• ९ मंसिर २०८१, आइतबार

कालीगण्डकी कोरिडोर प्रसारण लाइन निर्माण सम्पन्न

blog

काठमाडौँ, असोज २४ गते । रुपन्देही र आसपासका जिल्लामा दिगो र पर्याप्त विद्युत् उपलब्धता र पूर्वी नेपालको विद्युत् प्रसारण लाइनसँग आबद्धता बढाउने उच्च क्षमताको कालीगण्डकी कोरिडोर २२० केभी प्रसारण लाइन तयार भएको छ ।

कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा आबद्ध गर्नका लागि एक हजार दुई सय मेगावाट क्षमता विद्युत् आपूर्ति गर्ने क्षमताको प्रसारण लाइन सोमबारदेखि चार्ज गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका–१३, भूमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको करिब १४० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । 

सो प्रसारण लाइन अन्तर्गत पहिलो खण्ड दानादेखि पर्वतको कुस्मा नगरपालिका–२, खुर्कोटसम्मको करिब ४० किलोमिटर निर्माण भई सञ्चालनमा आइसकेको छ । दोस्रो खण्ड अन्तर्गत कुस्माबाट नयाँ बुटवल सबस्टेसनसम्मको करिब ९० किलोमिटर प्रसारण लाइन निर्माण गरी सोमबारबाट चार्ज गरी सञ्चालनमा ल्याइएको हो । 

यस खण्डमा २३६ वटा टावरहरू निर्माण गरिएको छ । सुनवल नगरपालिका–१३, बडेराबाट नयाँ बुटवल सबस्टेसनसम्म २२० केभीको चार सर्किट (मल्टी सर्किट) लाइनका लागि टावरहरू निर्माण गरिएको छ । नयाँ बुटवलमा २२० केभीको सबस्टेसन निर्माण गरिएको छ । 

प्रसारण लाइन निर्माण भएसँगै म्याग्दीमा सञ्चालित ४० मेगावाटको मिस्त्री खोला जलविद्युत् आयोजनाको विद्युत् पूर्ण खपतमा आउने भएको छ भने लमजुङको दोर्दी खोला कोरिडोरमा निर्माण भएका आयोजनाको विद्युत् प्रसारणमा सहजता भएको छ । दाना सबस्टेसनमा ४२ मेगावाटको मिस्त्री खोला, १४ मेगावाटको घार खोला, १३.६ मेगावाटको थापा खोला र पाँच मेगावाटको घलेम्दी खोला जलविद्युत् आयोजनाको ७४.६ मेगावाट विद्युत् जोडिएको छ । उक्त आयोजनाबाट उत्पादित विद्युत् स्थानीय रूपमा खपत गरी बाँकी कालीगण्डकी कोरिडोर प्रसारण लाइन हुँदै नयाँ बुटवल सबस्टेसनतर्फ प्रवाह गरिएको छ । 

मुस्ताङ, म्याग्दीलगायतका जिल्लामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् पनि यही प्रसारण लाइनमा जोडी राष्ट्रिय प्रणालीमा समाहित गरिने छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कालीगण्डकी कोरिडोर प्रसारण लाइन सञ्चालनमा आएपछि एकीकृत विद्युत् प्रणालीको विश्वसनीयता बढ्ने र नवलपरासी, रुपन्देहीलगायतका क्षेत्रको भोल्टेज सुधार हुने बताउनुभयो । 

उहाँले भन्नुभयो, “त्यस क्षेत्रको विद्युत् प्रसारणको समस्या समाधान भएको छ, आयोजनाबाट उत्पादित विद्युत् पूर्ण रूपमा प्रवाह हुने हुँदा देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतर्फ थप निर्यात गर्न सजिलो हुने छ ।”

रुख कटान अनुमति प्रक्रियामा भएको ढिलाइ, स्थानीयको अवरोध, कोभिड–१९ को महामारीलगायतका कारणले कालीगण्डकी कोरिडोर प्रसारण लाइन निर्माण प्रभावित भएको आयोजना प्रमुख चन्दन घोषले बताउनुभयो । 

कुस्मा–नयाँ बुटवल खण्ड निर्माणका लागि भारतीय कम्पनी एल एन्ड टीसँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो । उक्त सम्झौता २०७४ पुसबाट कार्यान्वयनमा आएको थियो । 

नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैङ्कको दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्तर्गत विद्युत् प्रणाली विस्तार परियोजनाबाट प्राप्त सहुलियतपूर्ण ऋणमा कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजना निर्माण गरिएको हो । आयोजनाको अनुमानित लागत करिब ११ अर्ब रुपियाँ रहेको छ । नयाँ बुटवल सबस्टेसनबाट बर्दघाटसम्मको लाइन निर्माण सम्पन्न भएपछि हेटौँडाबाट नयाँ बुटवलसम्म २२० केभी प्रसारण लाइन पूर्वाधार संरचना तयार हुने छ । 

नयाँ बुटवल–बर्दघाट २१ किलोमिटर प्रसारण लाइन आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको प्राधिकरणले जनाएको छ । अहिले हेटौँडाबाट भरतपुर हुँदै बर्दघाटसम्मको २२० केभी प्रसारण लाइन सञ्चालनमा आइसकेको छ । भारतसँगको विद्युत् व्यापारका लागि नयाँ बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन पनि निर्माण गर्न लागिएको छ । 

देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् सोही प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गरिने छ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मार्फत प्राप्त हुने अनुदानबाट नयाँ बुटवलमा ४०० केभीको सबस्टेसन र बुटवल–गोरखपुर प्रसारण लाइन अन्तर्गत नेपाल खण्डको निर्माण गरिने छ ।