• १२ साउन २०८१, शनिबार

व्यावसायिक पशुपालन गर्दै छौँ 

blog

घरपझोङ गाउँपालिका हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम हो । यस गाउँपालिकाको प्रमुखमा २०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा लोकप्रिय मतसहित मोहनसिंह लालचन निर्वाचित हुनुभएको थियो । स्थानीय सरकारको प्रमुखका रूपमा निर्वाचित लालचनसँग गोरखापत्र दैनिकका लागि म्याग्दी समाचारदाता अमृतप्रसाद पौडेलले गर्नुभएको कुराकानी : 

स्थानीय तहको प्रमुखका रूपमा काम गर्दै हुनुहुन्छ, कस्तो अनुभव भएको छ ? 

निर्वाचित भएर आउँदा बजेट तर्जुमा, योजना अनुगमन र मूल्याङ्कनमा समन्वय र सहकार्यमा हामीलाई केही समस्या थियो तर अहिले धेरै विषयको ज्ञान हासिल गरेका छौँ । ऐन, कानुन, नीति कार्यविधि निर्माणको प्रक्रिया र पद्धतिका साथै संविधान अनुसारको हाम्रो अधिकार क्षेत्र, निर्णय प्रक्रिया र वैधानिकता जस्ता विषयमा ज्ञान हासिल गरेका छौँ । त्यसले गर्दा बिस्तारै सहज अनुभव हुँदै जान थालेको छ । 

बजेटमा प्राथमिकता निर्धारण गर्नुभएको छ ? 

हामीले गाउँपालिकाको प्रथम आवधिक विकास योजना २०७८/७९–२०८०/८१ निर्माण गरेका छौँ । अल्पकालीन योजना अन्तर्गत विद्यालय युवा पर्यटन कार्यक्रम, रैथाने बाली प्रवर्धन, स्याउ खेती स्तरीकरण, स्याउ किसानलाई सर्भ आयल वितरण, कृषि तथा पर्यटन महोत्सव सञ्चालन, स्याउ तथा आलु ब्रान्डिङ तथा प्याकेजिङ गर्ने लक्ष्य बनाएका थियौँ । लघु उद्यम विकास तालिम र व्यवसाय सञ्चालनमा अनुदान वितरण र दीर्घकालीन योजना अन्तर्गत दलित तथा विपन्नका लागि स्वास्थ्य बिमा कार्यक्रम, बसपार्क व्यवस्थापन, स्याउ पकेट क्षेत्र विस्तारलाई पनि महìवका साथ राखेका थियौँ । स्याउ ग्रेडिङ तथा कोल्ड स्टोर निर्माण, दिगो विकासका लक्ष्यलाई स्थानीयकरण, धार्मिक, सांस्कृतिक तथा पर्यापर्यटन विस्तार, खर्च कटौती तथा पारदर्शिता कायम गरी कार्यालयमा सुशासन कायम हाम्रा महìवपूर्ण कार्ययोजना थिए । प्राविधिक शिक्षा विस्तारमा प्राथमिकता, पर्यटनका लागि आकर्षणका थप पूर्वाधार निर्माण तथा विस्तार, कक्षा ८ सम्म स्थानीय विषयमा आधारित पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण र सञ्चालन, स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति व्यवस्थापन तथा पूर्वाधारमा स्तरीकरण जस्ता कार्यक्रम तथा योजनालाई महत्वका साथ हामीले लिएका छौँ । 

घरजग्गाको राजस्व सङ्कलनको अवस्था कस्तो छ ?

राजस्व सङ्कलनका सन्दर्भमा हामीले गाउँपालिकाभित्रका घरलाई सामान्य र पक्की गरी दुई भागमा विभाजन गरेका छौँ । सामान्य घरको दुई सय रुपियाँ र पक्की घरको सात सय रुपियाँका दरले राजस्व उठाउने गरिएको छ । जग्गाको सम्बन्धमा भने प्रतिरोपनी भूमिकर भनेर ५० रुपियाँका दरले राजस्व उठाउने गरिएको छ । 

मुक्तिनाथ मन्दिरको प्रवेश नाकाका रूपमा रहेको घरपझोङलाई सुन्दर र समुन्नत बनाउने योजना छ ? 

गाउँपालिकालाई सुन्दर अनि समुन्नत बनाउन धार्मिकलगायत थप पर्यटनका पूर्वाधार विस्तार गर्ने, स्थानीय रैथाने उत्पादनको बजारीकरण गर्ने, पर्यटकको बसाइलाई लम्ब्याउन आकर्षक कार्यक्रम तथा पूर्वाधार निर्माण गर्ने जस्ता कार्यमा हामीले ध्यान केन्द्रित गरेका छौँ । स्तरीय तथा सस्तो होटल सेवा व्यवस्थापन, सडक तथा हवाई यतायातमा थप सुदृढीकरण, प्राविधिक शिक्षाको क्षेत्र विस्तार, विद्यालय पर्यटन क्लब सञ्चालनजस्ता कार्यक्रम सञ्चालन गर्नुपर्छ भनेर हामीले दीर्घकालीन योजना बनाएरै अगाडि बढ्दै छौँ । 

गाउँपालिकाभित्रको पर्यटकीय स्थल ढुम्बा ताल, भ्यु प्वाइन्ट, ऐतिहासिक मार्फा गाउँ, नमुनाका रूपमा जनहित माध्यमिक विद्यालय, क्षमा ताल, इको म्युजियम, धौलागिरि बेस क्याम्प, नमुलेक हुँदै तिलिचो यात्रा, छैरो छहरा, आलुबारी, चिमाङ गाउँ महìवपूर्ण छन् । धौलागिरि र टुकुचे पिकको सूर्योदय र सूर्यास्तको दृश्यावलोकन, झोनाघाङ पार्क, तिब्बती शरणार्थी क्याम्प जस्ता स्थानको प्रचार गर्ने योजनामा छौँ । साथै धार्मिक स्थलमा छैरो गुम्बा, कुक्षपतोरङ्गा गुम्बाजस्ता धार्मिक स्थल पनि छन् । प्रचारप्रसारका लागि मिडियामा जानकारी गराउने, गाउँपालिकामा पर्यटन सूचना केन्द्रको स्थापना, वृत्तचित्र निर्माण र प्रदर्शनी गर्ने, होटलमा ब्यानर, ब्रोसर निर्माण र वितरण, होडिङ बोर्ड निर्माण जस्ता काम गरेर हामीले प्रचारप्रसार गर्ने योजना बनाएका छौँ । 

आन्तरिक आय बढाउन काम भइरहेको छ ? 

यहाँको होटल व्यवसायदेखि सांस्कृतिक र धार्मिक क्षेत्र सुधारका काम गर्दै छौँ । पर्यटकका लागि शुल्कसहितको मनोरञ्जन स्थल निर्माण गरिँदै छ । खाली जग्गामा कृषि व्यवसाय विस्तार, विभिन्न प्रकारका विषयगत महोत्सव सञ्चालन गर्नुपर्छ भन्ने सोचेर त्यही अनुरूपको तयारी पनि थालिएको छ । आय बढाउन ढुङ्गा, गिट्टी, बालुवाको उपयोग, स्याउको पकेट क्षेत्र विस्तार, आन्तरिक राजस्वका दर र दायरामा विस्तार, पशुपालनमा व्यवसायीकरण गर्दै छौँ । 

शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा र कस्ता कस्ता योजना बनाउनुभएको छ ? 

शिक्षा क्षेत्रको विकासका लागि विद्यालयमा प्रविधिमा आधारित जनशक्ति व्यवस्थापन, प्राविधिक धारका विषय थप र कक्षा सञ्चालन, विद्यालयमा जाने अनुदानमा पारदर्शिता कायम गर्ने, विद्यालय क्षेत्रको विकासमा वडालाई जिम्मेवार बनाउने र स्वास्थ्यतर्फ पूर्वाधारमा स्तरीकरण गर्न थप लगानी विस्तार गर्ने, स्वास्थ्य क्षेत्रको दक्ष जनशक्ति व्यवस्थापन गर्ने योजना छ । हामी शिक्षा र स्वास्थ्यलाई मजबुत बनाएर अगाडि बढ्ने योजनामा छौँ । 

नयाँ र ताजा काम के के भए ? 

गाउँपालिकाको प्रशासकीय भवन र विपत् व्यवस्थापनको लागि आपत्कालीन कार्य सञ्चालन केन्द्रको भवन उद्घाटन गरेका छाँै । जसबाट गाउँपालिकाको सेवा प्रवाहमा प्रभावकारी हुने र कार्यालयको व्यवस्थापन राम्रो हुने छ । हामीले भर्खरै गरेको महोत्सवबाट विभिन्न विधामा उत्कृष्ट उत्पादन गर्ने कृषकलाई पुरस्कृत गरेका छौँ । यसबाट कृषि व्यवसायलाई थप स्तरोन्नति गर्न टेवा पुग्ने छ । रैथाने उत्पादन र परिकारको निकै राम्रो तबरले प्रचार भएको छ । महोत्सवबाट भएको प्रचारप्रसारले आन्तरिक तथा बाह्य पर्यटक जिल्लामा बढ्ने अपेक्षा गरेका छौँ । 

विशेष प्राथमिकतामा केही छ कि ? 

हामीले ‘समृद्ध घरपझोङ र सुखी घरपझोङवासी’ को कल्पना पूरा गर्न हाम्रा योजना तथा कार्यक्रम केन्द्रित गरेका छौँ । शिक्षा र स्वस्थ्यमा गुणस्तर कायम गर्ने, कृषिमा उत्पादन र उत्पादकत्व बढाउने र बजारीकरण गर्ने, रोजगारी, कृषि र पर्यटन जोड्दै पर्यटक बढाउने र बसाइ लम्ब्याउने कार्यक्रम निर्माणमा प्राथमिकता दिइरहेका छाैँ । मुस्ताङ पर्यटन व्यवसायबाटै चल्ने र पर्यटनका लागि राम्रो सम्भावना भएको जिल्ला भएकाले पनि यसको विकास र विस्तार हाम्रो मूल ध्येय हो ।