गोविन्द शर्मा
बाँके, असोज २७ गते । नेपालगन्ज उपमहानगरपालिकाले दिउँसोको समयमा ट्राफिक व्यवस्थापनका लागि मालवाहक सवारी साधन र अन्य सवारी साधनको व्यवस्थापनको काम अघि बढाएको छ ।
मालवाहक सवारी साधनबिच सडकमा घण्टौँसम्म रोकेर सामान राख्ने र निकाल्ने कार्यले ट्राफिक व्यवस्थापनमा समस्या परेपछि नयाँ नियम कार्यान्वयनमा ल्याइएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो ।
उपमहानगरपालिका भित्र मालवाहक सवारी साधनलाई बिहान ९ बजेसम्म तथा साँझ ६ बजेपछि मात्र लोड अनलोड गर्न दिने नियम बनाइएको भन्दै नगर प्रमुख विष्टले नियम कार्यान्वयनका लागि नगर प्रहरीलाई निर्देशन दिइसकिएको जानकारी दिनुभयो ।
नगर प्रमुख विष्टले भन्नुभयो, ‘मालवाहक सवारी साधनका लागि अलग्गै नियम बनाइएपछि अब नगरभित्र ट्राफिक व्यवस्थापनमा सुधार हुने अपेक्षा गरिएको छ ।’
यसैगरी नगरभित्र अस्तव्यस्त देखिएका ठेला व्यवस्थापनका लागि समेत उपमहानगरपालिकाले पहल अघि बढाएको छ ।
तोकेको ठाउँमा मात्र ठेला गाडा लगाउन दिनेगरि नियम बनाइएको नगर उपप्रमुख कमरुद्धिन राईले बताउनुभयो । उपप्रमुख राईले भन्नुभयो, ‘चोक बजारभित्रका ठेला साँझ ५ बजेपछि मात्र लगाउन पाउने र बिहान ९ बजेभित्र खाली गरिसक्नुपर्ने नियम बनाएर नगर प्रहरीलाई निर्देशन दिइएको छ ।’
यसैगरी सामान ढुवानीमा प्रयोग हुने बग्गी पसल अगाडि राख्न नदिइने भएको छ । नगरपालिकाले वडा १ देखि २० सम्मका फुटपाथ हटाउन समेत नगर प्रहरी परिचालन गरेको छ । यसैगरी सडकपेटीमा राखेका घर निर्माणका सामग्री ३ दिनभित्र व्यवस्थापन गर्न प्रहरीले आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालय नेपालगन्जको समन्वयमा त्रिभुवन चोकदेखि त्रिवेणी मोडसम्म तथा गणेशमान चोकदेखि चारबाहिनी रोडसम्म एकतर्फी कायम गरिएको छ ।