• २६ वैशाख २०८१, बुधबार

अटवारी पर्वमा कपिलवस्तुमा सार्वजनिक बिदा

blog

फाइल तस्विर ।

नारद कोहार

तौलिहवा, असोज ५ गते । कपिलवस्तुका पालिकाहरुले बड्का अटवारी पर्वको अवसरमा आइतबार बिदा दिने भएकाे छ । सो अवसरमा जिल्लाको कपिलवस्तु नगरपालिका, शिवराज नगरपालिका, बाणगङ्गा नगरपालिका, शुद्धोधन गाउँपालिका, विजयनगर गाउँपालिकाले स्थानीय बिदा दिने भएकाे हाे। 

कार्यपालिकाको कार्यालय मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था तथा नगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा बिदा हुने भएको छ । सो दिन थारु समुदायले बड्का अटवारी र हिन्दु समुदायले बड्का आइतबार पर्व मनाउँछन् । 

कपिलवस्तु नगरपालिका ६ सगरहवाका हकिम थारुका अनुसार अट्वारी पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नपिएर दिनभर व्रत बसी साँझ पुरुषद्वारा नै गुइँठाको आगोमा सल्लाको धूप बालेर भीमको पूजा गर्ने प्रचलन छ । थारु समुदायको बसोबास रहेको कपिलवस्तु, रुपन्देही, नवलपरासी, बाँके, बर्दिया र दाङ लगायतका जिल्लामा यस पर्वलाई विशेष महत्वका साथ मनाउने गरिन्छ ।

हिन्दु नारीहरुको हरितालिका तीजपछिको आइतबारलाई बड्की आइतबार भनेर मनाउने परम्परा छ । तर हरितालिका पछिको आइतबार षष्ठी परेमा बडकी आइतबार मनाइँदैन र त्यसपछिको आइतबारलाई बड्की आइतवार पर्व मान्ने चलन छ ।

संस्कृतविद्का अनुसार स्वास्थ्य, दीर्घायु, सुखमय जीवनको कामना गर्दै यो पर्व मनाउने गरिन्छ । पुरुषले स्वास्थ्य सुखमय जीवनको लागि व्रत बस्ने गर्दछन् भने महिलाहरुले सन्तान प्राप्ति, श्रीमानको स्वास्थ्य दीर्घायु र राम्रो वरको लागि यो व्रत बस्ने चलन छ । 

यो पर्वमा विशेष गरेर गहुँको पिठोबाट बनेको विभिन्न प्रकारका रोटी मिठाई बनाएर खाने गरिन्छ । विवाहित छोरी, चेलीबेटी, ज्वाइँलाई बोलाएर मिठा मिठा परिकार साथै उपहार दिएर यो पर्व मनाउने परम्परा छ ।