नवराज श्रेष्ठ
रामेछाप, असोज २१ गते । रामेछापमा रहेको सीमान्तकृत माझी समुदायले एक वर्षभरि दिवङ्गत भएका पितृलाई सम्झने मौलिक कर्म श्राद्ध गर्छन् । यो समुदायले हरेक वर्ष पितृश्राद्ध तीन दिनसम्म भक्तिभावपूर्वक गर्ने गर्छन् ।
यो वर्ष बुधबारदेखि सुरु भएको श्राद्ध शुक्रबार बिहान तामाकोशीमा पितृ सेलाएपछि समापन भएको छ । माझी समुदायले श्राद्धको पहिलो दिनलाई थाल्ने, दोस्रो दिनलाई पाल्ने र तेस्रो दिन बिदा गर्ने भनिन्छ ।
कुनै कारणले श्राद्ध कर्म बुधबार रोकियो भने शुक्रबार सुरु गरेर आइतबार समापन हुने मन्थली नगरपालिका–८, जखनीटारका गणेश माझीले जानकारी दिनुभयो । “कुनै व्यक्तिको सोह्रश्राद्धको श्राद्ध सुरु नभई मृत्यु भएमा त्यही श्राद्धभित्रै उसको पनि श्राद्ध सकिन्छ, एउटा श्राद्ध सकिएपछि एक वर्षभरि मृत्यु भएका सबै पितृको श्राद्ध गर्न सोह्रश्राद्धकै बुधबार वा शुव्रmबार पर्खनु पर्छ,” उहाँले स्पष्ट पार्नुभयो । आफन्तको मृत्यु भएका परिवारका सदस्यले श्राद्ध गर्न कुशेऔँसीदेखि चोखो खाएर बस्नुपर्ने उहाँको भनाइ छ ।
सोह्रश्राद्धको पूर्णिमाको दिनदेखि श्राद्धको प्रारम्भ हुन्छ । सो दिनदेखि एक वर्षसम्म रोकिएको बाजागाजा फुकाइन्छ । पितृलाई प्रसाद चढाइन्छ । प्रसाद चढाउन आफन्त र दाजुभाइ आउँछन् । उहाँहरू सबैलाई प्रसाद खुवाएर बिदा गरिन्छ । त्यसपछि बुधबारबाट मुख्य कर्म सुरु हुन्छ । बुधबार बिहानैदेखि पितृको फोटो राखेर प्रसाद चढाइन्छ । प्रसाद चढाउन गाउँका सबै दाजुभाइ तथा चेलीबेटी आउँछन् । प्रसाद चढाएपछि गाउँका बुढापाका जम्मा भएर मादल बजाउँदै गीत गाएर पितृलाई सम्झन्छन् । गाउँभरिका मानिसले ल्याएको प्रसाद र सगुन बाँडिन्छ । भोज लगाएर सबै पाहुनालाई खाना खुवाई बिदा गरिन्छ । दोस्रो दिन बिहीबार बिहानै बाटो खन्ने काम हुन्छ । पितृलाई स्वर्गको यात्रा सहज होस् भनी बाटो खन्ने प्रचलन छ । त्यसपछि खुला ठाउँमा पितृको सम्झनामा पितरा बनाएर नाचगान गरिन्छ ।
पितृलाई प्रसाद र बरनी गरिन्छ । यो कर्ममा छोरी चेलीको विशेष भूमिका हुन्छ । सो दिन दिनभरि नाचगान गरी भोज लगाइन्छ । भोलिपल्ट बिहानै नदीमा गएर पितरा बगाएर पितृलाई बिदा गरेपछि श्राद्ध सकिने जखनीटारकै वीरबहादुर माझीले बताउनुभयो । सोही विधि अनुसार शुक्रबार बिहान भालेको डाकोमा नदीमा लगेर पितृ सेलाउने कर्म सकिएको उहाँले बताउनुभयो ।
शुद्ध शान्तिको भोज र श्राद्धको भोजमा पहिला पहिला राँगा वा भैँसीको मासु खुवाउने गरिएको भए पनि अहिले मासुको चलन हटाइएको छ । शोकमा परेकालाई खर्चको मार नपरोस् भनेर मन्थली नगरपालिका–८, जखनीटारका माझी समुदायले मासुको भोज हटाएका हुन् ।
परम्परादेखि मौखिक रूपमा चल्दै आएको माझी समुदायको यो संस्कार पुराना पुस्ताको मुखबाट नयाँ पुस्तामा सर्दै आएको मन्थली नगरपालिका–८, चिसापानीका वडाध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो । “माझी समुदायको श्राद्धको सबै कर्म गीतकै विधिबाट हुन्छ, मौखिक रूपमा सर्दै आएको यो परम्परा धार्मिक तथा सांस्कृतिक आक्रमणसँगै जोगाउन कठिन हुँदै गएको छ,” उहाँले भन्नुभयो ।