• १३ साउन २०८१, आइतबार

आधा रोपनीमा लगाइएको पिँडालुबाट डेढ लाख कमाइ

blog

कृषक कल्पना गौलीको फर्ममा मौलाएको कर्कला । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, असोज २४ गते । तनहुँमा एक महिला उद्यमीले थोरै जमिनमा लगाइएको पिँडालु खेतीबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । आम्दानी गर्नेमा नेपाल घरेलु तथा साना उद्योग महिला उद्यमी समिति तनहुँका अध्यक्ष कल्पना गौली हुनुहुन्छ । 

व्यास नगरपालिका–२ दमौली निवासी गौलीले व्यास नगरपालिका–५ ढोडेनी, पाटनमा पिँडालु खेती गर्नुभएको छ । माँ अम्बे अलौकिक कृषि फर्ममा   गौलीले आधा रोपनी जमिनमा गौलीले पिँडालु खेती गर्नुभएको छ । पिँडालुको पात, डाँठ तथा फल बिक्री गर्न पाइने भएकाले धेरै नाफा हुने गौलीले बताउनुभयो । 

पाँच हजारको मकै नफल्ने बारीबाट डेढ लाख रुपियाँ आम्दानी गर्नुभएको छ । गर्त वर्ष डेढ लाख रुपियाँ आम्दानी भएको र यस वर्ष राम्रोसँग फष्टाएकाले दुई लाख ५० हजार आम्दानी हुने अपेक्षा गरेको गौलीले बताउनुभयो । कर्कलो, बफाको कर्कलो, डाँठबाट तान्द्रे कर्कलो, मस्यौरा बिक्री गरी आम्दानी गरेको गौलीले जानकारी दिनुभयो । 

गत वर्ष ग्राहक बारीमै आएर खरिद गरेर लगेको उहाँले जानकारी दिनुभयो । तान्द्रे कर्कलो र बफाको कर्कलो बिरामीलाई लाभदायक हुने भएकाले बिक्री गर्न सहज भएको गौलीको भनाइ छ । बजारमा पिँडालु तथा कर्कलो माग उच्च रहेकाले जमिन बाँझो नराखी खेती गर्न सुझाव गौलीको छ ।  

बाँदर लाग्ने ठाउँमा मकै खेतीभन्दा पिँडालु खेती उपयुक्त हुने गौलीको भनाइ छ । मकै फल्ने स्थानमा पिँडालुको खेती गर्न सकिने हुँदा बाँदर आतङ्कबाट बच्न सकिने उहाँले बताउनुभयो । 

पिँडालु बाँदरले नखाने र नाफा पनि धेरै हुने गौलीले बताउनुभयो । गौलीले फर्ममा व्यावसायिक रूपमा ड्रागन खेती पनि गर्नुभएको छ । सात रोपनी जमिनमा लगाइएको ड्रागनबाट एक वर्षको अवधिमा आठ लाख रुपियाँको बिक्री गरिसकेको गौलीले जानकारी दिनुभयो । 

गौलीले विषादी प्रयोग नगरी खेती गर्नुभएको छ । काँचो पात र असुरो, तीतेपातीको झोल मिसाएर छर्किएपछि विष प्रयोग गर्नुपरेको गौलीले बताउनुभयो । पूर्ण रूपमा पाङ्गरिक तरिकाले खेती गरिएकाले ग्राहक किन्न बारीमै आउनेगरेको गौलीले बताउनुभयो । 

टिकटक बनाउने र फोटो तथा सेल्फी फोटो खिचेर फेसबुकमा राख्नेहरू बढिरहेकाले यसले कृषि व्यवसाय गरूँ गरूँ भावानाको विकासमा पनि टेवा पुगेको उहाँको भनाइ छ । 

महिला उद्यमी गौली जमिन बाँभो राख्नेक्रम बढेकाले त्यसलाई अन्त्य गरिनुपर्छ भन्ने सन्देश प्रवाह गर्न जमिन भाडामा लिएर भए पनि व्यावसायिक कृषि पेसा अङ्गालेको बताउनुभयो । उहाँले नौ रोपनी जमिन भाडामा लिएर कृषि फर्म सञ्चालन गर्नुभएको छ ।