• १ जेठ २०८२, बुधबार

निःशुल्क घुँडा प्रत्यारोपण

blog

सिद्धार्थनगर समाचारदाता 

सिद्धार्थनगर, असोज २१ गते । रुपन्देहीको लुम्बिनीमा निकै महँगो र खर्चिलो उपचारका रूपमा रहेको घुँडाको प्रत्यारोपण गरिएको छ । बुद्धको पहिलो पाइला अन्तर्गत लुम्बिनी क्षेत्रका ३२ जना बिरामीको निःशुल्क घुँडा प्रत्यारोपण गरिएको हो । थाइल्यान्डका बौद्ध ध्यान गुरु सुधर्म गुरु र  सिरिराज अस्पताल हाडजोर्नी तथा नसारोग विशेषज्ञ प्राध्यापक डा. किराँती सी वानिचको पहलमा बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर घुँडा प्रत्यारोपण स्वास्थ्य शिविर गरिएको हो ।

सिद्धार्थ सिटिनगर हस्पिटल भैरहवासँग सहकार्य गरी थाइल्यान्डको सिरिराज हस्पिटलका प्रोफेसर डा. किराँती सीको नेतृत्वमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले अत्याधुनिक प्रविधिमार्फत घुँडाको प्रत्यारोपण गर्नुभयो । 

निकै महँगो र खर्चिलो उपचारका रूपमा रहेको घुँडाको प्रत्यारोपण बुद्ध जन्मस्थल लुम्बिनी र यस आसपासका बिरामीलाई केन्द्रित गरी निःशुल्क रूपमा गरिएको छ । घुँडा प्रत्यारोपणमा खटिएका चिकित्सक र बिरामीको उत्साहका लागि आयोजित कार्यक्रममा नेपालमा आधुनिक प्रविधिमार्फत घुँडाका बिरामीलाई निःशुल्क उपचार गरेकोमा धन्यवाद दिइएको थियो । बुद्धको जीवनको प्रमुख सन्देश नै मानव सेवा रहेकाले थाइल्यान्डका धर्मगुरु र चिकित्सकको पहलमा पहिलो पटक स्वास्थ्य शिविर गरिएको आयोजकले बताएका छन् । 

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले थाइल्यान्डको चिकित्सकको टोलीले लुम्बिनी क्षेत्रका स्थानीयको उपचार गरेर ठुलो योगदान दिएको बताउनुभयो । उहाँले बुद्धको उपदेश मानवसेवा नै भएकाले पवित्र स्थलमा घुँडाको प्रत्यारोपण गरेर थाइल्यान्डको चिकित्सक टोलीले पवित्र काम गरेको बताउनुभयो । 

कार्यक्रममा लुम्बिनी क्षेत्रका आर्थिक रूपमा विपन्नलाई घुँडाको सफल प्रत्यारोपण गर्न पाएकोमा थाइल्यान्डका बौद्ध ध्यान गुरु भिक्षु सुधर्मले खुसी व्यक्त गर्नुभयो । नेपालमा स्वास्थ्य शिविर सञ्चालनका लागि भिक्षु फ्रा अनिल सुगन्धले समन्वय गर्नुभएको हो । उहाँले भगवान् बुद्धकै कारण थाइल्यान्डका सुधर्म गुरु र सिरिराज हस्पिटलका चिकित्सक प्रोफेसर किराँतीको अगुवाइमा ठुलो स्वास्थ्य शिविर सम्पन्न सफल भएको बताउनुभयो । 

उहाँले बुद्धकै प्रभावले आर्थिक रूपमा विपन्न समुदायलाई घुँडाको प्रत्यारोप गरेर थाइल्यान्डका चिकित्सकले पवित्र काम गरेको बताउनुभयो । उहाँले अनुसार डा. किराँती नेतृत्वको बुद्धको पहिलो पाइला परियोजनाले थाइल्यान्डका ग्रामीण बस्तीमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । 

थाइल्यान्डबाहिर स्वास्थ्य शिविर सञ्चालन गर्ने सोच अनुसार पहिलो कार्यक्रम बुद्ध जन्मस्थल लुम्बिनीमा गरिएको भिक्षु सुगन्धले बताउनुभयो । लुम्बिनी आएर बिरामीको उपचार गर्न पाउँदा निकै खुसी लागेको सिरिराज अस्पताल हाडजोर्नी तथा नसारोग विशेषज्ञ प्राध्यापक डा. किराँती सी वानिचले बताउनुभयो । 

उहाँले उपचार गरेकाहरू दुई घण्टामै हिँड्न सफल भएको बताउनुभयो । सोमबार १४ र मङ्गलबार १६ जना बिरामीको घुँडाको अपरेसन गरिएको थियो । 

थाइल्यान्डका राजाको जन्मदिनको अवसर पारेर जुलाई २७ र ३० तारिखका दिन बुद्ध जन्मस्थल लुम्बिनीमा घुँडा प्रत्यारोपणका लागि निःशुल्क रूपमा छनोट स्वास्थ्य शिविर गरिएको थियो । त्यतिखेर ७०७ जनाको निःशुल्क परीक्षण गरिएको थियो । राजकीय थाई विहार लुम्बिनीको समन्वयमा शिविर भएको हो ।  लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बुद्ध जन्मस्थल लुम्बिनीकै कारण यस्ता जटिल खालका रोगको निःशुल्क उपचार सेवा स्थानीयले पाएको बताउनुभयो । 

घुँडा प्रत्यारोपणका लागि वरिष्ठ हाडजोर्नी तथा नसारोग विशेषज्ञ र शल्यक्रिया चिकित्सक १६ जना, १४ जना थेरापी, नर्स र अन्य सहयोगी टिमसहित ४५ जनाको टिम थाइल्यान्डबाट आएको थियो । उपचारका लागि एक ट्रकभन्दा धेरै सामग्री र उपकरण ल्याइएको थियो ।