पोखरा समाचारदाता
पोखरा, वैशाख २८ गते । पोखरा–मुग्लिङ सडक (पश्चिम खण्ड) अन्तर्गत पोखराको पृथ्वीचोकस्थित सेतीनदी माथि निर्माणधीन पुलको अवरोध हटेपछि काम सुरु भएको छ ।
सेतीको उत्तर पूर्वी भागमा स्थानीय केदार पौडेल र माधव पौडेलले आफ्नो घर भत्कने भएपछि पुल निर्माणका काम रोकेकोमा हाल सहमति भएको छ । पौडेलद्वयले उचित क्षतिपूर्ति पाएपछि सहमति भएको हो ।
क्षतिपूर्तिबापतको ५० प्रतिशत रकममा केदार पौडेलले १३ लाख र माधव पौडेलले नौ लाख बुझेपछि पुल निर्माणको कामलाई अगाडि बढाउन सहमति भएको सडक योजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार विवादका कारण २०८१ माघ १ गतेदेखि हालसम्म काम ठप्प रहेको थियो ।
राजमार्गबाट २५ मिटर दायाँबायाँ मापदण्ड रहेकोमा दुवै घर मापदण्डभित्रै परेकाले घरको अगाडिको भागलाई हटाउने र मापदण्डबमोजिम पुलहरू निर्माण हुने भएको हो । साबिकको पुलबाट सेती नदीको उत्तरपूर्वको माथिल्लो भागमा एक र दक्षिण पश्चिम भागमा अर्को गरी दुई पुल बन्दै छन् ।
सो पुलको दुवैतर्फ पिल्लर बनाइने भएका छन् भने बिचमा फलामे लट्ठा राखिने बताइएको छ । कुल एक अर्ब सात करोड (भ्याटसमेत) मा सम्पन्न हुने उक्त दुवै पुलको दुवैतर्फ गरी चार लेन हुने भएपछि पुरानो पुल बिचमा रहने छ ।
पोखरा महानगरपालिका वडा नं ९ र १० जोड्ने सो कुल पुल छ लेनको हुने छ । यस पुलले पोखराको पर्यटकीय गन्तव्यमा थप टेवा पु¥याउने प्रमुख कुँवरको भनाइ छ । दुवै पुलको लम्बाइ १९० मिटर रहने छ भने पुलको दायाँ र बायाँ साढे ११ मिटर चौडाइ रहने छ । पुलको हालसम्म ६० प्रतिशत भौतिक प्रगति भएको छ भने ५५ प्रतिशत वित्तीय प्रगति भएको छ ।
२०७९ साउन २४ मा शिलान्यास भएको सो पुलका लागि दोस्रो पटक म्याद थपिएको छ । सो म्याद २०८३ माघको अन्तिमसम्मको समय रहेको छ । पोखरा–मुग्लिङ सडक (पश्चिम खण्ड) अन्तर्गत १३ वटा पुलमध्ये १२ वटा पुल सम्पन्न भइसकेका छन् ।