• २० असोज २०८१, आइतबार

मिथिलाञ्चलमा 'चौरचन'को रौनक

blog

जनकपुरधामको चौरचन पर्वमा व्रतालुहरू परिवारजनसहित साँझमा चन्द्रमाको पूजाअर्चना गर्दै । तस्बिर : लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, भदौ ३१ गते । मिथिलाको लोकआस्थाको महान् पर्व चौठचन्द्र भोली (सोमबार) मिथिलाञ्चलमा मनाउने तयारी हुँदैछ । भाद्र शुक्ल पक्ष चतुर्थी तिथिमा मनाइने चन्द्रोपासनाको यो पर्वलाई लोकलवजमा चौरचन पनि भनिन्छ । 

यस तिथिका दिन चन्द्रमा केही बेरका लागि मात्र उदित हुन्छ । चन्द्रोदयको यो दुर्लभताका कारण पर्वका दिन अलक्ष्य चन्द्र भएको जनविश्वास छ । पुराण अनुसार पर्वका दिन चन्द्रमामा कलङ्क लागेको हुन्छ । र, यसबेला चन्द्रदर्शन दोषपूर्ण हुन्छ । त्यसैले यस दिन खीर, पुरी, फलफूल, मिठाइ र दही हातमा लिएर मात्रै चन्द्रमाको पूजाअर्चना गर्दै दर्शन गर्ने परम्परा छ । 

यो पर्व सूर्यास्तपछि करिब अढाई घण्टासम्म हुने गर्छ । व्रतालुहरू चामल पिठोको घोल (पिठार) बाट आँगनमा अरिपन(शुभ प्रतीक चित्रांकन) तयार गर्छन् । त्यसपछि चन्द्राकार मण्डलमा केराका पात राखी त्यसमा पकवान राख्ने गरिन्छ । मण्डलानजिक केरा, धूपदीप, कलश आदि राख्ने गरिन्छ । 

पूजामा सामेल पुरुषहरूले मण्डलालाई चारैतिरबाट घेरेर खिरपुरीको प्रसादलाई बिचबाट आधाआधा गरी ग्रहण गर्ने गर्दछन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ की गङ्गादेवी साहले चौरचनको पूजा गर्न थालेको पाँच वर्षभयो । उहाँ भन्नुहुन्छ, “चौरचनका लागि चढाइने सम्पूर्ण सामग्री चोखो र सफा हुनुपर्छ । विशेषगरी यस दिन शुद्ध शाकाहारी पकवान बनाइन्छ । जसमा खीर र पुरी पर्दछन् भने नयाँ माटोका भाँडामा एक दिन पहिले नै दही जमाएर राख्ने गरिन्छ । फलफूलका रूपमा निबु, केरा, हरियो मकै र नरिवल नभई नहुने फलमध्ये पर्छन् भने मौसमी फको पनि यसमा त्यतिकै महत्व मानिन्छ ।” यस दिन फलफूल लिएर मात्रै चन्द्रमाको दर्शन गर्ने परम्परा रही आएको उहाँले बताउनुभयो । त्यसैले चौरचनको पूजा हुने घरका समपूर्ण सदस्यले हातमा फलफूल लिएर मात्रै चन्द्रमाको दर्शन गर्छन् र फलफूल बिना चन्द्रलाई हेर्नुहुँदैन भन्ने मान्यता रहँदै आएको उहाँले बताउनुभयो ।  

संस्कृतिविद् परमेश्वर कापडीका अनुसार मिथिलामा मनाइने महत्त्वपूर्ण लोक पर्वमध्ये एक ‘चौरचन’ पनि एक हो । मिथिलाको आफ्नै रीति तिथि र लोक व्यवहार छन् त्यसै अुनरुप वैदिक देवता भएर पनि चन्द्रमालाई लोक देवताका रूपमा मान्ने चलन रहँदै आएको छ । उहाँ भन्नुहुन्छ, “चन्द्रमालाई पितृ भावले पिताका रूपमा र प्रकृतिको देवताको रूपमा पुज्ने गरिन्छ । चन्द्रमाले अमृत र जिवनतत्व दिने विश्वासका साथ घरमुली महिलाहरूले आस्तिक भएर लोकनिष्ठका साथ चतुर्थीका दिन चन्द्रमाको पूजा अर्चना गर्ने गर्छन् । समय परिवर्तनसँगै मिथिलाको लोकपर्वका रूपमा रहेको चौरचन आजभोली सबै जातजातीले मनाउँदै आएका छन् ।” यो कुनै विशेष जातीको पर्वको रूपमा नरहेको भन्दै संस्कृतिविद् कापडीले समयसँगै केही परिवर्तन भएपनि आस्था र विश्वास भने अझै पनि उस्तै रहेको बताउनुभयो । 

यहाँ प्रचलित एक लोककथा अनुसार भगवान् गणेशलाई देखेर चन्द्रमाले अनायास हाँस्नुभयो । यसबाट क्रुद्ध गणेशजीले चन्द्रमा सराप दिनुभयो कि उहाँलाई हेर्नेहरू कलङ्कित हुन्छन् । त्यसपछि चन्द्रमाले भदौ शुक्ल चतुर्थीमा गणेशको पूजा गर्नुभयो । त्यसबाट प्रसन्न गणेशले भाद्र शुक्ल चतुर्थीमा चन्द्रमाको पूजा गर्नेहरूलाई मिथ्या कलङ्क नलाग्ने र सबै मनोरथ पूरा हुने आशीर्वाद दिनुभएको थियो । त्यसअनुसार नै मिथिलाञ्चलमा चौठचन्द्र मनाइँदै आएको छ ।