• ८ मंसिर २०८१, शनिबार

समयको मृत्युमा म मलामी (कविता)

blog

समयको मृत्यु हुँदोरहेछ

थाहा थिएन

बाजा अगाडि बज्दै गइरहेछ 

समयको शव पछिपछि 

कमिलाहरूले मौन मौन बोकेर 

कुनै दूर क्षितिजतर्फ गइरहेछ

पछि पछि म मलामी गइरहेछु

समयको ।


घडी हेरेँ 

मेरो मटरको घडीमा 

समयको मृत्यु बिहानको पाउने छ बजे भएछ 

म गाडीमा कुँदिरहेछु

समयको पल पल दिशातर्फ  

तर समयको मृत्यु ? 

मेरो मनको कम्पास हल्लियो 

बिहान सहर स्तब्ध थिए 

देखेँ 

एउटा इतिहासको 

कुनै समयको गन्तव्य 

मौन मौन समयको मृत्यु देखेर उभिरहेको थियो 

पछिपछि हातमा फूल बोकेर 

म मौन 

प्रिय समयको मलामी गइरहेछु

कसैले विरोध पनि गर्दैछन् 

समयको मृत्युको ।


कहाली लाग्दो मृत्युको धुन बजिरहेछ

शव बोकेर कमिलाहरू 

कुनै अनन्त क्षितिजतर्फ हिँडिरहेछ  

समयको विरोध गर्दैछन् 

म सुन्दै छु 

जीवनमा समयले धोका दियो रे 

फनफनी कुनै षड्यन्त्रको हातमा घुम्यो रे 

कोही भन्दै छन् 

देवता हो यो समयको 

नेता हो समय उचाइको

कुनै भ्रष्ट सिनुमा मुख गाडेन 

मलाई यति थाहा छ

समय नितान्त सबैको एउटा समय थियो 

समयमा मुद्दा समयमा छिन्थ्यो 

समयको पनि मृत्यु हुन्छ ?

उनै समयको अन्तिम यात्रामा म हिँडिरहेछु ।

 काठमाडौँको समयसँग अपरिचित म 

कुनै समय भेट भएको थियो 

कुनै समय उनीसँग म 

परिचयमा भनेको थियो 

तपाईंभन्दा तीन कोरीले म सिनिएर रहेछु 

सम्भवतः यो समयको भेटले 

समयको विवाह जुरेको थियो

नजिक बनाएको थियो  

आज उनै समयको मृत्युमा म मौन मलामी गइरहेछु

सबैको समयको मृत्युमा  

आज मौन शोक गीत गाएर सहर चुपचाप छन् 

मटरहरू टक्क रोकिएका छन् 

इतिहास भएको समयको अन्तिम सम्झनामा 

मेरो सहर कस्तो कस्तो 

उदासी बादलले छोपिएको छ 

समयको शव पछि पछि 

मेरो आफ्नै शव बोकेर 

म मलामी गइरहेछु

समयको मृत्युमा 

आज सबैको समय मरिरहेछ ।