फडिन्द्र अधिकारी
लेखनाथ, असोज १९ गते । पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा पोखरामा शनिबारदेखि महानगरस्तरीय अन्तरक्लब टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा पोखराका आठ क्लब सहभागी हुनेछन् ।
पोखरा महानगर क्रिकेट संघको व्यवस्थापनमा हुने सो प्रतियोगितामा राइजिङ क्रिकेट क्लब, साङ्ग्रिला क्रिकेट क्लब, पोखरा क्रिकेट क्लब, अरण्यज्योति क्रिकेट क्लब, कास्की क्रिकेट क्लब, आरके भिक्टोरी क्रिकेट क्लब, आदर्श युवा क्लब र लेकसाइड क्रिकेट क्लब सहभागी हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
प्रतियोगितामा विजेता, उपविजेतासहित विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीले पुरस्कार प्राप्त गर्नेछन् । कार्यक्रममा पोखरा महानगर खेलकुद विकास समिति अध्यक्ष दीपकबहादुर गोदारले नेपालमा क्रिकेटको लोकप्रियता निकै बढेको बताउनुभयो । पोखरामा पनि क्रिकेट गतिविधि बढाउन प्रतियोगिता आयोजना गरिएको उहाँको भनाइ छ ।
प्रादेशिक क्रिकेट संघ गण्डकी अध्यक्ष सञ्जयकान्त सिग्देलले आगामी दिनमा क्रिकेटको. विकासमा महानगरसँग हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
पोखरा महानगर क्रिकेट संघ अध्यक्ष वीरेन्द्र पुनले महानगरले यो प्रतियोगिता सञ्चालनका लागि दुई लाख आर्थिक सहयोग गरेको जानकारी दिनुभयो । संघले आगामी दिनमा क्रिकेट विकासका लागि ग्रासरुटदेखि नै गतिविधि गर्ने पुनको भनाइ छ ।