विदेह नगरपालिका धनुषा जिल्लाको पूर्वी भागमा पर्छ । साबिकको छ वटा गाउँ विकास समिति दुहबी, ठाढीझिझा, एकराही, गिद्धाबेलापटटी, बफै र इटहरबाको ९ नम्बर वडा मिलेर बनेको यस नपामा नौ वटा वडा छन् । यस पालिकाको क्षेत्रफल ४५.५१ वर्ग किलोमिटर रहेको छ । २०७८ सालको राष्ट्रिय जनगणना अनुसार ३७ हजार ६९७ जनसङ्ख्या रहेको यस नपामा सात हजार ६७१ परिवार रहेका छन् ।
दलित जनजाति समुदायको जनसङ्ख्या बढी रहेको यस नपाको पूर्वमा जनकनन्दनी गाउँपालिका, पश्चिममा औरही गाउँपालिका, उत्तरमा सहिदनगर नगरपालिका र दक्षिणमा भारत विहारको सीमावर्ती क्षेत्र दुहबी महिनाथपुर रहेको छ । प्राचीनकालमा दुर्वासा मुनि बसोबास गरेको दुर्वासा गढ यसै नगरपालिकामा पर्दछ । स्थानीय तह निर्वाचनमा यस नगरपालिकाको प्रमुखमा बेचन दास निर्वाचित हुनुभएको छ ।
यो उहाँको दोस्रो कार्यकाल हो । दलित समुदायका नेता रहनुभएका प्रमुख दाससँग विकास निर्माण र भावी कार्ययोजनालगायतका विषयमा केन्द्रित रही गोरखापत्रका धनुषा समाचारदाता धर्बेन्द्रकुमार झाले गर्नुभएको कुराकानीको सारसङ्क्षेप यहाँ प्रस्तुत गरिएको छ :
दोस्रो पटक निर्वाचित हुनुभयो, मतदाताले पत्याउनुको कारण के होला ?
धनुषाको दुर्गम गाउँ मिलेर बनेको पालिका हो विदेह नगरपालिका । यहाँ दलित, मुस्लिम, जनजाति समुदायको बढी जनसङ्ख्या छ । नगरपालिका निर्माण हुँदा जनतालाई आवश्यक आधारभूत आवश्यकताको स्थिति कमजोर थियो । पहिलो पटक निर्वाचित भएर आएपछि जनताको आधारभूत आवश्यकताका विषयलाई प्राथमिकतामा राखेर चुनौतीपूर्ण तवरले काम गरेँ । समृद्ध नेपाल खुसी नेपालीको नारालाई आत्मसात् गरी नगरपालिकासँग रहेको न्यून स्रोतसाधनलाई सही ढङ्गले परिचालन गरी विदेह नगरलाई समृद्ध र नगरवासीलाई खुसी पारेकै कारण मलाई मतदाताले दोस्रो पटक जिताउनुभयो । मतदाताको विश्वासलाई अक्षुण्ण राख्छु ।
कतिपयले त तपाईंलाई दबङ्ग मेयर भन्छन् नि के भन्नुहुन्छ ?
संविधान र कानुनको उल्लङ्घन गर्नेले यस्तो भनेको हुन सक्छ तर म संविधान र कानुनको अधीनमा रहेर काम गर्छु र अरूलाई पनि गर्न लगाउँछु । म आफैँ दलित समुदायको व्यक्ति हो । जीवनमा विभिन्न खालका आरोह अवरोह र चुनौतीलाई पार गर्दै यहाँसम्म आएको छु । दलित, गरिब असहायमाथि हुने भेदभाव र अत्याचारविरुद्ध सदैव खडा हुन्छु ।
तपाईंले नगरपालिकामा के के काम गर्नुभएको छ ?
मैले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको छु । विद्यालयहरूको स्तरोन्नति, विद्यालय भवन निर्माण, शिक्षकको व्यवस्थापनलगायत काम गरेको छु । मधेश प्रदेशको नमुना विद्यालयका रूपमा रहेको जनता माध्यमिक विद्यालयमा छ वटा तीनतल्ले कक्षाकोठा निर्माण, ३६ कोठा भएको छात्रावास निर्माण गरी क्याम्पस सञ्चालन गरिएको छ । मावि ठाढीमा दुईतल्ले १२ कोठे भवनको निर्माण र अन्य १० वटा विद्यालयमा दुई र चार कोठा भएको भवन निर्माण भएको छ ।
४० जना नगर शिक्षकलाई विभिन्न विद्यालयमा व्यवस्थापन गरिएको छ । विद्यालय बाहिर रहेका दलित, असहायका बालबालिकालाई पाठ्यसामग्री उपलब्ध गराई विद्यालयमा भर्नाका लागि अभियान सञ्चालन गरी शिक्षामा पहुँच बढाइएको छ । त्यसै गरी स्वास्थ्यको क्षेत्रमा गर्भवती महिलाको सुरक्षित प्रसूतिका लागि तीन स्थानमा बर्थिङ सेन्टर निर्माण, नौ वटै वडामा स्वास्थ्य चौकीलाई व्यवस्थित सञ्चालन, १५ श-याको अस्पताल निर्माण सुरु, निःशुल्क एम्बुलेन्स सञ्चालन, पाँच वर्षभन्दामुनिका बालबालिकाको पोषणमा कमी हुन नदिनका लागि पोषण भत्ताको व्यवस्था, विभिन्न वडामा बेला बेलामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलगायतका काम भएको छ ।
त्यसै गरी सिँचाइका लागि नौ वटै वडामा करिब १८ सय जति कृषि बोरिङ जडान, कमला सिँचाइ आयोजना पोर्ताहाबाट आएका नहरको संरक्षण गरी किसानको खेतमा सिँचाइको व्यवस्थापन गरेको छु । अन्य ठाउँमा सुक्खा रहेको समय यहाँका किसानले खेत रोपिरहेका थिए । यहाँ यस वर्ष पनि राम्रो धान उत्पादन हुन्छ । कृषकलाई अनुदानमा बिउबिजन उपलब्ध गराउनुका साथसाथै मलखाद्यको सहज आपूर्ति गराउने काम गरेको छु ।
नगरको मूल सडकबाहेक बस्ती भएका ८० प्रतिशतभन्दा बढी सडक आरसिसी, पिसिसी ढलान भएको छ । १५ किलोमिटर बाटो ग्राभेल भएको छ । वडा कार्यालयका लागि सात वटा वडामा आफ्नै भवन निर्माण गरी सञ्चालनमा आएको छ । खानेपानीका लागि २२ सय ट्युबेल जडान गरिएको छ । हरेक क्षेत्रमा केही न केही काम भएको छ जसका कारण ग्रामीण क्षेत्रको मुहार फेरिएको छ ।
निर्वाचनको समयमा मतदातासँग गरिएको प्रतिबद्धता पूरा गर्नुभयो त ?
धेरै जसो प्रतिबद्धता पहिलो कार्यकालमा पूरा गरेकै कारण दोस्रो पटक निर्वाचित भएँ । दोस्रो पटक गरिएका प्रतिबद्धता केही पूरा भएका छन् । बाँकी प्रतिबद्धता विस्तारै पूरा गर्दै जाने छु । हरेक पक्षबाट सहयोग भएमा काम गर्न कठिनाइ हुँदैन । काम गर्ने क्रममा कहीँ कतैबाट अवरोध भयो भने प्रतिबद्धता पनि पूरा गर्न कठिन हुन्छ ।
आउने दिनमा अब के के काम गर्न बाँकी छ भन्ने लाग्छ तपाईंलाई ?
काम जति गरे पनि त्यसको अन्त्य हुँदैन । धेरै काम भएको छ । धेरै गर्न बाँकी छ । मेलै प्राथमिकताव्रmम तोकेर काम गर्दै जान्छु । तीनकौरिया चोकमा जनता नमुना माध्यमिक विद्यालय सञ्चालनका लागि डेढदेखि दुई करोड रुपियाँसम्म वार्षिक खर्च लाग्ने गरेको छ । विद्यालयको आम्दानी कम छ । साढे चौध कट्ठा जग्गामा सटर निर्माण गरी विद्यालयको आम्दानी बढाउने, मुसहर समुदायको बसोबास रहेको वडा नं. ९ मा मुसहर बस्ती निर्माणको काम बाँकी छ । हुन त यस आर्थिक वर्षमा नौ करोड रुपियाँको लागतमा बस्ती निर्माण गर्ने लक्ष्यसहित नगर परिषद्मा बजेट पनि विनियोजन गरिएको छ तर नगर परिषद्कै सन्दर्भमा केही साथीले असन्तुष्टि जनाएर अदालतमा मुद्दा दायर गरेको र अदालतको आदेश नआएका कारण प्रक्रीया अगाडि बढ्न सकेको छैन । त्यसै गरी विद्युत् प्राधिकरणसँग सहकार्य गरी कृषि विद्युतीकरण कार्यक्रममार्फत किसानको खेतमा विद्युत् सुविधा पु-याउनेतर्फ लागेको छु । त्यसको विद्युत् महसुल पालिकाले तिर्ने छ ।
पहिलो कार्यकालभन्दा दोस्रो कार्यकालमा के भिन्नता पाउनुभयो र अहिले कस्ता चुनौती देखा परिरहेका छन् ?
२०७४ सालमा पहिलो पटक नेकपा (माओवादी केन्द्र) बाट प्रमुख पदमा निर्वाचित हुँदा ५० जनाको नगर सभामा हाम्रो सङ्ख्या छ जना मात्रै हुँदा अन्य दलका सदस्यसँग समन्वय गरेपछि प्राप्त सहयोगका कारण त्यति असहजता भएन । जबकि त्यो समयमा हामीलाई पनि धेरै कुरा थाहा थिएन । विस्तारै सिक्दै गयौँ । दोस्रो कार्यकालमा धेरै कुरा थाहा भएपछि काम गर्ने मनस्थिति बनाएको तर अन्य दलसहित आफ्नै पार्टीका साथीहरूले अहिले असहयोग गरिरहेका छन् । पार्टीको बहुमत हुँदा पनि आफ्नै साथीहरूको असहयोगका कारण सोचेका धेरै काम अघि बढ्न सकेका छैनन् । त्यसलाई मैले चुनौतीकै रूपमा लिएर अगाडि बढ्दै छु ।
आन्तरिक स्रोतसाधन के के छन् ? त्यसको परिचालन कसरी गरिरहनुभएको छ ?
आन्तरिक स्रोतका रूपमा विदेह नगरपालिकामा ७० भन्दा बढी पोखरी छन् । त्यसमध्ये ३२ वटा पोखरी नगरपालिकाको अधीनमा ल्याइसकेको छु र अन्य पोखरीलाई कानुनी रूपमा ल्याउने प्रयासमा छु । ती पोखरीलाई माछापालनका लागि ठेक्का लगाएबापत आउने आम्दानीलाई आवश्यकता अनुसार नगरपालिकाको नौ वटै वडामा कर्मचारी व्यवस्थापनदेखि समग्र विकासका लागि परिचालन गर्ने गरिएको छ ।
सङ्घ र प्रदेश सरकारबाट कस्तो सहयोगको अपेक्षा गर्नुभएको थियो, पाउनुभएको छ कि छैन ?
सरकारले पनि विभेद गर्दो रहेछ भन्ने कुरा हामीलाई पनि महसुस भएको छ । सङ्घ र प्रदेश सरकारसँग धेरै अपेक्षा थियो तर त्यो पूरा नभएको महसुस भयो । सङ्घको त कुरा छोडौँ प्रदेश सरकारले पठाउने ससर्त अनुदानसमेत नपठाएका कारण मधेश प्रदेश सभाको बैठकमा उक्त विषयले चर्चा पाएको जगजाहेर नै छ ।
विदेह नगरपालिकालाई कस्तो बनाउने योजना छ तपाईंको ?
मेरो कार्यकाल सकिनुअघि विदेह नगरपालिकालाई समृद्ध र खुसहाल नगर बनाउने योजना छ । जहाँ हरेक नगरवासीको मुखमा खुसी रहोस् । कृषिमा किसान आत्मनिर्भर बनून्, युवा विदेश पलायन नहोऊन् । यसका लागि नगरका हरेक पक्षलाई आआफ्नो ठाउँबाट सहयोगका लागि आग्रह गर्दछु ।