कबिराज घिमिरे
हिले, असोज २५ गते । नेपाल विकास अध्ययन संस्थाको आयोजनामा धनकुटाको टुँडिखेलमा एक दिने दिगो पुनः एकीकरण मेला हुने भएको छ । असोज २७ गते शनिबारका दिन एकदिने दिगो पुनः एकीकरण मेला हुन लागेको हो । संस्थाले आज (बिहीबार) पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा जानकारी दिएको हो ।
वैदेशिक रोजगारीबाट फर्केर देशमै उद्यम गरिरहेका युवाहरू, बिदेसिएका व्यक्तिका परिवार तथा स्वादेशमै बसोबास गरिरहेका विपन्न युवाहरूले उत्पादन गरेका विभिन्न सामाग्री प्रदर्शनमा राखिने छ । जसमा नेपाल विकास अध्ययन संस्था सहयोग पाइ उद्यम गरिरहेका धनकुटा र झापाका करिब दुई सय ६० बढी उद्यमीको सहभागिता रहने संस्थाका संयोजक महेन्द्र कुमार राईले बताउनुभयो ।
यो संस्थाले अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन आइओएमको सहयोगमा झापाका ४४ र धनकुटा नगरपालिकाका २२० उद्यमीलाई आर्थिक सहयोग गरेको थियो । कृषि तथा घरेलु अन्तर्गतका विभिन्न उद्यममा लागेका उद्यमीलाई एक लाख ४० हजारको दरले अनुदान उपलब्ध गराएको थियो । यो मेलाले उद्यमीलाई बजारको सहज पहुँच तथा प्रवर्द्धन गर्न मद्दत मिल्ने संयोजक राईको भनाइ छ ।