काठमाडौँ, असोज २० गते । दीपक शर्माका सङ्गीतबद्ध करोड क्लबका लोक आधुनिक गीतहरू सार्वजनिक भएका छन्। शुक्रबार आयोजित समारोहमा सङ्गीतकार शर्माका बुवा हरिलाल जैसी, गायक रामकृष्ण ढकाल, गीतकार डब्बु क्षेत्री, राधिका अधिकारी र सङ्गीतकार शर्मा आफैँले यो गीतिसङ्ग्रह सार्वजनिक गर्नुभएको हो ।
गीतिसङ्ग्रहमा रहेका ११ गीतले युट्युबमा एक करोडभन्दा बढी भ्युज पाएको सङ्गीतकार शर्माले कार्यक्रममा बताउनुभयो। सङ्ग्रहमा आधुनिक, लोक, पप गीत समावेश गरिएका छन् । सञ्जीवन पराजुलीको स्वर समावेश ‘मलाई पीर’, प्रमोद खरेलको स्वरमा रहेको ‘छुट्टिएर तिमीसँग’, मेलिना राई र पदम राईको स्वरको ‘पछिपछि लागेर’, रुपेश चन्द्रको स्वर रहेको ‘बालखैमा दिल बस्यो’, सरोज ओली र मेलिना राईको स्वर रहेको ‘ए है माया’, सरोज ओली र मेलिना राईको स्वरको अर्को गीत ‘जुनी खै कुन्नि’, मेलिना राई र राजेशपायल राईको स्वरको ‘फूल फुलेको वन’, सहिमा श्रेष्ठसँगै सन्दीप न्यौपानेको स्वरको ‘ओकल दोकल’, धुव्र बिस्को र साहिमा श्रेष्ठको स्वर रहेको ‘सिल्की कपाल’, मेलिना, रचना, अस्मिता, एलिनाको स्वर रहेको ‘आयौ चेली’ जस्ता एक करोडभन्दा बढी भ्युज पाएका गीत सङ्ग्रहित छन् । जीवनमा पहिलो पटक छोराको गीतिसङ्ग्रह विमोचन गर्न पाउँदा साह्रै खुसी लागेको बुवा हरिलाल जैशीले कार्यव्रmममा बताउनुभयो । विमोचन समारोहमा उहाँ निक्कै भावुक हुनुभएको थियो ।
गायक रामकृष्ण ढकालले अहिलेको पुस्ताका सङ्गीतकारमा सबै गीत हिट बनाउने नायकका रूपमा सङ्गीतकार दीपक शर्मा परिचित रहेको बताउनुभयो । यस्तै गीतकार डब्बु क्षत्रीले बजारमा दीपक शर्माको गीत आउनासाथ दर्शकले मन पराउने गरेको बताउनुभयो ।