• ८ जेठ २०८१, मङ्गलबार

एसिया कप क्रिकेट : श्रीलङ्का ५० रनमा अलआउट

blog

काठमाडौं, भदौ ३१ गते । भारतका तीव्र गतिका बलर मोहम्मद शिराजले घातक बलिङ गरेपछि एसीसी एसिया कप क्रिकेटको फाइनलमा घरेलु टोली श्रीलङ्काले भारतलाई जितका लागि ५१ रनका लक्ष्य दिएको छ । 

श्रीलङ्काको आर प्रेमदासा स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलङ्का १५.२ ओभरमा सबै विकेटको क्षतिमा ५० रनमा समेटियो । श्रीलङ्काका कुशल मेन्डिसले सर्वाधिक १७ र दुसान हेमान्थाले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् । 

श्रीलङ्काको यो एक दिवसीयको दोस्रो कम योगफल हो । यसअघि श्रीलङ्का २०१२ मा दक्षिण अफ्रिकासँग ४३ रनमा अल आउट भएको थियो । एक दिवसीयमा सर्वाधिक कम योगफल भने जिम्बाबे र अमेरिका ३५ रनमा आउट भएको इतिहास छ । सन् २००४ मा जिम्बाबे श्रीलङ्कासँग ३५ रनमा र सन् २०२० मा अमेरिका नेपालसँग ३५ रनमा अल आउट भएको थियो । 

बलिङमा भारतका मोहम्मद शिराजले सात ओभरमा एक मेनसहित २१ रन खर्चिएर ६ विकेट लिनुभयो । हार्दिक पाण्डेयले तीन तथा पाजस्प्रित बुमराहले एक विकेट लिनुभयो । एजेन्सी