• १३ साउन २०८१, आइतबार

आत्मनिर्भर बन्दै महिला

blog

नवलपरासी समाचारदाता

नवलपरासी, असोज २१ गते । कुनै बेला गाउँमै कसैले पैसा सापटी माग्यो भने मुन्टो बटारेर भाग्ने गर्थे, आज उहाँ ती दिन सम्झँदा आँखाबाट आँसु झार्नुहुन्छ । दुःखमा साथ दिन कोही तयार नभए पनि उहाँ आज सबैको प्रेरणा बनेर समाजको उदाहरणीय बन्न सफल हुनुभएको छ । उहाँको सफलतामा साथ दिएको छ, कृषि विकास बैङ्क र आफ्नै गाउँको महिला लघुउद्यमी संस्थाले ।

हुप्सेकोट गाउँपालिका–१, बेलुवाकी ४२ वर्षीय धनकुमारी महतोलाई कुनै बेला गाउँमा सापटी दिन पनि छिमेकीले जिब्रो टोक्ने गर्थे तर उहाँको अहिले भने जीवनको बाटो बदलिएको छ । गाउँसमाज मात्रै होइन, राष्ट्रिय रूपमा अहिले उहाँको चर्चा छ । उहाँको जीवन बदल्ने माध्यम बनेको छ, बाख्रापालन । त्यही बाख्रापालनका कारण उहाँले गण्डकी प्रदेशबाटै पहिलो पटक एक लाख नगद र सम्मानपत्रसहित स्वर्णिम प्रतिभा पुरस्कार प्राप्त गरेको बताउनुभयो ।

सुरुमा एउटा बाख्राबाट व्यवसाय थालेकी महतोले अहिले ५५ भन्दा बढी उन्नत जातका बाख्रा पालेको र दुई वर्षयता १३० भन्दा बढी बाख्रा बेचेर १५ लाख रुपियाँभन्दा बढी आम्दानी गर्नुभएको छ । यसमा स्थानीय लेकबेँसी सामाजिक महिला उद्यमी सहकारी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगले नै आफू सफल भएको कृषक महतोले बताउनुभयो ।

बाख्रापालनमा राम्रो खोर, राम्रो स्याहारसुसार र राम्रो प्राविधिक ज्ञानका कारण महतोले देशकै राम्रो पुरस्कार पाउन सफल भएको र यसले यहाँका महिलाका लागि थप प्रेरणाका स्रोत बन्न सफल भएको स्थानीय रामवीर थापाले बताउनुभयो ।

बेलुवामा स्थानीय महिलाले स्थापना गरेको लेकबेँसी सामाजिक महिला उद्यमी सहकारी संस्थाका झन्डै एक हजार दुई सय महिला बाख्रापालनमा आबद्ध छन् । यो संस्थाले बाख्रापालनका लागि झन्डै एक करोड रुपियाँ लगानी गरेको छ ।

सुरुमा हेफर नामक संस्थाबाट बाख्रा सहयोग लिएर व्यावसायिक पशुपालनमा लागेकी महतोले अहिले भाडामा जग्गा लिएर बाख्र्राका लागि घाँस खेती गर्नुभएको छ । घाँस मात्रै बेचेर उहाँले चार लाखभन्दा बढी कमाइसकेको बताउनुभयो । आत्मनिर्भर भएपछि आत्मसम्मान बढेको र कमाउन विदेश जानु पर्छ भन्ने सोच त्यागेर महिलाले पनि स्वदेशमै राम्रो काम गर्न सकिने महतोको भनाइ छ । कृषक महतो अहिले जिल्लावासीकै प्रेरणाको स्रोत बन्न सफल भएको स्थानीय समाजसेवी भीम थापाको भनाइ छ ।