• २० असोज २०८१, आइतबार

अध्ययन केन्द्र बनाउन ज्ञान महायज्ञ

blog

श्रीमद्देवी भागवत ज्ञान महायज्ञको तयारीका विषयमा पत्रकार सम्मेलन ।

मीना कंडेल

कावासोती, असोज २३ गते । नवलपुरको कावासोती नगरपालिकामा अवस्थित नवदुर्गा भवानी मन्दिरमा असोज २८ गतेदेखि श्रीमद्देवी भागवत ज्ञान महायज्ञ हुनेभएको छ । धार्मिक ग्रन्थको अध्ययन केन्द्र बनाउने मुख्य उद्देश्यसाथ ज्ञान महायज्ञ गर्न लागिएको हो ।

कावासोती नगरपालिका–३ स्थित धार्मिक तथा जनविश्वासको आस्थाको रूपमा रहेको नवदुर्गा भवानी मन्दिर संरक्षण एवम् प्रवर्धन तथा धार्मिक पर्यटकीय क्षेत्र विकास सहयोगार्थ ज्ञान महायज्ञ सञ्चालन गर्न लागिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रक्मादन शर्माले बताउनुभयो ।

विभिन्न जातजाति र भाषाभाषीका साँझ फूलबारीको रूपमा रहेको नेपालमा रहेका विभिन्न धार्मिकस्थलको आफ्नै महत्त्व रहेको भन्दै २०३२ मा स्थापना भई सानो ढुङ्गालाई देवीको मूर्तिका रूपमा पूजाआजा गरिंदैआएको र २०४५ सालपछि मन्दिरको भौतिक विकास गरिएको शर्माले बताउनुभयो । 

एक हप्तासम्म सञ्चालन हुने महायज्ञबाट धार्मिक तथा साहित्य अध्ययन केन्द्र निर्माण, मन्दिर परिसरमा तारवेर, व्यवस्थित शौचालय र परिवारबाट विचलित भएको परिवारलाई मानसिक विमारबाट मुक्त गराउन व्यवस्थित मन्दिर बनाउने मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । ज्ञान महायज्ञमा करिब पाँच लाख खर्च हुने र २० लाख आम्दानी गर्ने लक्ष्य राखिएको बताइएको छ ।

उहाँले मन्दिरको आफ्नै महत्त्व रहेको भन्दै कावासोती नगरपालिका भित्रका महत्त्वपूर्ण धार्मिकस्थलको रूपमा रहेकाले मन्दिरप्रतिको जनविश्वासलाई थप वृद्धि र आमधार्मिक व्यक्तित्वसम्म पुगाउने विश्वास व्यक्त गर्नुभयो ।

नवदुर्गा भवानी मन्दिरको स्तरोन्नति र यसको सर्वपक्षीय विकासका लागि आयोजना हुने ज्ञान महायज्ञको तयारीका सम्बन्धमा मगंलबार पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी दिएको छ । महायज्ञमा विभिन्न चरणमा सहयोग गर्ने सहयोगी दातालाई सम्मानको कार्यक्रम तय भएको आयोजकले जनाएको छ । श्रीमद्देवी भागवत ज्ञान महायज्ञ असोज २८ गतेदेखि कात्तिक ६ गतेसम्म हुनेछ ।