काठमाडौँ, असोज २० गते । दसैँको छेको पारेर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परदेशी–२’ को ट्रेलर सार्वजनिक गरिएको छ। असोज २६ गतेबाट प्रदर्शनमा आउने चलचित्रको आज अफिसियल ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो। नारायण रायमाझी निर्देशित चलचित्रको ट्रेलरमा अध्ययनका लागि युवाको विदेश यात्रा र त्यसले सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदनालाई देखाइएको छ।
प्रेम, बिछोड, उमङ्ग, द्वन्द्व सबै पक्षको सम्मिश्रण ट्रेलरमा पाइन्छ। गीत/सङ्गीत पक्षलाई पनि ट्रेलरमा विशेष स्पेस दिइएको छ। प्रकाश सपुतको डेब्यु र शीर्ष भूमिका रहेको चलचित्र भएका कारण ट्रेलरमा उनलाई नै बढी ‘स्क्रिन स्पेस’ दिइएको छ। अभिनेत्रीद्वय केकी अधिकारी, वर्षा शिवाकोटीसँगै अभिनेताद्वय प्रशान्त तामाङ र दिलीप रायमाझीलाई पनि ट्रेलरमा देखाइएको छ।
‘गोर्खा पल्टन’ मा लाहुरेको भूमिकामा देखिएका अभिनेता प्रशान्त तामाङ यस पटक पनि सोही भूमिकामा देखिनुभएको छ। दसैँको परिवेशलाई समेत चलचित्रले झल्काउने ट्रेलरबाट बुझ्न सकिन्छ। राजेश वंशल र निर्देशक रायमाझीको संयुक्त निर्माण रहेको चलचित्रमा प्रकाश, केकी, वर्षा, प्रशान्त र दिलीपका साथमा नीर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको समेत अभिनय छ। रमेश बिजीले चलचित्रको कथा एवं पटकथा लेख्नुभएको हो। मानकृष्ण महर्जनको छायाङ्कन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र गोविन्द राईको नृत्य निर्देशन रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गर्नुभएको छ।