• २ जेठ २०८२, शुक्रबार

जलवायु परिवर्तनका असरबारे परिचर्चा

blog

जलवायु परिवर्तनका असर

लन्डन, असोज २१ गते । नेपाल–बेलायतबिच मैत्री सन्धि भएको शतवार्षिकीको अवसरमा स्कटल्यान्डको एडिनबरास्थित रोयल बोटानिक गार्डेनमा जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

बेलायतस्थित नेपाली राजदूतावास र बेलायतको परराष्ट्र मन्त्रालयको संयुक्त आयोजना तथा रोयल बोटानिक गार्डेन र ब्रिटिस काउन्सिलको सहकार्यमा सम्पन्न कार्यक्रममा गत एक सय वर्षमा जलवायु परिवर्तनबाट नेपालको जैविक विविधता, भूगोल, अर्थतन्त्र र जनजीवनमा परेको प्रभाव र यसलाई न्यूनीकरण गर्न अपनाइएको प्रयासहरू र अन्तर्राष्ट्रिय सहयोगको आवश्यकतामाथि छलफल भएको थियो ।

कार्यक्रममा बेलायतका लागि नेपालका राजदूत ज्ञानचन्द्र आचार्यले सन् १९२३ मा भएको मैत्री सन्धिको महत्वका बारे प्रकाश पार्दै रोयल बोटानिक गार्डेनले नेपालको जैविक विविधताको संरक्षणमा गरेको सहयोग तथा जलवायु परिवर्तनबाट नेपालमा परेको प्रभावबारे चर्चा गर्नुभयो । 

उहाँले गार्डेन र नेपालको विभिन्न सङ्घ संस्थाबिच अनुसन्धान, क्षमता निर्माण, संरक्षण र विकासमा हालका वर्षमा सहकार्य गरिएको सहकार्यको स्मरण गर्दै बेलायत सरकारले जलवायु परिवर्तन र जैविक विविधताको क्षेत्रमा नेपाललाई सहयोग गरेकोमा धन्यवाद दिनुभयो । नेपालले शून्य उत्सर्जनको लक्ष्यलाई आत्मसात् गरेको जनाउँदै राजदूत आचार्यले जलवायु परिवर्तनजन्यबाट सिर्जित विपत् तथा हिमाली क्षेत्रमा हिउँ पग्लिएको समस्याबारे पनि चर्चा गर्नुभयो ।

रोयल बोटानिक गार्डेनका प्रमुख साइमन मिल्नेले गार्डेनले जैविक विविधता संरक्षणका क्षेत्रमा नेपालमा विभिन्न परियोजना सञ्चालन गरिरहेको जानकारी दिँदै दुई सय वर्षअघि स्कटल्यान्डका वैज्ञानिक फ्रान्सिस बुकानन ह्यामिल्टनले नेपालबाट वनस्पतिको नमुना सङ्कलन गरेको स्मरण गर्नुभयो । 

बेलायतको परराष्ट्र मन्त्रालयकी उपनिर्देशक स्यार्लोट कोल्सले बेलायत सरकारले जलवायु परिवर्तन र जैविक विविधता संरक्षणको क्षेत्रमा नेपाललाई सहयोग गरिरहेको बताउँदै दुई देशबिच ऐतिहासिक सम्बन्ध रहेको बताउनुभयो । उहाँले बेलायत सरकारले आगामी दिनमा नेपालको सामाजिक र आर्थिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

कार्यक्रममा गार्डेनका वैज्ञानिक मार्क वाट्सन, एडिनबरा विश्वविद्यालयका प्रोफेसर हग सिनक्लेयर, एडिनबरा नेपियर विश्वविद्यालयका डा. इन्गी पनिल्स र राजदूत आचार्यले जलवायु परिवर्तन, जैविक विविधतालगायतका विषयमा धारणा राख्नुभएको थियो । कार्यक्रममा जलवायुविज्ञ, कूटनीतिज्ञ र नेपाली समुदायका प्रतिनिधिको सहभागिता थियो ।