• १३ साउन २०८१, आइतबार

वास्तविक कृषक पहिचान गरिदिन आग्रह

blog

कार्यक्रम सार्वजनिकीकरणमा सहभागीहरु । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास, असोज १६ गते । 
रेसुङ्गा नगरपालिका–३ का बाख्रापालक कृषक नवीन बस्नेतले वास्तविक कृषक पहिचान गरी किसान सूचीकरण गर्न आग्रह गर्नुभएको छ ।

वास्तविक कृषकले भन्दा पनि झोले कृषकहरूले अनुदान लिने भएकाले वास्तविक किसानहरू सधैँ मर्कामा परेको भन्दै वास्तविक किसान पहिचान गरेर अनुदान दिनुपर्ने उहाँको भनाइ छ  । भेटेरिनरी  अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गुल्मीले चालु आर्थिक वर्षको कार्यक्रम सार्वजनिकीकरणमा स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकार मातहतका कार्यालयहरूले वास्तविक किसान सूचीकरण गरेर मात्रै अनुदान दिनुपर्ने बताउनुभयो ।

सत्यवती गाउँपालिका–४ का डिल्ली भट्टराईले युवाहरूलाई स्वदेशमा नै टिकाई राख्ने गरी कार्यक्रम बनाउन र सोही अनुसारका कार्यक्रम ल्याउन आग्रह गर्नुभयो । पछिल्लो समयमा युवाहरू बिदेसिने क्रम बढ्दो भएकाले त्यसलाई रोक्न र युवाहरूलाई स्वदेशमानै कृषि र पशुपालनको माध्यमबाट दीर्घकालीन रूपमा टिकाई राख्नुपर्नेमा जोड दिनुभयो ।

कृषक डिलप्रसाद पन्थीले उत्पादनमा आधारित अनुदान वितरण गरेमा मात्र वास्तविक किसानलाई राहत मिल्ने बताउनुभयो । उत्पादनमा आधारित अनुदान वितरण नभएमा वास्तविक किसान मर्कामै पर्ने र झोले किसानलाई राहत मिल्ने उहाँको भनाइ छ । यसका साथै कार्यालयले अनुगमनलाई प्रभावकारी बनाएमा पनि झोले र राजनीतिक आडमा अनुदान लिनेको केही मात्रामा भए पनि कमी हुने सहभागीहरूले बताएका छन् ।

रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले पछिल्लो समयमा सबै क्षेत्रमा निराशा छाएको भन्दै निराशालाई आशामा परिणत गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले युवाहरूलाई कृषि र पशुपालनको माध्यमबाट व्यवसायीक रूपमा स्वदेशमानै टिकाई राख्ने गरी तीन वटै सरकारहरूले कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । नगरपालिकाले व्यवसायीक रूपमा कृषि र पशुपालन गर्नेहरूका लागि सीप र अनुदान दिने जस्ता कार्यक्रमहरू अगाडि बढाएको बताउनुभयो ।

जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्ण खत्रीले कार्यालयहरूले दैनिक कार्यातालिका बनाएर किसानका समस्याहरू समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य डिल्लीराज भुसालले युवाहरूलाई कृषि र पशुपालनका साथै पर्यटनसङ जोडेर लैजानुपर्नेमा जोड दिनुभयो । प्रदेश सभामा आफूले यस विषयलाई प्राथमिकता साथ आवाज उठाउने र बजेट विनियोजनमा सहयोग गर्ने बताउनुभयो ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमकान्त पाण्डेयले यस आर्थिक वर्षमा चार करोड ९६ लाख ५८ हजार रुपियाँको कार्यक्रम सार्वजनिक गर्नुभएको थियो । कार्यक्रममा खाद्य तथा पोषण सुरक्षा, स्मार्ट कृषि गाउँ, मत्स्य विकास तथा प्रवर्द्धन, पशुपन्छी स्रोत प्रविधि सेवा, पशुस्वास्थ्य नियमन र पशुसेवा विभाग सशर्त अनुदान जस्ता कार्यक्रमहरू रहेको पाण्डेयले जानकारी दिनुभयो ।