• १३ साउन २०८१, आइतबार

पदमार्ग सङ्कटमा

सडक सञ्जालले पर्यटकलाई सहज

blog

यदुप्रसाद भट्ट 

मनाङ, असोज १३ गते । लमजुङको बेँसीसहरबाट सुरु हुने अन्नपूर्ण पदमार्ग (अन्नपूर्ण सर्किट) को यात्रा मनाङ हुँदै विश्वकै अग्लो हिमाली क्षेत्र थोराङ्ला भन्ज्याङ (५,४१६ मिटर) पार हुँदै मुस्ताङको मुक्तिनाथ, जोमसोम र म्याग्दीबाट पोखरासम्म पुगेर टुङ्गिन्छ। पहिले २१ दिन लाग्ने पदमार्ग अहिले एक हप्तादेखि १० दिनमा नै पूरा गर्न सकिन्छ। यसको प्रमुख कारण सडक निर्माण हो। 

पदमार्गसम्मै सडक पुगेपछि कैयौँ पदमार्ग भत्किएका छन्। कतिपय स्थानमा पदमार्ग नै मेटिएका छन्। पहाडी र उच्च हिमाली भेगको यातायातलाई सहज बनाउन निर्माण गरिएका सडकको मारमा यहाँका भरिया मात्रै होइन, स्थानीय उद्यमी र पर्यटन व्यवसायी पनि परिरहेका छन्। मनाङमा २०५० सालसम्म होटल खुलेका थिएनन् । न त चक्रीय अन्नपूर्ण पदमार्गको प्रचारप्रसार थियो। सन् १९९२ मा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) स्थापना भएपछि यसले संरक्षण र पर्यटन क्षेत्रको काम गर्न थाल्यो।

सडक सञ्जालको अभावमा पर्यटक र स्थानीय कतै कतै डोरी र भर्‍याङमार्फत हिँड्थे। पर्यटन व्यवस्थापन समिति मनाङका अध्यक्ष विनोद गुरुङ यही बेला धेरै भरियाले रोजगारी पाएको बताउनुहुन्छ। अझै पनि सवारी नचलेको केही ठाउँमा पर्यटकका व्यक्तिगत सामान बोक्नलाई कम मात्रामा भरिया प्रयोग गरिन्छ। उहाँले भन्नुभयो, “गाडी चलेपछि खच्चड र भरिया विस्थापित हुने क्रममा छ, अहिले खच्चड र भरिया सडक सञ्जाल नै नजोडिएको नार्पाभूमिमा मात्रै प्रयोग हुन्छ।” 

२०६९ सालमा मनाङ सदरमुकाम चामे सडक सञ्जालमा जोडिएको दुई वर्षभित्रै माथिल्लो मनाङसम्म मोटर चल्यो। चामेबाट माथिल्लो मनाङ गाउँसम्म मोटर चल्न थालेपछि पहिले भरिया लिएर बाटोमा क्याम्पिङ गर्दै पदमार्गमा जाने पर्यटक अहिले सिधै होटलमा बास बस्न आइपुग्छन्। होटलमा बस्न थालेपछि खानपान र भाँडाकुँडा बोक्नु पर्दैन। मनाङ ङिस्याङ गाउँपालिका–१, पिसाङका ८० वर्षीय याङदुङ गुरुङले भन्नुभयो, “पहिले जस्तो छैन अहिले, गाडी चल्यो, मान्छे र सामान सँगसँगै गाडीमै आइपुग्छ, अहिले भरिया खासै हुँदैनन्। भरियाबिनै काठमाडौँ–पोखराबाट बेँसीसहर हुँदै सिधै माथिल्लो मनाङ पुग्छन् ।” 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका अनुसार सन् २०१३ अघिका वर्षमा यस पदमार्गमा बर्सेनि १९ हजारको हाराहारीमा विदेशी पर्यटक आउने गर्दथे। बेँसीसहरसम्म मोटर चल्ने भएकाले पर्यटक बेँसीसहर बास बस्न आइपुग्थे। बेँसीसहरबाटै भरियामार्फत सामग्री लैजाने गर्दथे। 

जिल्ला समन्वय समिति मनाङका प्रमुख चीनबहादुर घलेले दुई जना बराबर एक जना भरियाले सामान बोक्ने गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “हिँडेरै आउने पर्यटकसँगै उनीहरूका भारी बोक्ने भरियाको राम्रो कमाइ हुन्थ्यो, नेपाली भनेर मनाङीले भरिया सुतेको पैसा लिँदैनथे। अचेल त पर्यटक गाडीमा आउँछन्, त्यसकारण भरिया नै देखिँदैनन्।” अहिले सवारीसाधान चलेपछि काठमाडौँ–पोखराबाट पर्यटक सिधै मनाङ आइपुग्छन्। खाङ्सारदेखि तिलिचो र माथिल्लो मनाङदेखि थोराङ्ला भन्ज्याङ हुँदै मुक्तिनाथसम्म तीन/चार दिनका लागि चाहिने भरिया बेँसीसहरबाटै लैजानुपर्ने हुन्थ्यो । 

गाडी गुड्न थालेपछि यहाँको ग्रामीण अर्थतन्त्र फेरिएको छ। धान, मकै र कोदो खेती नहुने मनाङमा आलु र फापर राम्रो उत्पादन हुन्छ। मनाङको आलु धेरै जसो मनाङमै खपत हुन्छ। सडक सञ्जाल पुगेपछि यहाँको आलु देशका प्रख्यात सहरमा रहेका होटलमा खपत हुने गरेको पाइन्छ। पहिलेको तुलनामा खेती गर्न कम भए पनि माग भने बढेको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले जानकारी दिनुभयो। उहाँले मनाङमा उत्पादित आलु, फापर बेँसीसहर हुँदै पोखरा–काठमाडौँसम्म पुग्ने गरे पनि बजारसम्म सामग्री पुर्‍याउन भने सहज नभएको बताउनुभयो । 

एक समय बेँसीसहरबाट हिँडेर दुई दिनमा पुगिने मनाङको धारापानीसम्म अचेल जिपमा चार घण्टामै पुगिन्छ। धारापानीदेखि तिल्चे (मनाङ) सम्म पनि यातायात चल्छ तर दुधखोलामा पुल नहुँदा वर्षायाममा यातायात ठप्प हुन्छ। त्यसपछि भीमथाङ, लार्के (मनाङ–गोरखा) सिमाना हुँदै सामागाउँ एक सातामा पुगिन्छ। मनास्लु पदमार्गको यस मार्ग अहिले खच्चडमार्फत सामग्री ढुवानी गर्न सहज र छिटो हुन्छ। तिलिचो जान आउनेका लागि खाङ्सारसम्म जिपमार्फत एकै दिनमा पुग्न सकिन्छ। खाङ्सारदेखि तिलिचो बेस क्याम्प एक दिनमै पुगिन्छ। त्यहाँबाट दुई दिनको यात्रामा थोराङ्ला बेस क्याम्प पुगिन्छ ।