अदम्य साहस र दृढ सङ्कल्प भएपछि मानिसले जस्तोसुकै कठिन कार्य पनि गर्न सक्छ । पोलियोले हिँडडुल गर्न नसक्ने एक बालिकाले जब “विश्वकै छिटो दौडिने खेलाडी बन्न चाहान्छु” भनेको सुन्दा तपाईं छक्क पर्नुहुन्छ होला । ती चार वर्षकी बालिका, जसलाई पोलियो भएर हिँडडुल गर्न ब्रेस लगाउनु परेको थियो, तिनै बालिकाको सपना साकार बनाउने कुरा यस्ता छन् ।
उनी थिइन् विल्मा जि. रुडोल्फा । अमेरिकाको टेनेसी राज्यको एक गरिब परिवारमा सन् १९४० जुन २३ मा उनी जन्मिएकी थिइन् । उनी सानो छँदा दुई पटक निमोनिया र कालाजारले थला परिन् । त्यसपछि पोलियोले खुट्टा नचल्ने भयो । डाक्टरले खुट्टामा ब्रेस लगाइदिए । ब्रेस लगाएपछि सामान्य हिँडडुल गर्न मात्र सकिन् । डाक्टरले उनलाई खेलकुदमा कहिल्यै सक्रिय हुन नसक्ने भने ।
डाक्टरको कुरा सुनेर उनी खिन्न भइन् र उनले आमालाई भनिन्, “आमा म संसारकै छिटो दौडिने खेलाडी बन्न चाहन्छु ।” आमाले छोरीको इच्छालाई ढाडस दिँदै भनिन्, “ईश्वरको कृपा तिमीमाथि पक्कै हुने छ ।”
त्यसपछि महिना, वर्षहरू बिते । फिजियोथेरापिस्ट र चिकित्सकको प्रयासबाट ११ वर्षको उमेरमा उनले खुट्टामा लगाएको ब्रेस निकालेर थन्क्याइदिइन् । अनि अब उनी सामान्य दौडको तालिम लिन थालिन् ।
क्रमशः स्कुलका प्रतियोगितामा पुरस्कार जित्ने भइन् । उनी धेरै छिटो दौडिन्थिन् । टेनेसी विश्वविद्यालयमा पढ्दा उनको भेट एथलेटिकका प्रशिक्षक एड टेम्पलसँग भयो । उनले एड टेम्पललाई आफ्नो इच्छा सुनाउँदै भनिन्, “सर म संसारको तेज दौडिने धाविका बन्न चाहन्छु । के तपाईं मलाई प्रशिक्षण दिएर सहयोग गर्नु हुन्छ ।” प्रशिक्षक टेम्पलले विल्माको इच्छा पूरा गर्न प्रयास गर्नेछु भने ।
विल्मा विश्वविद्यालयका सबै दौड प्रतियोगितामा प्रथम हुन्थिन् । उनको दौडको गति अध्ययन गरेर प्रशिक्षक टेम्पलले विल्मालाई मेलबर्न ओलम्पिकको छनोट प्रतियोगितामा पठाए । त्यहाँ विल्मा छनोट भइन् । सन् १९५६ मा मेलबर्न ओलम्पिकको सय मिटर दौडमा उनले पदक जितिनन् तर ४०० गुणा १०० मिटर रिले दौडमा कांस्य पदक जितिन् ।
त्यसपछि रोम ओलम्पिकमा उनी पुनः अमेरिकी टिमबाट छनोट भइन् । १९६० को रोम ओलम्पिकमा विल्माले १०० मिटर दौडको नयाँ ११ः०० सेकेन्ड कीर्तिमान बनाइन् । उनले सन् १९२८ देखि १९५६ सम्मका सबै ओलम्पिक कीर्तिमान भङ्ग गरेकी थिइन् । उनी विश्वकै सबभन्दा छिटो धाविका बनिन् ।
त्यसपछि सोही ओलम्पिकको २०० मिटर दौडमा पनि उनी प्रथम भइन् । त्यसै गरी ४०० मिटर रिले दौडमा पनि प्रथम भइन् । यसरी एउटै ओलम्पिक एथलेटिक्स प्रतियोगितामा तीन वटा स्वर्ण पदक जित्ने प्रथम महिला धाविका भइन् ।
उनको अदम्य इच्छा, साहस, धैर्यले गर्दा उनी ओलम्पिककी क्विन भइन् ।
ओलम्पिकमा तीन वटा स्वर्ण पदक जितेर स्वदेश अमेरिका फर्किंदा उनको भव्य स्वागत गरियो । बाटोका दुवै किनारामा हातमा अमेरिकी झन्डा बोकेको हजारौँ जनताले “विल्मा...मा” भन्दै स्वागत गरेका थिए ।उनी युरोप भ्रमणमा गएका बेला त्यहाँ उनलाई सम्मान गरियो ।
उनको सम्मान गर्दै नेसनल ट्रायक एन्ड फिल्ड, युएस ओलम्पिक र अन्तर्राष्ट्रिय स्पोर्ट्स संस्थाबाट सन् १९७४, १९८० र १९८३ मा ‘हल अफ फेम’ प्रदान गरियो । उनको सङ्घर्षमय जीवन कथा समेटिएर ‘विल्मा’ नामक पुस्तक पनि लेखियो । उनको नामको हुलाक टिकट पनि प्रकाशन गरिएको छ । त्यसै गरी उनको दौडिरहेको सालिक पनि निर्माण गरिएको छ । उनी अन्य थुप्रै अवार्डबाट सम्मानित भएकी थिइन् । सिकागो युथ फाउन्डेसनको सहायक निर्देशक पनि भइन् । उनले महिलालाई खेलकुदमा लागेर मान, सम्मान कमाउन प्रेरित गरिरहिन् ।
ओलम्पिक इतिहासमा उनी एक रोल मोडल हुन् । अदम्य साहसकी धनी विल्माको मृत्यु सन् १९९४ मा ५४ वर्षको उमेरमा ब्रेन क्यान्सरबाट भयो ।