चलचित्रको नायकलाई पनि मात दिने व्यक्तित्वसँगै देखिएको सक्रियताले तीसको दशकमा नाम जस्तै बन्नुभएको थियो राजकुमार थापा । यतिखेर उहाँको नाम धेरैले थाहा नपाएको नाम पनि हुन सक्छ । हामी विगत बिर्सन्छौँ, वर्तमानमा रमाउँछौँ, सुनौलो भविष्यको कल्पनामा । जीवनको उर्वर समय साहित्य, सङ्गीत, खेलकुद, प्रशासनमै बितेको हो उहाँको । अहिलेको जीवन ठप्प छ । जीवन केवल बाँच्नु र रोगसँग जुध्नुको विकल्प छैन । छैनन् चिन्ने र सम्झनेहरू पनि । चलहल गर्न नसक्ने अवस्था केवल आँखाको भाषाले जीवन निर्वाह भएको छ । ३३ वर्षको उमेरदेखि पार्किन्सन रोगले गाँजेर ७० वर्षको उमेरसम्म आइपुग्दा राजकुमार थापाको सपना, उत्साह सबै सेलाएको छ । त्यही ३३ वर्षको उमेरसम्ममा उहाँ कथाकार, कवि, गीतकार, गजलकारका रूपमा परिचित भइसक्नुभएको थियो । ब्याडमिन्टनका कुशल खेलाडी, तथ्याङ्क शास्त्री बनेर केन्द्रीय तथ्याङ्क विभागमा बितेको जीवन, गीतारिष्ट, सङ्गीतकार भएर देखिएको सबै सव्रिmयता ठप्प हुन पुग्यो । आफैँले लेखेर छापिएका कृतिहरू दराजका कुनै कुनामा, कथाका प्लटहरू आफ्नै मनमा राख्नुबाहेक साहित्यमा गर्न सक्ने अवस्था अरू रहेन । विगतका दिन सम्झेर, योगदान सम्झेर वा लेखिएर छापिएका रचना, कृति पढेर लेखिदिने पनि भेटिँदैनन् । कथाको इतिहास, सङ्कलनका कृति, सम्पादन गरिएका ग्रन्थ कतै–कहीँ भेटिँदैन उहाँको नाम । बलेको आगो ताप्नेहरूको भिडमा ढलेको तन, गलेको मन भएकाको बारेमा लेखिदिने कहाँ भेटिन्छन् यो काठमाडौँ खाल्डोमा ?
काठमाडौँको कालीमाटी मोडबाट अलि भित्र लागेपछि भेटिन्छन् थापा खलकका घरहरू । त्यही थापा बस्तीमा गायक, पूर्वसचिव दीपेन्द्रविक्रम थापाको साथ लागेर पुगेको छ राजकुमार थापाको घरमा २०८० सालको असोज ६ गतेको बिहान । घरको माथिल्लो तल्लाको एउटा कोठामा देखिनुहुन्छ उहाँ । सहयोगीका साथले खाने, बस्ने, यता फर्कने, उता फर्कने, बोलीका नाममा केवल आँखाको भाषा मात्र । दुब्लो र घाउले सर्वत्र कष्ट दिएको शरीर । आफ्नै विगत सम्झँदा पनि सपना जस्तो लाग्दो होला उहाँलाई । आफ्नै शरीरले दिएको कष्टमा अर्को कष्ट थपिदिएका छौँ हामीले । सव्रिmय छउञ्जेल दिएको योगदानलाई चटक्क बिर्सिएर । तीन तीन वटा कथा सङ्ग्रह प्रकाशमा ल्याइसक्नुभएका राजकुमार थापाले भन्नुभएको रहेछ– कथा मनको खुलदुली हो । कहिलेकाहीँ लेख्छु अनि सोच्दछु के यो कथा भयो त ?
आफ्नै जीवन दुःखद कथा जस्तै जसको दुःखी पात्र उहाँ स्वयम् बन्नुभएको छ । घरको एउटा कोठामा त्यो पनि अशक्त शरीर लिएर, आवाजबिहीन बनेर बाँचेको जीवन अर्काको बोलीमा अभिव्यक्त हुनुपर्दाको पीडादायी जीवन ।
मभन्दा पाँच वर्षले जेठो दाइ हो उहाँ मेरो । दाइ भन्नु मात्र मेरो अभिभावक, मेरो गुरु सबै उही हो । सङ्गीतसाधक दीपेन्द्रविक्रम थापाका भावुक आवाजले तरङ्गित बन्न पुग्छु । आफ्नो जमानको हिरो, साहित्य, सङ्गीत, खेलकुदमा निकै सक्रिय र सिर्जनशील मान्छे । उहाँ अझ थप्नुहुन्छ – म सात महिना छँदै बुवा बितेकोले मेरो अभिभावक नै दाइ बन्न पुग्यो । उहाँकै सान्निध्यले मलाई पनि गीत सङ्गीतमा लगायो । आज म जे छु, यसको जस दाइलाई नै जान्छ ।
काठमाडौँको कालीमाटी, भीममुक्तेश्वरमा विसं २०१० को साउन महिनामा जन्मिनुभएका राजकुमार थापाका कथाहरू गोरखापत्र, मधुपर्क, गरिमालगायत विभिन्न पत्रपत्रिकामा निरन्तर प्रकाशित हुँदै आए । यसै मेसोमा उहाँका प्रारम्भ–२०४५, स्पर्श–२०५९ र सीमाबद्ध –२०६६ जस्ता कथा सङ्ग्रह प्रकाशमा आए । कथाको इतिहासमा, कथाकारको सूचीमा राम्रै कथाकारका रूपमा अङ्कित हुनुपर्ने हो उहाँको नाम । समालोचक वासु रिमाल यात्रीले उहाँकै कृति प्रारम्भ कथा सङ्ग्रहमा कथा प्रतिभाको चिल्लो पात मा लेख्नुभएको बाहेक कथाकार राजकुमार थापा समालोचक, जीवनी लेखक, कोशकार आदिले थाहा नपाएको नाम नै बन्नुभएको छ । कतै कुनै उल्लेख नभएका कथाकार । गीत, कविता, गजलका सङ्ग्रह भने कृतिका रूपमा आएका छैनन्, त्यसबारे चर्चा गर्ने कसले ?
नेपाली कथा साहित्यमा जति धेरै यौन कथा लेखिएका छन् त्यति नै थोरै दीन हीन, गरिब, किसान, मजदुरको अवस्था तथा निम्न वर्गका विवशताका कथा लेखिएका छन् । अवश्य पनि प्रगतिशील र जनवादी कथाकारहरूले यो कमी पूरा गर्ने प्रयासहरू गरेका छन् तैपनि प्रयासका परिणामहरू अपर्याप्त नै भएको महसुस गरिएको छ ।
नवोदित कथाकार राजकुमार थापाका अहिलेसम्म प्रकाशित र अप्रकाशित कथाहरू सबै दुःख, व्यथा, अभाव, गरिबी र विवशताकै मात्र कथा नभएर जीवनका विसङ्गतिहरू, अपूर्ण प्रेम, नारीमाथिको अपहेलना आदि विषयमा पनि कथाकारले ध्यान दिएको पाइन्छ तैपनि उहाँको कथा प्रतिभा अघिल्लो विषयमा बढी प्रस्फुटित हुन सकेको पाइन्छ । (प्रारम्भ, २०४५)
विसं २०२९ देखि लेखनमा लाग्नुभएका राजकुमार थापाले अस्वस्थ हुँदासम्म पनि आफ्नी छोरीलाई टिपाएर लेखनलाई निरन्तरता दिनुभयो । विगत पाँच वर्षदेखि भने त्यो क्रम पनि रोकिएको छ । लेखनको विगत टुङ्गिएको छ । जीवनको ४५ वर्ष लेखनमा समर्पित भएर तीन तीन वटा कृति प्रकाशमा आउँदासम्म कतै उल्लेख नहुनु, कसैले नसम्झनु भनेको एउटा स्रष्टामाथि न्याय गर्न नसकिएकै हो भन्दा हुन्छ । नेपाली साहित्यमा नाम कमाएका कतिपय साहित्यकार उहाँसँग निकट रहे पनि कसैको कलमबाट राजकुमार थापा र उहाँको लेखनबारे नलेखिनु आश्चर्यको विषय हो ।
आफैँले लेखेका गीतहरू सुक्मित अधिकारी, दीपेन्द्र थापा, सुरेन्द्र मुखिया, राम थापा, प्रकाश गुरुङ, चेतन सापकोटाको आवाजमा रेडियो नेपालबाट गुञ्जने गर्थे कुनै बेला, यतिबेला ती गीत सुन्ने सामथ्र्य पनि छैन । उहाँकै गीत गाएर सुक्मित अधिकारीले रेडियो नेपालको राष्ट्रव्यापी गायन प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल भएको पनि हो । आफैँले लेखेर छरिएका कविता, गीत गजलका कृतिहरू प्रकाशन गर्ने हो भने अरू तीन वटा कृति थपिन सक्थे, त्यो पनि अरूको भर भरोसामा छोड्नुबाहेक अर्थोक रहेन । यतिखेर जुरुक्क उठेर लेख्न सक्ने हुने हो भने राजकुमार थापाको कलमले आफ्नै जीवनको पीडा र मानव स्वभावबारे पक्कै पनि लेख्थ्यो होला । लेखनमा अरूका आवाज प्रस्तुत गर्न लागिपर्नु भएका उहाँ अहिले आफ्नै आवाज अरूले बोलिदिनुपर्ने अवस्थामा हुनुहुन्छ । आफ्नै विगत पनि कथा जस्तै लाग्दो होला ।
विसं २०३७ मा २७ वर्षको उमेरमा तथ्याङ्क शास्त्रमा एमए गरेपछि राष्ट्रिय योजना आयोग तथ्याङ्क विभागमा सुरु भएको जागिरे जीवनले पनि निरन्तरता पाउन सकेन, रोगकै कारण । नौ दशक टेक्न लागेकी आमा, जीवन सङ्गिनी मञ्जु थापा, छोरी डा. ज्वाला थापा, अमेरिका बस्ने इन्जिनियर छोरा अभिषेक विक्रमसँग पनि कुराकानी गर्न नसक्नुको पीडा पनि रोगकै कारण टुटे जस्तै भएको छ । बाउजत्तिकै सम्मान गर्ने भाइ दीपेन्द्रविक्रम छोरा जत्तिकै स्याहार गर्ने सहयोगी सबैका वरिपरि जीवन बाँचिरहनुभएका राजकुमार थापालाई नेपाली साहित्यले सम्झिए पनि उहाँका लागि अर्थहीन लाग्न सक्छ । केवल आँखाको भावले सात दशकको जीवन बाँचिरहनु भएका उहाँ जस्ता साहित्यकारलाई सम्झनु पथ्र्यो हामीले ।