• १३ साउन २०८१, आइतबार

दसैँ बजार छैन उत्साह

blog

दसैँ आएसँगै यो चाड मनाउन किनमेल गर्नेको घुइँचो बजारमा देखिन्छ । उपत्यकाबाट बाहिर जानेहरूका लागि त दसैँको किनमेल विशेष नै हुन्छ तर यसपालि दसैँको किनमेल गर्नेको भिडभाड पहिलो जस्तो देखिँदैन । उपत्यकका मुख्य मुुख्य बजारहरू न्युरोड, भोटाहिटी, असन, इन्द्रचोक, भाटभटेनी, लगनखेल, थिमीलगायत बजारमा दसैँको उत्साह खासै देखिँदैन । दसैँ आएसँगै एक महिनाअघिदेखि चहलपहल हुने बजार सुनसान जस्तै देखिन्छ । विगतका वर्षमा सडकपेटीदेखि ठुला–ठुला व्यापारिक मलमा दसैँलाई लक्षित गरेर सामान किनमेल गर्नेको भिड लाग्ने गरेकोमा यसपालि फाट्टफुुट्ट मात्र ग्राहक पुग्ने गरेका छन् । सडकपेटीमा पसल राख्न नपाइने भएकाले पनि खासै चहलपहल देखिँदैन । आमउपभोक्ताको व्रmयशक्ति न्यूून हुनुु र अधिकांश सामानको मूल्य बढेकाले दसैँको चहलपहल त्यति नदेखिएको हो । उद्योग, व्यवसायहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैन । बजारमा माग कम हुुँदा उत्पादनमा कमी, विदेशबाट आयात गरी ल्याइने सामानको समेत कमी भएको तथ्याङ्कले देखाउँछ । समग्रमा आर्थिक गतिविधि सुस्त हुुँदा बजारमा चहलपहल पनि कम हुन पुगेको छ । 

गत वर्ष असोज महिनामा प्रतिकेजी ९० देखि ९५ रुपियाँ पर्ने चिनीको मूल्य बढेर अहिले १५० रुपियाँसम्म पुगेको छ । गत वर्ष प्रतिकेजी ७० रुपियाँ पर्ने जिरा मन्सुली चामलको मूल्य बढेर ९० रुपियाँ पुगेको छ । चिनी र चामल मात्र नभएर दैनिक उपभोग्य वस्तुुदेखि अधिकांश सामानको मूल्य अत्यधिक बढेको छ । बजारमा लत्ताकपडा, खाद्यान्न, हरियो तरकारीलगायत अन्य हरेक वस्तुको मूूल्य बढ्दा त्यसको प्रत्यक्ष प्रभाव आमसर्वसाधारणलाई परेको छ । गत वर्षको तुलनामा यो वर्ष खाने तेलको मूल्यमा भने कमी आएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार साउन महिनामा मुुद्रास्फीति ७.५२ प्रतिशत रहेको छ । राष्ट्र बैङ्कको तथ्याङ्कले नै बजार मूल्य बढेको देखाएको छ । बजारमा अधिकांश वस्तुु तथा सेवाको मूल्य निरन्तर बढ्दा न्यून आर्थिक अवस्था भएको वर्गलाई बढी प्रभाव पर्छ । चाडपर्व नजिकिँदै गर्दा बजारमा देखिएको अस्वाभाविक महँगीको असर उपभोक्ताको जीवनयापनमा पर्ने गर्दछ । दसैँ सुरु हुुन दुई साता बाँकी रहँदा पनि बजारमा चहलपहल बढ्न सकेको छैन । व्यवसायीले दसैँलाई लक्षित गरेर एक महिना अघिदेखि नै सामान ल्याउने गरेकोमा यस वर्ष भने खासै त्यस्तो देखिँदैन । बैङ्कको उच्च ब्याजदर र ऋणको अभावले गर्दा उद्योग व्यवसाय आंशिक रूपमा सञ्चालन भइरहेको व्यवसायीको भनाइ छ । 

दसैँ धेरै नेपालीका लागि सबैभन्दा बढी खर्चिलो र महत्वपूर्ण चाड हो । अरू बेला लुगाफाटो र खानपिन जस्तो भए पनि दसैँमा मिठो खाने र रामै्र लगाउने परम्परा छ । यो बेला आम्दानी गरेको रकमले नपुगे ऋण काढेरै भए पनि दसैँ मनाउने चलन छ । दसैँमा अत्यधिक खपत हुने चामल, चिउरा, जिरा, धुलो मसला, चिनी, घिउ, मासुलगायतको मूल्य अघिल्लो वर्षको तुलनामा बढेका कारण यो वर्ष नेपालीको दसैँ महँगो हुने निश्चित छ । 

इन्धनको मूल्य वृद्धिको प्रभाव

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएको छ । रुसले इन्धनको उत्पादनमा गरेको कटौतीका कारण विश्व बजारमा इन्धनको मूल्य निरन्तर उकालो लाग्दै गएको हो । त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको छ । इन्धनको मूल्यले समग्र क्षेत्रमा नै असर गर्छ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय मूल्यको आधारमा स्थानीय बजारमा प्रत्येक १५ दिनमा इन्धनको मूल्य समायोजन गर्दै आएको छ । इन्डियन आयल कर्पाेरेसन (आइओसी) ले पठाएको मूल्यका आधारमा निगमले बजारमा मूल्य निर्धारण गर्ने गरेको छ । निगमले ३१ असारदेखि इन्धनमा स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । यो वर्ष आर्थिक मन्दीको प्रभाव र आमउपभोक्ताको क्रयशक्ति पनि कमजोर हुँदा यस वर्षको दसैँ निम्न र मध्यम वर्गका लागि खल्लो हुने अवस्था छ ।

व्यापारमा छैन उत्साह

विश्वभर देखिएको आर्थिक मन्दी, बैङ्कको उच्च ब्याजदरको कारण व्यापार, व्यवसाय सुस्त गतिमा छन् । चाडपर्वमा एक महिना अघिदेखि नै विभिन्न मुलुकबाट सामान आयात गर्ने व्यवसायीहरू यसपालि फाट्टफुट्ट सामान आयात गर्ने गरेको बताउँछन् । बजारमा माग कम हुँदा कम सामान आयात गर्ने गरेको व्यवसायीको भनाइ छ । आमउपभोक्ताको पर्याप्त आम्दानी नहुँदा अनिवार्य आवश्यकताबाहेकका अन्य विलासिताका सामानको उपभोगमा पनि कमी आएको छ । 

बजारमा आर्थिक गतिविधि चलायमान नहुँदा र माग कम भई खपत कम हुँदा आयातमा समेत उल्लेख्य कमी आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको भदौ महिनामा आयात पाँच प्रतिशतले कमी आएको छ । बजारमा माग कम हुँदा उद्योग व्यवसायले क्षमताको आधा उत्पादन गरिरहेका छन् । चाडपर्वको बेला खपत हुने सुनको कारोबारमा ५० प्रतिशतले गिरावट आएको छ । मूल्य बढ्नु र आम्दानी न्यून हुँदा घर व्यवहार चलाउन कतिपयले पुराना गहना विक्री गरेर काम चलाउने गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अहिले सुनचाँदी व्यवसायको सटर भाडा तिर्न नसकेर व्यवसायी अन्य व्यवसायमा लागेका छन् । अझ कतिपय सुनचाँदी व्यवसायी त विदेश नै पलायन हुन थालेका छन् । व्यापार, व्यवसाय न्यून हुँदा कारोबार ५० देखि ६० प्रतिशले गिरावट आएको व्यवसायीको भनाइ छ । 

बजारमा ३५ देखि ४० प्रतिशत सटरहरू खाली छन् । धेरै ठाउँका सटर ‘टु–लेट’ भनेर बन्द गरिएका छन् । व्यवसायीहरू सटर भाडा तिर्न नसक्दा व्यवसाय छोडेर अन्यत्र पलायन हुने गरेका छन् । उद्योग व्यवसाय राम्रोसँग चल्न नसक्दा कामदारको रोजगारीसमेत गुम्दै गएको छ । रोजगारी नपाएपछि दिनहुँ तीनदेखि चार हजार जना युवा वैदेशिक रोजगारीमा गइरहेका छन् । चार वर्षअघिको कोभिड–१९ र दुुई वर्षअघि भएको रुस–युक्रेन युद्धको असर उद्योग व्यवसायमा देखिएको हो । विश्वमा देखापरेको आर्थिक मन्दीको असर नेपालमा पनि परेको छ । यसको प्रत्यक्ष असर राजस्व सङ्कलनमा समेत परेको छ ।

उत्पादन अनुसार बजारमा उपभोग्य सामानको समेत माग नहुँदा उद्योगहरू समेत पूर्ण क्षमतामा चल्न सकेका छैनन् । पोल्ट्री, निर्माणजन्य सामग्रीका उद्योग एवं फेन्सी पसलमा यसको बढी असर परेको व्यवसायी बताउँछन् । उद्योगी तथा थोक व्यवसायीमा मात्र नभई आर्थिक मन्दीको असर खुद्रा तथा साना व्यवसायीमा समेत परेको छ । बाह्रैमास भिड हुने पसल, सडक पनि पछिल्लो समय सुनसान जस्तै देखिन्छन् । फेन्सी पसल, सुनचाँदी पसलमा मात्र होइन, खाद्यान्न पसलमा समेत ग्राहकको उपस्थिति न्यून देखिन्छ । 

रेमिट्यान्सले धानेको अर्थतन्त्र

चालु आर्थिक वर्षको असोजको दोस्रो सातासम्म चालु खर्च १०.५३ प्रतिशत, पुँजीगत खर्च ३.४८ प्रतिशत र वित्तीय खर्च १२.१७ प्रतिशत भएको छ । आर्थिक मन्दीको प्रभावले विकास निर्माणको काम न्यूून हुँदा विकास निर्माणको काममा कमी आएको छ । विकास निर्माणको काममा कमी आउँदा गत आर्थिक वर्षमा डिजेलको खपत २५ प्रतिशतले कमी आएको थियो । 

मुलुकको अर्थतन्त्र रेमिट्यान्सले धानेको छ । वैदेशिक रोजगारीमा गएका व्यक्तिले नेपालमा पठाउने रकमले अर्थतन्त्र चलायमान हुने गरेको छ । एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका नेपालीमार्फत १० खर्ब सात अर्ब रुपियाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार आर्थिक वर्ष २०७८/७९ मा सो रकम बराबरको रेमिट्यान्स भित्रिएको हो । यो वर्ष रेमिट्यान्स आप्रवाह ४.८ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७७/७८ मा रेमिट्यान्स ९.८ प्रतिशतले बढेको थियो । रेमिट्यान्स असारमा मात्र एक खर्ब तीन अर्ब भित्रिएको छ । अमेरिकी डलरमा रेमिट्यान्स २.२ प्रतिशतले बढेर आठ अर्ब ३३ करोड डलर भित्रिएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो । एक वर्षको अवधिमा श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत– नयाँ र वैधानिकीकरण) लिनेको सङ्ख्या तीन लाख ५४ हजार ६६० पुगेको छ । अघिल्ला वर्ष यो सङ्ख्या ६२.८ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारमा जान पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ८५ हजार ४५३ पुगेको छ । राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउन महिनामा विप्रेषण आप्रवाह २५.८ प्रतिशतले वृद्धि भई एक खर्ब १६ अर्ब दुई करोड रुपियाँ पुगेको छ । 

चाडपर्वको बेला विदेशबाट सबैले अफ्नो घरमा पैसा पठाउँछन् । चाडपर्व मनाउन नेपालीले विदेशबाट रेमिट्यान्स पठाउँदा स्थानीय स्तरमा आर्थिक गतिविधि चलायमान हुने गर्छ । चाडपर्व मान्नका लागि विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा गएका व्यक्ति नेपाल फर्कने गर्दछन् । घरमा फर्कने क्रममा उनीहरूले गर्ने खर्चले पनि बजारमा आर्थिक गतिविधि चलायमान हुने गर्छ ।

उद्योगी तथा थोक व्यवसायीमा मात्र नभई आर्थिक मन्दीको असर खुद्रा तथा साना व्यवसायीमा समेत परेको छ । बाह्रैमास भिड हुने पसल, सडक पनि पछिल्लो समय सुनसान जस्तै देखिन्छन् । फेन्सी पसल, सुनचांँदी पसलमा मात्र होइन, खाद्यान्न पसलमा समेत ग्राहकको उपस्थिति न्यून देखिन्छ ।

पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२३ को जनवरीदेखि सेप्टेम्बरसम्म छ लाख ९२ हजार ३७२ जना पर्यटक भित्रिएका छन् । पर्यटकको आगमन बढ्नाले आर्थिक गतिविधिलाई चलायमान बनाउन मद्दत गर्छ ।  नेपाल राष्ट्र बैङ्कले दसैँ–तिहारका लागि नयाँ नोट साट्ने सुविधा घटस्थापनाको दिनदेखि खुला गर्ने भएको छ । दसैँमा मान्यजनले टीका लगाएर नयाँ नोट दक्षिणा दिने भएकाले पनि प्रत्येक वर्ष बैङ्कले नयाँ नोट साट्ने सुविधा उपलव्ध गराउँदै आएको छ । 

बैङ्कले घटस्थापनाको दिनदेखि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपियाँसम्म नयाँ नोट वितरण गर्ने तयारी गरेको जनाएको छ । बैङ्क तथा वित्तीय संस्थाहरूलाई भने माग र ग्राहकको सङ्ख्या अनुसार नयाँ नोट उपलब्ध गराउने तयारी गरिएको छ । 

खाद्यान्नमा छुट

सरकारले मुख्य चाड दसैँ–तिहार र छठमा उपभोक्तालाई राहत दिन दैनिक उपभोग्य वस्तु खाद्यान्नमा छुट दिएको छ । चाडपर्वलाई लक्षित गरेर असोज २१ गतेदेखि सञ्चालन हुने सहुलियत पसलमार्फत छुुटको व्यवस्था गरिएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, दुग्ध विकास संस्थान (डिडिसी) र साल्ट्र टे«डिङ कर्पाेरेसनले बिक्री गर्ने खाद्यान्नमा छुटको व्यवस्था गरिएको हो । उपभोक्तालाई खाद्यान्नमा छुट दिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजेट विनियोजन गरेको छ । चाडपर्वमा बजारमा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुुने हुुँदा उपभोक्तालाई राहत दिन प्रत्येक वर्ष सहुलियत पसल सञ्चालन हुँदै आएको छ । उपत्यकाका साथै बाहिरी जिल्लामा पनि यस्ता पसल सञ्चालन हुन्छन् । 

सहुलियत पसलमा राखिने सामानमा उपभोक्तालाई सात रुपियाँदेखि ५० रुपियाँसम्म छुटको व्यवस्था गरिएको छ । चाडपर्वमा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने हुँदा उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालन गरिएको हो । चाडमा उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्यवस्तुको बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सहज र सर्वसुलभ रूपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यका साथ सहुलियत पसल सञ्चालन गरिन्छ । 

खाद्य कम्पनीबाट वितरण हुने सबै किसिमका चामल, दाल, गहुँ आँटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर, भटमासको तेल, चिउरा प्रतिकेजी/प्रतिलिटरमा सात रुपियाँ छुट दिइएको छ । यस्तै कर्णालीको सिमी/गेडागुडी, फापरको दाना, चिनो कागुनो र उवा प्रतिकेजीमा १० रुपियाँ छुटको व्यवस्था गरिएको छ । यस्तै साल्ट्र टे«ड्रिङ कर्पोरेसनबाट वितरण हुने नुन प्रतिकेजीमा दुई रुपियाँ, तेल र चिउरा प्रतिकेजी सात रुपियाँ छुटको व्यवस्था गरिएको छ । खसी र च्याङ्ग्रा प्रतिकेजी १० रुपियाँ छुटको व्यवस्था गरिएको छ । चिनीमा भने छुटको व्यवस्था गरिएको छैन । विगतका वर्ष प्रतिकेजी चिनीमा पाँच रुपियाँ छुटको व्यवस्था गरिएको थियो तर अहिले सरकारी संस्थानसँग चिनी नभएकाले छुटको व्यवस्था गरिएको छैन । समयमै भन्सार छुटमा चिनी आयातको अनुमति नहुँदा दसैँमा उपभोक्ताले छुटमा चिनी नपाउने भएका हुन् । अर्थमन्त्रालयले खाद्य कम्पनी र साल्ट्र टे«डिङ कर्पाेरेसनलाई ५० प्रतिशत भन्सार छुटमा १०/१० हजार क्विन्टल चिनी आयातको अनुमति दिए पनि आयातको प्रक्रिया लामो समय लाग्ने हुँदा दसैँअघि आयात नहुने देखिन्छ, जसको कारण उपभोक्ताले महँगो मूल्यमा चिनी खरिद गर्नुपर्ने भएको छ । बजारमा व्यापारीले एक्कासि चिनीको मूल्य बढाउँदा उपभोक्तालाई प्रत्यक्ष असर परेको छ । अन्य समयको तुलनामा चाडपर्वमा चिनीको खपत धेरै हुने गर्छ । 

यस्तै दुग्ध विकास संस्थानले वितरण गर्ने घिउ प्रतिकेजीमा २० रुपियाँ, पनिर दुई सय ग्राममा २० रुपियाँ र पनिर पाँच सय ग्राममा ५० रुपियाँ छुटको व्यवस्था गरिएको छ । खाद्य कम्पनीको सहुलियत पसल काठमाडौँको थापाथली, रामशाहपथ, ललितपुरको नक्खु, भक्तपुरको सूर्यविनायक गरेर चार स्थानमा रहने छ । यस्तै उपत्यका बाहिर भने ४२ जिल्लाका ४८ स्थानमा सुपथ मूल्य पसल रहने छ ।

यस्तै, साल्ट टे«डिङ कर्पोरेसनले काठमाडौँ उपत्यकामा रहेका आठ ठाउँमा बिक्री केन्द्र र तीन वटा घुम्ती पसलमार्फत सहुलियत पसल सञ्चालन गर्ने छ । बाहिरी जिल्लामा रहेका बिक्री केन्द्रबाट समेत सहुलियत मूल्यमा खाद्यान्न वितरण गरिने छ । यस्तै दुग्ध विकास संस्थानले एकीकृत पसललगायत लैनचौर, न्युरोड र खुमलटारबाट दुग्धजन्य पदार्थ बिक्री गर्ने छ । यस्तै उपत्यकाबाहिर ११ स्थानबाट सुपथ मूल्यमा दुग्ध पदार्थ वितरण गरिने डिडिसीले जनाएको छ । चाडपर्वमा बजारमा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने हुँदा उपभोक्तलाई राहत दिन प्रत्येक वर्ष सुपथ मूल्यका पसल सञ्चालन हुँदै आएका छन् । दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने हुँदा निजी व्यवसायीले मनपरी मूल्य लिई उपभोक्ता ठग्न सक्ने हुँदा बजार मूल्य नियन्त्रण गर्न सरकारी संस्थानमार्फत सुपथ मूल्यका पसल सञ्चालन गरिन्छन् । निजी क्षेत्रका व्यवसायीले पनि चाडपर्वमा खाद्यान्नमा छुटको व्यवस्था गरेका छन् । चाडपर्वलाई लक्षित गरेर विभिन्न कम्पनीले सामानमा छुट दिएका छन् ।