• ८ मंसिर २०८१, शनिबार

सर्वकालिक गायक

blog

भारतमा केएल सहगल, तलत महमुद, मोहम्मद रफी, मन्नाडे, मुकेश, शमशाद बेगम, नुरजहाँ, सुरैया, लता मङ्गेशकर, आशा भोसले आदि एक से एक प्रसिद्ध र धुरन्धर गायक र गायिका छन् । यस लहरमा गायक किशोरकुमार पनि एक हुन् । हिन्दी चलाचित्र जगत्मा सन् १९६५ देखि १९७५ सम्मको अवधिलाई गीत/सङ्गीतको स्वर्णकाल (गोल्डेन युग) भनिन्छ । यस अवधिमा विभिन्न गीतकार, सङ्गीतकार, गायक तथा गायिकाले कालजयी, अत्यन्त कर्णप्रिय र मन्त्रमुग्ध पार्ने गीत/सङ्गीत सिर्जना गरेका छन् । किशोरकुमारले पनि यसै अवधिमा सर्वकालिक गीत गाएका छन् । किशोरकुमारको जन्म भारतको मध्यप्रदेशस्थित एक सानो सहर खण्डवामा सन् १९२९ अगस्त ४ मा भएको थियो । चलचित्र दुनियाँमा उनलाई किशोरदा वा कुमार पनि भन्ने गरिएको छ । किशोरकुमार बहुप्रतिभाशाली व्यक्तित्व हुन् । उनले अभिनयका साथै गीत लेख्ने, सङ्गीत दिने, पटकथा लेख्ने, चलचित्र निर्माण गर्ने, निर्देशनलगायत काम गरे । उनको रुझान भने गायनतिरै थियो । उनले बिस्तारै अन्य विधालाई छाड्दै पनि गए । 

उनले सन् १९४८ मा प्रथम पटक ‘मरने की दुवायें क्यों मांगू...’ (जिद्दी चलचित्र) गाए । प्रारम्भिक कालमा उनले आफू नायक भएको र देवानन्द अभिनित चलचित्रमा मात्र गीत गाए । जस्तो कि ‘ईना मीना डिका...’, ‘ओ नखरेवाली...’, ‘एक लडकी भीगी भागी सी...’ ‘मैं हूं झुमझुम झुमझुम झुमरु...’, ‘दुःखी मन मेरे...’, ‘आ चल के तुझे...’, ‘बेकरार दिल तु गाये जा...’, ‘मेरे महबुब कयामत होगी...’, ‘फूलों के रंग से...’, ‘चूडी नहीं ये मेरा...’, लगायत धेरै सुमधुर गीत उनले गाए । 

किशोरकुमारले धेरै राम्रा राम्रा गीत गाए पनि सन् १९६९ मा रिलिज भएको ‘आराधना’ चलचित्रमा राजेश खन्नाका लागि गाएका गीत ‘मेरे सपनों की रानी कब आएगी तु...’, ‘रूप तेरा मस्ताना...’, (यस गीतका लागि उनले फिल्मफेयर अवार्ड प्राप्त गरे) बाट उनी लोकप्रियताको शिखरमा चढे । एक पटक शिखरमा चढेपछि आफ्नो जीवनकालभरि उनी सङ्गीतको दुनियाँमा चर्चित भई रहे । यद्यपि समकालीन अन्य गायक गायिकाले पनि राम्रा र कर्णप्रिय गीत गाई रहे । ‘ये शाम मस्तानी...’, ‘चिंगारी कोई भडके...’, ‘कुछ तो लोग कहेंगे...’, ‘खाइकें पान बनारसवाला...’, ‘जीवन से भरी तेरी आंखें...’, ‘पल पल दिल के पास...’ आदि धेरै गीत अहिले पनि लोकप्रिय छन् ।

किशोरकुमारका बारेमा एउटा अचम्म कुरा के थियो भने उनले सङ्गीतको कुनै पनि औपचारिक तालिम लिएका थिएनन् । कुनै पनि घरानासित पनि सम्बन्धित थिएनन् तर सङ्गीतकारले भने अनुसारका गीत गाउन उनी खप्पीस थिए । मन्नाडेले पनि भनेका छन्, ‘गीत गाउँदा यसरी गाउँछु कि किशोरलाई मजा चखाउँछु भन्ने लाग्छ तर जब गीत रेकर्डिङ गर्दा किशोरले गाएको सुन्छु र देख्छु, तब मलाई लाग्छ, “यो मान्छेले वास्तवमा राम्रो गाउँछ । मलाई सङ्गीतको सबै ज्ञान छ तर किशोरलाई यो ज्ञान नभए पनि यति राम्रो गाउँछ कि के भनौँ । ऊ वास्तवमा महान् गायक हो ।” 

चञ्चले, रोमान्टिक, पीडा भरिएको आदि सबै प्रकारका गीत उनले गाएका छन् । समकालीन एक/दुई जनाबाहेक सबै सङ्गीतकारले उनलाई गीत गाउन लगाएका छन् । चल्तीका एक÷दुई जनालाई छाडेर सबैजसो अभिनेताका लागि उनले आवाज दिएका छन् । उनको आवाज विशेष किसिमले देवानन्द र राजेश खन्नाका लागि बनेको भन्थे मानिसहरू ।

किशोरकुमारलाई उनको आनीबानीले गर्दा सनकी पनि भनिन्थ्यो । कसैकसैले उनलाई पागलसम्म भन्थे । यो कुरा उनलाई पनि थाहा थियो । उनले लता मङ्गेशकरलाई दिएको एक अन्तर्वार्तामा भनेका पनि छन्, “दुनियाँले मलाई पागल भन्छ, म भन्छु दुनियाँलाई पागल । मैले अलिकति पागलको अभिनय गर्दा दुनियाँ हाँस्छ भने म किन नगरूँ ?” यसका केही उदाहरण ः

एउटा चलचित्रका लागि सुटिङ गर्दा कार चलाएर क्यामराको कभरेजभन्दा बाहिर मात्र निस्कनु थियो तर उनी कार चलाएर आफ्नो घर नै पुगे ।

उनलाई अभिनयमा अभिरुचि त थिएन तर आफ्ना दाजु अशोककुमारको डर वा करले अभिनय क्षेत्रमा लागेका थिए । एक पटक उनलाई सुटिङ गर्ने इच्छा भएन । उनी कपाल मुडुलो गरेर घरै बसे । निर्माता पनि के कम ! उनलाई बिग (नक्कली कपाल) लगाउन पठाएर सुटिङ गराए । उनलाई थाहा थियो, कुनै पनि बेला किशोरले यस्तै कुनै हर्कत गर्छन् भनेर । 

पैसाको मामिलामा उनी सारै पक्का थिए । पैसा भुक्तान भएपछि मात्र उनी गीत रेकर्डिङ गर्थे । यसका लागि उनले कोड भाषा तयार गरेका थिए । उनले आफ्नो सेक्रेटरीलाई सोध्थे, “चिया पियौ ?” यहाँ चिया पिउनुको अर्थ रकम प्राप्त गर्नु भन्ने हुन्थ्यो । प्राप्त गरेको भए उनले “चिया पिइसकेँ” भन्थे । त्यसपछि उनी गाउनका लागि तयार हुन्थे तर राजेश खन्नाद्वारा निर्मित चलचित्र ‘अलग अलग’ मा गीत गाउन जम्मा एक रुपियाँ लिएका थिए । यस्तै सत्यजित रेलाई पाथार पाञ्चाली चलचित्र निर्माणका लागि पाँच हजार रुपियाँ आवश्यकता पर्दा तुरुन्तै दिए । एक जना मित्रको घरमा उनले नियमित केही रकम पठाउँथे । लता मङ्गेशकरलाई वरिष्ठ मान्दै गीत गाएबापत लताको भन्दा एक रुपियाँ कम पारिश्रमिक लिन्थे । 

चलचित्र ‘आपकी कसम’ को गीत ‘जय जय शिव शङ्कर, काँटा ना लागे ना कङ्कड...’ को गीतको रेकर्डिङको समय थियो । निर्मातालाई तनाव थियो । तनावकै बिचमा उनी रेकर्डिङ स्थलमा यताउति भौँतारिँदै मेरो ५० हजार रुपियाँ गीतका लागि खर्च भइसक्यो भन्ने वाक्य दोहो¥याइरहेका थिए । यो कुरा कसैले सङ्गीतकार राहुलदेव बर्मनलाई भनिदिएछ र बर्मनले किशोरलाई । ठट्टा गर्न माहिर किशोरलाई के चाहियो र ! उनले बर्मनलाई भनेछन् कि गीत रेकर्डिङ गर्दा मैले इसारा नगरुञ्जेल रेकर्डिङ बन्द नगर्नू । गीतको रेकर्डिङ सुरु भयो । गीतको बोल समाप्त भइसकेपछि किशोरले गीतकारले लेख्दै नलेखेका केही शब्द थपिदिए । यी शब्द निर्मातालाई व्यङ्ग्य गरिएका शब्द थिए रे !

एक पटक एउटा प्रसिद्ध पत्रिकामा श्रोताबिच मोहम्मद रफी महान् गायक हुन् कि किशोरकुमार भन्ने वादविवाद र प्रतिव्रिmयाहरू केही अङ्कमा लगातार चले । यस कुराको जानकारी किशोरकुमारले पाएपछि उनले सोही पत्रिकामार्फत मोहम्मद रफी जत्तिको गायक म होइन । उनी महान् गायक हुन् भनी यसको पटाक्षेप गरिदिएका थिए । त्यसै गरी मनोजकुमारले आफ्नो चलचित्र उपकारको ‘कसमें वादें प्यार वफा के...’ भन्ने गीत गाउनका लागि कुमारलाई प्रस्ताव गरे । कुमारले यो गीत गाउन अस्वीकार गरे । पछि यो गीत मन्नाडेले गाए । गीत असाद्धै राम्रो भयो । एक दिन यो गीत किशोरले पनि सुने । सुनिसकेपछि उनले तुरन्त मनोजकुमारलाई फोन गरेर भने, “यो गीत मन्नाडेजीले धेरै राम्रोसित गाउनुभएको छ । यति राम्ररी त मैले पनि गाउन सक्दैनथेँ होला ।” किशोरका गीतको लोकप्रियता यसबाट पनि मापन गर्न सकिन्छ कि आज अरूकाभन्दा उनैका गीत सबभन्दा बढी सङ्ख्यामा रिमिक्स भएका छन् । किशोरकुमारको निधन सन् १९८७ अक्टोबर १३ मा हृदयाघातका कारण भयो । किशोरकुमारको अन्तिम गीत आशा भोसलेका साथ गाएको ‘गुरु गुरु..’ थियो । उनले दुई हजार ९०५ वटा गीत गाए । हिन्दीबाहेक उनले बङ्गाली, मराठी, मलायालम, पन्जाबी, असमी, गुजराती, कन्नड, भोजपुरी र उर्दु भाषामा पनि गीत गाए । यी महान् गायकले आठ पटक गायनका लागि फिल्मफेयर अवार्ड पाए; जसको रेकर्ड आजसम्म कुनै गायकगायिकाले तोड्न सकेका छैनन् । 

लोकप्रियताको ग्राफमा पनि आजसम्म कसैले उनलाई उछिन्न सकेका छैनन् । ‘चलते चलते मेरे ये गीत याद रखना, कभी अलबिदा ना कहना...’ उनले गाएको यो गीतले भने जस्तै उनलाई अलबिदा भन्न सकिन्न । उनी हिन्दी गीत सुन्ने र गाउने विश्वका सबै श्रोताको हृदयमा बसेका छन् ।  

Author

पुष्पराज श्रेष्ठ