामनासाथ घाटु नाचिने उहाँको भनाइ छ ।  

घाटु नाच्न छाडेमा गाउँमा देवीदेवता रिसाउँछन् भन्ने मान्यता रहेकाले हरेक वर्ष नचाइँदै आएको खाम्चाले बताउनुभयो । विगत ७ वर्षदेखि घाटु नाच्दै आउनु भएका किशोरी विष्णुमाया ठाडाले एक पटक नाचेपछि विवाह नभएसम्म प्रत्येक वर्ष नाच्नु पर्छ भन्ने मान्यता रहेकाले नयाँ पुस्ता सामेल हुन नचाहाने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘अभिभावकले घाटु नाच्न प्रेरित गर्दै आए पनि गाह्रो हुन्छ भनेर घाटु नाच्न खोज्दैनन् ।’

केही बस्तीहरूमा परम्परादेखि चल्दै आएको घाटुनाच अहिलेसम्म देखाइँदै आए पनि धेरै गाउँबस्तीबाट लोप भइसकेको छ । समाज उज्याल महिला समूह भोर्माका अध्यक्ष सुमित्रा ठाडाले कन्याहरू आफ्नै खर्चमा सजिएर घाटुमा सहभागी हुने गरेको बताउनुभयो । व्यवस्थापनको लागि प्रत्येक घरबाट खर्च जुटाएर संस्कृतिलाई निरन्तरता दिँदैआएको बताउनुभयो । 

निस्दी गाउँपालिकाका प्रवक्ता मेखबहादुर सुनारीले पुराना मौलिक संस्कृतिको संरक्षणका लागि पालिकाले पहल गर्दैआएको बताउनुभयो । निस्दी–७, को ज्यामिरेमा पूर्णिमाको दिन घाटु सेलाइसके पनि सोमबारदेखि निस्दीको वडा ३, ४, ५ का केही टोलहरूमा घाटु नाचको रौनक छाएको छ । 

सती घाटु वैशाख पूर्णिमाको दिनबाट विधिपूर्वक सुरु गरिने नाच याहाँ ३ दिनसम्म नचाइन्छ । कथा गीतमार्फत प्रस्तुत गरी घाटुसरीलाई नचाएर सेलाउने गरिन्छ । तीन प्रकारका घाटु प्रचलनमा रहे पनि यस क्षेत्रमा सती घाटु नाच्ने गर्दछन् । सोमबारदेखि सुरु भएको घाटुनाच बुधबार साँझ विधिवत् रूपमा पूजागरी सेलाइँदै छ । घाटु नचाइने स्थानहरुमा अवलोकनका लागि जानेहरूको उपस्थिति देखिन्छ । 

विगतमा निस्दी–५ को छ स्थानमा घाटु नचाइने गरे पनि अहिले बेलौजी, बाङ्लाङ्, गाबुडाँडा र खरकडाँडामा मात्र नाच्ने गरिएको छ । निस्दीको वडा नं. ३ को दुनीडाँडा–४ को भोर्मा, मौलाथर, भिरपानी, वडा–७ को ज्यामिरेमा पनि यस वर्ष घाटु नचाइएको छ । पूर्वखोला गाउँपालिकाको जल्पा, देवीनगर, विरकोट लगायतका स्थानमा घाटु नचाइन्छ ।