• १३ साउन २०८१, आइतबार

पर्यटन बोर्डलाई सक्रिय बनाएर पर्यटन विकास गर्छौँ : मन्त्री किराती

blog

पर्यटन दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती । तस्बिर : गोरखापत्र

काठमाडौं, असोज १० गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन बोर्डभित्र खुम्लेकिरा रहेको टिप्पणी गर्नुभएको छ । बुधबार पर्यटन दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले पर्यटन बोर्डभित्र खुम्लेकिरा भएका कारण पर्यटन क्षेत्र चलायमान बन्न नसकेको बताउनुभएको हो । उहाँले पर्यटन बोर्डलाई सक्रिय बनाएर पर्यटन प्रवर्द्धनको निम्ति अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

मन्त्री किरातीले भन्नुभयो, ‘‘हाम्रो देशको आकाशको कालोसूचिलाई हटाएर पर्यटकलाई विश्वसनीयता बनाउनको निम्ति केही कदमहरू हामीले उठाइसकेका छौँ  । हामी छिट्टै परिणाममा पुग्नेछौँ । हामीले हवाई क्षेत्रमा अझै नीतिगत र संरचनागत सुधार गर्दै निगमलाई अघि बढाउने कोसिस गरिरहेका छौँ । निगमद्वारा हामी जहाज खरिद गर्ने अन्तिम चरणतिर छौँ । पर्यटनको निम्ति जहाज हो, जुन देश समुन्द्रसँग जोडिएको छैन, त्यो देशको जहाज मेरुदण्ड हो । हामीले ताप्लेजुङमा फलेको किभीलाई हाम्रो जहाजले विराटनगरमा झारेर विराटनगरबाट काठमाडौँ ट्रान्जिट गरेर दुबई किन नपठाउने ? हामीले बजारमा व्यापक रूपमा देखिएको विसङ्गतिमाथि हस्तक्षेप गर्ने उद्देश्यले धेरै भन्दा धेरै पर्यटक ल्याउने उद्देश्यले जहाज खरिदको प्रक्रियामा अघि बढेका छौँ  ।’’

मन्त्री किरातीले कालोसूचीलाई हटाएर पर्यटकलाई विश्वसनीयता बनाउनको निम्ति काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले हवाई क्षेत्रमा अझै नीतिगत र संरचनागत सुधार गर्दै निगमलाई अघि बढाउने कोसिस भइरहेको जानकारी दिनुभयो । उहाँले निगमद्वारा जहाज खरिद गर्ने अन्तिम चरणतिर रहेको पनि बताउनुभयो । उहाँले धेरैभन्दा धेरै पर्यटक ल्याउने उद्देश्यले जहाज खरिदको प्रक्रिया अघि बढाएको भन्दै जहाज खरिदको विषयमा नकारात्मक ढङ्गले टिप्पणी गर्नेहरू देशभक्त हुन नसक्ने जिकिर गर्नुभयो ।

मन्त्री किरातीले भन्नुभयो, ‘‘जसले जहाज खरिदको विषयमा पनि नकारात्मक ढङ्गले टिप्पणी गर्छ, तर हामी पारदर्शी ढङ्गले किन्नेछौँ । त्यहाँ कुनै भ्रष्टाचारको जोडिने छैन । देशभक्त हुन के ठिक र के बेठिक हो भन्ने छुटाउनुपर्ने बेला भएको छ । हामीले हाम्रो देशको ऐनलाई सच्याउन आवश्यक छ । यो पनि हाम्रो चुनौती हो । हामीले अहिलेसम्म हाम्रो देशमा संस्कृति ऐन बनाउन सकेका छैनौँ । हामीले ३५ सालको पर्यटन ऐन बोकेर बसेका छौँ । पर्यटन बोर्डलाई अब सक्रिय बनाएर लैजानु छ । हुनत त्यहाँभित्र खुम्लेकिराहरु छन् । हामी पर्यटन बोर्डलाई सक्रिय बनाएर पर्यटन प्रवर्द्धनको निम्ति अघि बढ्नेछौँ ।’’ पर्यटन ऐन नहुँदा पर्यटन क्षेत्रमा समस्या थपिएको बताउनुभयो ।