• २० असोज २०८१, आइतबार

सभामुख घिमिरेद्वारा ‘विश्व हात धुने दिवस’को शुभकामना

blog

काठमाडौँ, असोज २८ गते । सभामुख देवराज घिमिरेले ‘विश्व हात धुने दिवस’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाउँदै आइएको छ । साबुनपानीले मिचिमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य अध्ययनहरूले देखाएका छन् । कोरोना महामारीविरुद्धको लडाइँमा साबुनपानीले हात मिचिमिची धुने अभियान चलाइएको समेत सभामुख घिमिरेको भनाइ छ । 

“चर्पी प्रयोग गरेपछि, बालबालिकाको दिसा धोएपछि, हात फोहर भएपछि, खाना बनाउनु, खाना खानु र खुवाउनु अगाडि, अनुहार, नाक, मुख, आँखा छोइसकेपछि, बाहिरबाट घर फर्किएपछि साबुनपानीले नियमित हात धुने बानी विकास गर्नुपर्दछ । साथै हाम्रा बालबालिकालाई घरमा नै साबुनपानीले हात धुने बानी बसाल्नुपर्दछ”, उहाँले भन्नुभएको छ ।

सरसफाइले स्वास्थ्य सभ्यताको समेत परिचय दिने र स्वास्थ्य, सफाइ र सभ्यताबिच अन्योन्याश्रित सम्बन्ध रहेको भन्दै उहाँले जहाँ सफाइ हुन्छ, त्यहाँ रोगव्याधीको सम्भावना रहँदैन भन्ने सचेतना जनस्तरमा फैलाउन सके यस दिवसको महत्त्व अझै बढेर जानेमा विश्वास व्यक्त गर्नुभयो ।