• १३ साउन २०८१, आइतबार

पर्यटन विकासको प्रमुख चुनौती सुरक्षा

blog

जातजातिका भेषभुषासहित कावासोतीका विभिन्न ठाउँमा गरिएको प्रभातफेरी । तस्बिर : मीना कँडेल

मीना कंडेल

कावासोती, असोज १० गते । नवलपुरको कावासोती नगरपालिकामा ४४ औँ विश्व पर्यटन दिवस, ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ प्रभातफेरी गरिएको छ । 

पर्यटन सङ्घ संस्थाको उपस्थितिमा विभिन्न समुदायको भेषभूषा र झाँकीसहित पञ्चेबाजा, धिमेबाजा, र सांस्कृतिक नाचसँगै प्रभातफेरी गरेको हो । कावासोती नगरपालिकाबाट सुरु गरिएको प्रभातफेरी कावासोतीको सभापति चोक, इन्द्र चोक, नयाँबजार, थानाचोक, फलफूल चोक र बिपी चोक हुँदै विभिन्न ठाउँको परिक्रममा गरी पुन कावासोती नगरपालिकामा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

गण्डकी प्रदेश सभा सदस्य रोशनबहादुर गाहाले पर्यटन समृद्धिको प्रमुख चुनौती सुरक्षा रहेको बताउनुभयो । जुनसुकै पर्यटकीय क्षेत्रमा सुरक्षाकर्मीले दिने सुरक्षाभन्दा पनि महत्त्वपूर्ण त्यहाँको वातावरण रहने हुनाले आन्तरिक तथा बाह्य पर्यटकका लागि सौहार्दपूर्ण वातावरणको सिर्जना गरी  पर्यटकलाई सहज बनाउन हामी सबैको दायित्व रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “नवलपुरका धार्मिक पर्यटकीय गन्तव्यलाई पर्यटन बजारमा उपयोग गर्न सकिएमा त्यसले समग्र पर्यटनमा महत्त्वपूर्ण योगदान गर्ने पुष्टि भएको छ ।”

उहाँले नवलपुर जिल्ला पहाड तराई र भित्री मधेस समेत रहेको भन्दै जिल्लाको पहाडी क्षेत्रमा लालीगुराँस, तराई क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्ज समेत पर्ने र निकुञ्जमा वन्यजन्तु समेत देख्न पाइने भएकाले नवलपुर जिल्ला पर्यटकीय सम्भावना रहेको जिल्लाको रूपमा रहेको बताउनुभयो । पर्यटन प्रवर्द्धनका केन्द्रीय अध्यक्ष एवम् अमलटारी सामुदायिक होमस्टेका सञ्चालक प्रेमशंकर मर्दनियाले पछिल्लो समय नवलपुर जिल्लामा होमस्टेको स्थापना र वन्यजन्तु अवलोकन, त्रिवेणीमा रहेको गजेन्द्रमोक्षधाम, दाउन्ने, मौलाकालीकाजस्ता धार्मिक क्षेत्रले समेत पर्यटक आउन सक्ने भन्दै सबैले पर्यटन विकासमा हातेमालो गर्नुपर्ने बताउनुभयो । 

नवलपुर क्षेत्रमा धार्मिक रूपमा विशेष महत्त्व राख्ने स्थलहरू प्रवर्धनको पर्खाइमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताउनुभयो ।  “यस आसपासका त्रिवेणीधाम, गजेन्द्रमोक्षाश्रम धाम, वाल्मीकि आश्रम, कैलाश आश्रम आदि प्रचार–प्रसारकै अभावमा ओझेलमा परेका छन्” उहाँले भन्नुभयो, “धार्मिक पर्यटकीय क्षेत्रमा पूर्वाधार विकासका साथै यिनीहरूको प्रवर्द्धनमा राज्यस्तरबाटै चासो दिनुपर्छ ।”

नवलपुर क्षेत्रमा रहेको ऐतिहासिक महत्वका गजेन्द्रमोक्षधाम, कैलाश आश्रम, वाल्मीकि आश्रम, मौला कालिका, विभिन्न होमस्टेलगायतलाई समेटेर यहाँको धार्मिक पर्यटकीय विकास गर्न सकिने हुँदा नगरपालिका सदैव सहयोगका लागि अगाडि रहेको कावासोती नगरप्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो ।

पर्यटकीय क्षेत्रको विकासको सम्भावना बढी रहेको जिल्ला नवलपुर भएकाले पर्यापर्यटन क्षेत्रको विकासका लागि मुख्य रूपमा सुरक्षा र यातायातको चुनौती रहेको कावासोती शाखा अधिकृत राजन पाण्डेले बताउनुभयो । पर्यटनप्रतिको दृष्टिकोण र सेवाको गुणस्तर र मापदण्ड नहुँदा पर्यटन विकासका समस्या हुने गरेको उहाँको भनाइ छ । 


धार्मिक एवम् पर्यटकीयस्थलका रूपमा परिचित गराउन र पर्यटनकै माध्यमबाट रोजगार सिर्जना गर्न सकिने हुँदा यसतर्फ सबै लाग्नुपर्नेमा जोड दिनुभयो । नवलपुर क्षेत्र धेरै सम्भावना प्रवर्द्धनको पर्खाइमा रहेको होटेल व्यवसायी सङ्घ नवलपुरका अध्यक्ष सन्तोष राना मगरले बताउनुभयो । 

यहाँका पर्यटकीय सम्भावनालाई उजागर गर्दै पोखरालगायतका पर्यटकीयस्थलसँगै आफूहरू पर्यटकीय साझेदारीका लागि आतुर भएको उहाँको भनाइ छ । विश्व पर्यटन दिवसका अवसरमा कावासोती नगरपालिकाको पर्यटन इकाई कार्यालयको उद्घाटन समेत गरिएको छ । सो अवसरमा विदेशी पर्यटकलाई स्वागत गरिएको थियो ।