केदार तिमल्सिना
काभ्रेपलाञ्चोक, असोज ९ गते । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकाले सङ्घीय ससर्त अनुदान अन्तर्गत नियुक्त भएका शिक्षकलाई अवकाश दिने भएको छ ।
आइतबार भएको नगर शिक्षा समितिको बैठकले स्रोत अभावका कारण सङ्घीय ससर्त अनुदान अन्तर्गत नियुक्त भएका ११ जना शिक्षकलाई तलब, भत्ता उपलब्ध गराउन नसक्ने भन्दै सोमबारदेखि विद्यालयमा हाजिर नगराउन निर्देशन दिएको हो ।
नगरपालिकाले आइतबार सङ्घीय ससर्त अनुदान अन्तर्गत कुनै पनि दरबन्दी नभएका सामुदायिक विद्यालयमा गणित, विज्ञान तथा अङ्ग्रेजी विषयका शिक्षक व्यवस्थापनका लागि शिक्षण सहयोग अनुदान उपलब्ध गराउँदै आएको थियो ।
“सङ्घीय सरकार शिक्षा तथा मानव स्रोत विभागबाट चालु आर्थिक वर्षका लागि शिक्षण सहयोग अनुदान रकम प्राप्त नभएको हुँदा उक्त शीर्षकबाट तलब, भत्ता पाउने गरी नियुक्त भएका शिक्षकलाई स्रोत अभावका कारण सोमबारदेखि सेवा निरन्तरता नदिने नगर शिक्षा समितिको आइतबारको बैठकले निर्णय गरेको छ,” नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंद्वारा हस्ताक्षरित निर्देशनमा उल्लेख छ ।
नगरपालिकाले शिक्षण सहयोग अनुदान अन्तर्गत रहेका शिक्षकलाई अवकाश गरी कार्यालयमा जानकारी गराउन निर्देशन दिएको हो । नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख शिवराज त्रिपाठीले सङ्घीय सरकारले शिक्षण सहयोग अनुदान रकम कटौती गरेका कारण उक्त शीर्षक अन्तर्गत पठनपाठन गराउँदै आउनुभएका शिक्षकको रकम नपठाएका कारण उहाँहरूलाई सेवाबाट हटाउनुपर्ने अवस्था आएको बताउनुभयो ।
उहाँले गत वर्ष सङ्घीय सरकारले शिक्षण सहयोग अनुदानका लागि अघिल्ला वर्षभन्दा आधा रकम उपलब्ध गराएपछि नगरपालिकाले आफ्नो स्रोतबाट व्यवस्थापन गरे पनि यस वर्ष त्यो अवस्था नरहेको जानकारी दिनुभयो । उहाँले नगरपालिकाभित्र रहेका प्रभात आधारभूत विद्यालय, भक्तेश्वर मावि, शुभ चामुन्डा मावि, श्वेत वराह मावि, चव्रmज्योति मावि, काभ्रे बहिरा, जागृती आधारभूत, देवीटार आवि, रत्नचुण्डेश्वर आवि गरी नौ विद्यालयका ११ जना शिक्षकलाई दिनुपर्ने तलब, भत्ताबापतको अनुदान रकम सरकारबाट उपलब्ध नभएका कारण उहाँहरूलाई अवकाश दिनुपर्ने अवस्था रहेको बताउनुभयो ।
नगरपालिकाभित्रका १२ जना शिक्षक सङ्घीय ससर्त अनुदान अन्तर्गत तलब, भत्ता खाँदै आएकोमा चालु आर्थिक वर्षका लागि काभ्रे बहिरा माविका एक जना शिक्षकलाई मात्रै अनुदान रकम उपलब्ध गराएको शाखा प्रमुख शिवराज त्रिपाठीले जानकारी दिनुभयो । शिक्षण सहयोग अनुदानमार्फत गणित विषयका दुई, विज्ञान विषयका पाँच र अङ्ग्रेजी विषयका चार शिक्षक रहनुभएको छ ।
श्वेत वराह माविका प्रधानाध्यापक जीवन भण्डारीले नगरपालिकाले सङ्घीय ससर्त अनुदानमा काम गरिरहेका शिक्षकलाई हाजिर नगराउने निर्देशन दिएसँगै विद्यालयको पठनपाठनमा समस्या देखिने बताउनुभयो । “उक्त अनुदानबाट अनिवार्य अङ्ग्रेजी विषयको शिक्षकले अध्यापन गराउँदै आउनुभएको छ, उहाँलाई निकाल्ने बित्तिकै विद्यार्थीको पढाइमा असर गर्नुका साथै उक्त विषय अध्ययन गराउने शिक्षक नै नहुने अवस्था आउने भएकाले विद्यालयको पठनपाठनमा विकराल समस्या देखिन्छ,” प्रधानाध्यापक भण्डारीले भन्नुभयो ।
शिक्षण सहयोग अनुदानमार्फत अध्यापन गराउँदै आएका शिक्षकलाई हटाउने निर्देशन आएसँगै सोमबार नै नगर प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई भेटेर उक्त निर्णय फिर्ता लिन अनुरोध गरेको प्रधानाध्यापक भण्डारीले बताउनुभयो ।
नगर प्रमुख शान्तिरत्न शाक्यले मङ्गलबार नगरपालिकाको बोर्ड बैठक बस्न लागेकाले शिक्षकको समस्याको विषयमा बैठकमा कुरा राख्ने प्रतिबद्धता जनाएको प्रधानाध्यापक भण्डारीले बताउनुभयो । उहाँले सबै विद्यालयमा अनिवार्य गणित, विज्ञान र अङ्ग्रेजी शिक्षक उक्त अनुदानको रकमबाट काम गर्दै आएकाले उहाँहरूलाई हटाउँदा ती विद्यालयको पठनपाठनमा समस्या हुने बताउनुभयो ।
आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय ससर्त अनुदान अन्तर्गत बनेपा नगरपालिकामा आधारभूत तहका लागि वैदेशिक सहायता र नेपाल सरकारको अनुदानबापत दस लाख १५ हजार तथा मावि तहका लागि ३४ लाख ५५ हजार रुपियाँ रकम आएको थियो । यस्तै गत आव २०७९/८० का लागि आधारभूत तहका लागि वैदेशिक सहायता र नेपाल सरकारमार्फत सात लाख २५ हजार र मावि तहका लागि नौ लाख १२ हजार रुपियाँ उपलब्ध गराएको थियो ।