• ९ मंसिर २०८१, आइतबार

शिक्षकको आन्दोलन फिर्ता हुन्छ : सञ्चारमन्त्री शर्मा

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा । फाइल तस्बिर

काठमाडौं, असोज ५ गते।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शिक्षक महासंघको आन्दोलन भोलिदेखि फिर्ता हुने बताउनुभएको छ। 

सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै मन्त्री शर्माले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित शिक्षक तथा प्रतिनिधिबीच छ, सात वटा बुँदामा सहमति भएको जानकारी दिनुहुँदै यस्तो बताउनुभएको हो।

मन्त्री शर्माले भन्नुभयो, “आज शिक्षक साथी र प्रतिनिधिसँग उपप्रधान र गृहमन्त्रीसहितको छलफलमा मूलभूतरुपमा जे जे कुरा उठाउनुभएको छ। शिक्षा विधेयक संसदमा गइसकेको छ। संसदीय सर्वोच्चता मानेर जाने कुरा हुन्छ। संसदको सबै काम, प्रक्रिया मान्दै शिक्षकले उठाएका मागमा छलफल गरेर निष्कर्षमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त भएको छ। छ, सात वटा बुँदामा सहमति भएको छ।” 

उहाँले सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिको अन्तिम ड्राफ्ट तयारी भइरहेको जानकारी दिनुभयो। योसँगै भोलिदेखि आन्दोलन फिर्ता हुने उहाँको भनाइ छ।

उहाँले भन्नुभयो, “सहमतिको फाइनल ड्राफ्ट तयार हुँदैछ। आन्दोलन फिर्ता हुन्छ। वार्ता गरेर समझदारीमा पुगेपछि आन्दोलन गरिरहनु परेन।”