• ३१ वैशाख २०८२, बुधबार

अटो दुर्घटना हुँदा भूमि आयोगका विज्ञ सदस्यसहित सात घाइते

blog

दुर्घटना भएको अटो । तस्बिर : राजु लामिछाने

राजु लामिछाने
रुकुमपश्चिम, असोज २८ गते । 
रुकुमपश्चिमको मुसिकोट नगरपालिका–३ मा अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन् । मुसीकोट नगरपालिका–१ खलङ्गाबाट मुसीकोट नगरपालिका–१३ छिवाङतर्फ जाँदै गरेको रा १ ह ६९५२ नम्बरको अटो दुर्घटना हुँदा भूमि आयोग रुकुमपश्चिमका विज्ञ सदस्य सुशील विष्टसहित सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार दुर्घटनामा परी घाइते हुनुभएका मुसिकोट नगरपालिका–१४ निवासी विज्ञ सदस्य विष्टको आँखा, टाउको र घुँडामा चोट लागेको छ । अन्य घाइते हुनेहरूमा मुसिकोट नगरपालिका–१ का ५० वर्षीय एक्क बहादुर बुढा र २८ वर्षीय राम बहादुर ददेल, मुसिकोट नगरपालिका–५ का ४८ वर्षीय चन्द्र बहादुर बोहरा, मुसिकोट नगरपालिका–१४ का विशाल विष्ट र कपिल विष्ट र रुकुम पूर्वको भूमे गाउँपालिका–५ का दिलीप बिक रहेका छन् ।

घाइते मध्य विज्ञ सदस्य विष्ट र उहाँका भाइ कपिल विष्टलाई थप उपचारको लागि काठमाडौँ पठाइएको छ । अन्य घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । अटो अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।