दुर्लभ जनावर रेडपान्डाको मुख्य आहारा मालिङ्गो हो । लेकाली क्षेत्रमा जब मालिङ्गोमा टुसा पलाउन थाल्छ, तब रेडपान्डाका पोथीहरूले बच्चा जन्माउने र हुर्काउने समय सुरु हुन्छ । रेडपान्डाले शान्त ठाउँ मन पराउँछ । मानव तथा अन्य जनावरले गरेको अशान्त क्रियाकलाप यसले मन पराउँदैन । त्यसैले ताप्लेजुङको केही सामुदायिक वनहरूले सार्वजनिक सूचना जारी गरेरै रेडपान्डा पाइने क्षेत्रका जङ्गलमा प्रवेश गर्न रोक लगाएको छ । साउनदेखि असोजसम्म जङ्गलमा पस्न र घाँस दाउरासमेत ल्याउन नपाइने गरी रोक लगाइन्छ ।
होहल्ला भएमा रेडपान्डाको माउले बच्चा छोडेर हिँड्ने खतरा हुन्छ । अनि स्याहार नपुगेर बच्चाको मृत्यु पनि हुन सक्छ । जेठ अन्तिमदेखि साउनभर रेडपान्डाले बच्चा जन्माउँछ । त्यसपछिका दुई महिना नियमित हेरचाह गरेर हुर्काउँछ । यो अवधिमा कुनै अवरोध नभए बच्चाहरू सहजै हुर्कन्छन् । त्यसैले यो अवधिलाई विशेष महत्वका साथ हेरिन्छ ।
सामान्यतया १३५ दिनको गर्भधारणपछि बच्चा जन्माउने रेडपान्डाले पुसदेखि फागुनसम्म गर्भधारण गर्छ । गर्भवती भएको अवस्थामा यस जनावरले ठुलो रुखको प्वाल खोजेर बच्चा जन्माउने र हुर्काउने गर्छ । बच्चालाई दुध चुसाएरै हुर्काउने भएकाले तीन महिना मात्रै राम्रो वातावरण पाए बच्चा सहजै हुर्कन्छ ।
लजालु स्वभावको रेडपान्डा खानेकुरा खोज्न भने गुँडबाहिर निस्कन्छ । आफूलाई असुविधा महसुस भए यसले ठाउँ सर्छ । सन् १९८९ मा लाङटाङ राष्ट्रिय निकुञ्जमा गरिएको एक अध्ययन अनुसार ८६ प्रतिशत रेडपान्डा बच्चा अवस्थामै मर्छन् । गाडीको हर्न बजे, घाँस दाउरा गर्दा ठुलो आवाज आए रेडपान्डा त्रसित हुन्छ । यस्तो अवस्था आए बच्चा सार्नतिर लाग्छ । यसरी सार्दा उपयुक्त वातावरण दिन नसके बच्चाको मृत्यु पनि हुन सक्छ । कुकुरबाट पनि रेडपान्डालाई जोखिम हुन्छ ।
मालिङ्गोको टुसा, टेङ्गाको दाना, भालुचिन्डे आदि रेडपान्डाको आहारा हो । यसले गुँड बनाउँदा आफूले खाने आहारालाई पनि ध्यान दिन्छ । ताप्लेजुङमा १३५ वटाभन्दा बढी रेडपान्डा रहेको अनुमान गरिएको छ । रेडपान्डा ताप्लेजुङ, पाँचथर र इलामका वनहरूमा धेरै पाइन्छ । विभिन्न समयमा गरिएको सर्वेक्षण अनुसार मुलुकभर यसको सङ्ख्या तीन सयको हाराहारीमा रहेको छ ।
लोपोन्मुख रेडपान्डा संरक्षणका लागि ‘रेडपान्डा नेटवर्क’ ले यसबारे विद्यालयमा पठनपाठन पनि गराउँदै आएको छ । हाब्रे संरक्षणमा व्रिmयाशील सो नेटवर्कले वातावरण संरक्षणसम्बन्धी पाठ्यपुस्तक तयार गरेर विभिन्न विद्यालयमा अध्ययन अध्यापन गर्दै आएको हो । रेडपान्डा पाइने ताप्लेजुङ, पाँचथर र इलामका २८ विद्यालयमा यसको संरक्षण कसरी गर्न सकिन्छ भन्नेबारे पढाइन्छ ।
रेडपान्डा उच्च हिमाली तथा पहाडी क्षेत्रमा बसोबास गर्छ । विशेष गरी यसले मालिङ्गोका पात र तामा खाने गर्दछ । रेडपान्डा नेपाल, चीन, म्यानमार, भुटानलगायतका देशमा पाइने भए पनि यिनीहरूको सङ्ख्या दिनानुदिन घट्दै गएको छ । यो एक हजार आठ सयदेखि चार हजार आठ सय मिटरसम्मको उचाइमा पाइन्छ । खास गरी गुराँस र बाँस प्रशस्त भएको समशीतोष्ण पतझर र कोणधारी जङ्गल क्षेत्रमा बासोबास गर्छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) ले रेडपान्डालाई सन् १९९६ देखि सङ्कटापन्न जीवको सूचीमा राखेको छ ।
विभिन्न कारणले गर्दा रेडपान्डाको सङ्ख्या दिनानुदिन घटिरहेको छ । यसको प्राकृतिक बासस्थान निरन्तर विनाश, निगालो र बाँसजन्य जङ्गल अभाव, जन्मदर कम, मृत्युदर उच्च, अत्यन्तै कमजोर शरीर, चोरीसिकारी, डढेलोलगायतका कारण रेडपान्डाका लागि चुनौती बनिरहेको छ । नेपालले पनि रेडपान्डालाई संरक्षित जीवका रूपमा सूचीकृत गरेको छ ।
सरकारको पछिल्लो सर्वेक्षणले रेडपान्डा २३ जिल्लामा पाइने यकिन भएको छ । रेडपान्डा नेटवर्कले ३५ जिल्लामा एक महिना लगाएर गरेको सर्वेक्षणले मुलुकको पश्चिमी क्षेत्रमा यसको बढी बासस्थान रहेको पहिचान भएको छ । ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, भोजपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, लमजुङ, म्याग्दी, बागलुङ, रोल्पा, रुकुम, जाजरकोट, जुम्ला, मुगु र कालीकोटमा रेडपान्डा पाइएको छ ।
रेडपान्डाको संरक्षण गर्न ताप्लेजुङमा कुकुरको बन्ध्याकरण गरिँदै आएको छ । कुकुरको आव्रmमणबाट रेडपान्डा असुरक्षित बन्दै गएपछि कुकुरको बन्ध्याकरण अभियान थालिएको हो । रेडपान्डा पाइने क्षेत्र वा बासस्थाननजिकका गाउँघरमा रहेका कुकुरबाट रेडपान्डामाथि आव्रmमण हुने गरेको छ । कुकुरको आव्रmमणका कारण रेडपान्डाको अस्तित्व थप सङ्कटमा परेपछि यो अभियान सुरु गरिएको हो । हालसम्म करिब ८५ वटा कुकुरको बन्ध्याकरण गरिएको जनाइएको छ । रेबिज रोगविरुद्ध खोप र भिटामिन पनि उपलब्ध गराइएको छ । खोप र भिटामिनले कुकुरहरू मोटाउने र सिकारमा अरुचि पैदा गर्छ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९, पाथीभरा क्षेत्रस्थित देउराली सामुदायिक वन रेडपान्डा अध्ययन तथा अनुसन्धान केन्द्र बनेको छ । हिमाली संरक्षण मञ्चको सहजीकरण तथा रेडपान्डा नेटवर्कको आर्थिक सहयोगमा सो केन्द्र निर्माण भएको मञ्चका कार्यव्रmम संयोजक रमेश राईले जानकारी दिनुभयो । जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान गर्ने उद्देश्यले यो केन्द्र बनाइएको हो ।
स्थानीय स्तरमा भएको जैविक विविधता संरक्षणलगायत वातावरणमैत्री सेवाको प्रवर्धन तथा सदुपयोग गर्न, पर्यापर्यटन व्यवसाय सञ्चालन गरी वन उपभोक्ता समूहको आयआर्जनका स्रोत स्थापित गर्न तथा महत्वपूर्ण जडीबुटी, रेडपान्डा र संरक्षित जङ्गली जनावर, पन्छी र दुर्लभ प्रजातिको प्रदर्शनी थलो बनाउन यस केन्द्रले काम गर्ने छ । पाथीभरा क्षेत्र रेडपान्डाका लागि उपयुक्त वासस्थान भएकाले केन्द्रलाई अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा पनि विकास गरिने छ ।