• ९ मंसिर २०८१, आइतबार

क्यानडामा नेपथ्यको पहिलो कन्सर्ट

blog

काठमाडौँ, असोज १८ गते । सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका विभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थितिबिच क्यानडाको पहिलो नेपथ्य कन्सर्ट भव्यताका साथ सम्पन्न भएको छ ।

आइतबार बेलुकी सो सुरु हुनुअगाडि त्यसैको निरन्तरतामा हलवरपर लामबद्ध दर्शक देखिए । निर्धारित समय अनुसार बेलुकी ७ बजे प्यालेस थिएटरमा नेपथ्यको पहिलो भेटस्वरूप ‘सा कर्णाली’ म्युजिक भिडियो गुञ्जिन सुरु भयो । दर्शकबाट चर्को स्वागतकै बिच मञ्चमा नेपथ्य टोली देखा परेपछि भने त्यस साँझको पहिलो प्रस्तुति ‘कोशीको पानी यो जिन्दगानी’ सुनाइएको थियो । एक दशकअघि पूर्वी नेपालको पैदलयात्रा गर्दा गायक अमृत गुरुङले सङ्खुवासभाको चैनपुरका डिल्ले दमाईबाट यो गीत सङ्कलन गर्नुभएको थियो । 

कार्यक्रमलाई नेपथ्यकै चर्चित गीतहरू क्रमशः ‘भेँडाको ऊन जस्तो’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’ र ‘खान्नँ म त लामपाते सुरती’ ले निरन्तरता दिएको थियो । गायक अमृतले त्यसपछि पनि ‘चरी म¥यो’, ‘जोमसोमे बजार’, ‘शिरफूल’ र लाहुरेहरूले ल्याएको ‘नैनाताल’ जस्ता गीत सुनाउनुभयो । कन्सर्टमा अमृतलाई किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउनुभएको थियो ।