• १ जेठ २०८२, बिहिबार

तम्घासस्थान मन्दिरको प्रचारका लागि महोत्सव

blog

रमेश विश्वकर्मा
गुल्मी, असोज २९ गते । 
गुल्मीको तम्घासस्थान प्रचारप्रसारको अभावसँगै ओझेलमा परेको छ । गुल्मीको रेसुङ्गा नगरपालिका–९ अर्जुनडाँडाको फेदीमा अवस्थित उपल्लो तम्घासमा रहेको पश्चिम क्षेत्रको सबै ठुलो इतिहास बोकेको यस मन्दिरको प्रचारप्रसार नहुँदा ओझेलमा परेको हो ।

यस मन्दिरमा प्रत्येक हप्ता आइतबार र मङ्गलबार पूजापाठसहित बली दिने चलन छ । यहाँको प्रचारका लागि यही कात्तिक १५ देखि २५ गतेसम्म गुल्मी उद्योग सङ्घले महोत्सवको आयोजना गरेको सङ्घका महासचिव सुदर्शन खनालले जानकारी दिनुभयो । महोत्सवबाट जिल्लामा एक लाख दर्शक भित्र्याउने लक्ष्यसँगै झण्डै ६० करोड रुपियाँ बराबरको कारोबार गर्ने उद्देश्य राखिएको उहाँको भनाइ छ ।

यस मन्दिरमा सफल दाम्पत्य जीवन तथा अन्य कुनै मनोकाङ्क्षा पूरा गर्न भाकल गरे पूरा हुने जनविश्वास रहँदै आएको छ भने जिल्लकै सबैभन्दा बढी बली पूजा यस मन्दिरमा हुँदै आएको छ । यस तम्घासस्थान मन्दिरमा परापूर्व कालदेखि नाग, झाँक्री, सिद्ध र देवीको पूजा आराधना हुँदै आएको छ ।

मन्दिरमा मनोकाङ्क्षा पूरा भएपछि बलि दिने चलन रहँदै आएको छ । यति ठुलो महत्त्व र इतिहास बोकेको यस मन्दिरको उजागरका लागि अहिले मन्दिर परिसरमा महोत्सवको आयोजना गरिएको छ । ‘उद्योग, कृषि र पर्यटनमा उनिएको थुङ्गा; समुन्नत गुल्मीका लागि जाऊँ हिँड रेसुङ्गा’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको बताइएको छ ।

सदरमुकाम तम्घासको नामकरण समेत तम्घासस्थान मन्दिरबाटै भएको स्थानीयको दाबी रहेको छ । यस मन्दिरसँग जोडिएको पर्यटकीय तथा धार्मिकस्थल अर्जुनडाँडा धार्मिक, ऐतिहासिक, पुरातात्त्विक तथा जैविक विविधताले भरिपूर्ण छ । अर्जुनडाँडा करिब दुई हजार मिटर उचाइमा रहेको छ ।

पाँचपाण्डव मध्येका अर्जुनको आगमनले यस लेकको नाम अर्जुन रहेको भन्ने मान्यता छ । अर्जुनले यसै गिरीमा बसी गीताको तत्त्व ज्ञान लिनुभएको, शिवजीले यसै गिरीमा ध्यान गर्नु भएको भन्ने किंवदन्ती छ ।

सयौँ वर्षदेखि अर्जुन भगवती मन्दिर, छत्रस्थान, नगस्थान, सिद्धस्थान, शिवस्थानमा पूजा गर्ने तथा बली चढाउने गर्दछन् । अर्जुनडाँडासँगै रहेको जङ्गलमा लाली गुराँस, ओखर, चाप, काफल, समेतका वनस्पति र सयौँ प्रजातिका जडीबुटी पाइने भएकाले पनि यो पर्यटकीय हिसाबले निकै महत्त्वपूर्ण छ ।

यस मन्दिरसँग विशेषगरी भुरेटाकुरे राजासँगको इतिहास जोडिएको छ । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभन्दा अघि नै तम्घासस्थान मन्दिरको स्थापना भएको स्थानीय बताउँछन् ।