• ८ जेठ २०८१, मङ्गलबार

पथरी शनिश्चरे प्रिमियर क्रिकेट लिग कात्तिकमा

blog

प्रतियोगिताबारे जानकारी दिँदै आयोजक ।

उर्लाबारी, भदौ ३१ गते । पथरी शनिश्चरे प्रिमियर क्रिकेट लिगको चौथो संस्करण आगामी कात्तिक १० गतेबाट हुने भएको छ । पथरी शनिश्चरे प्रिमियर लिग आयोजक समितिले मोरङको पथरीशनिश्चरेमा पत्रकार सम्मेलन गरी प्रतियागिताका बारेमा जानकारी गराएको हो । 

नगर क्षेत्रमा क्रिकेट खेल्न उपयुक्त खेल मैदान नभएकोले प्रतियोगिता प्रस्तावित पथरी रङ्गशालामा हुनेछ । १४ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा यो सिजनमा ७ वटा क्लबले सहभागिता जनाउनेछन् । असोज ६ गतेलाई अक्सनको मिति तय गरिएको छ । ७ क्लबले कम्तीमा १४ खेलाडी अनुबन्ध गर्नेछन् । 

यसअघि पथरी शनिश्चरे नगर बाहिरका खेलाडी लाई सहभागी नगराएको आयोजक समितिले यो वर्ष भने ४ खेलाडी अनुबन्ध गरी अन्तिम ११ मा २ खेलाडी सहभागी गराउन पाउने व्यवस्था मिलाएको छ । 

आयोजक समितिका अध्यक्ष विरोज मगरले भन्नुभयो– ‘यो वर्ष पुरस्कार राशि केही बढाएका छौं । गत वर्ष विजेतालाई १ लाख ११ हजार रुपियाँ दिएका थियौं । यो वर्ष १ लाख ३१ हजार १ सय ११ रुपियाँ नगदसहित ट्रफी प्रदान गरिनेछ । यस्तै उप विजेतालाई ७१ हजार १सय ११ रुपियाँ नगदसहित ट्रफी प्रदान गरिनेछ ।’ 

७ क्लबमध्ये अघिल्लो संस्करणमा सहभागी ४ क्लबले खेलाडी रिटर्न गरेका छन् । नवप्रवेशी गोर्खा लिजेन्डसले २ खेलाडीलाई मार्की खेलाडीका रुपमा अनुबन्ध गरेका छन् । २ क्लबले भने कुनै खेलाडीलाई रिटर्न नगरेको आयोजकका अध्यक्ष विरोज मगरले जानकारी दिनुभयो । 

सातवाघले अनिस लुइटेल र आस्विन महतलाई रिटर्न गरेको छ भने बुद्ध युनाइटेडले राकेश राई, क्लासिक इलाभेन हसदन्हले सुजन खत्री र सन्जीव धिमाल र आइतवारे अस्त्रले आदर्श कार्कीलाई रिटर्न गरेको छ । 

नयाँ क्लब गोर्खा लिजेन्डसले आभाष पाहिम र योगेश श्रेष्ठलाई मार्कीका रुपमा अनुबन्ध गरेको छ । प्रतियोगिताको अक्सनका लागि २३२ खेलाडी दर्ता भएका छन् ।  यसपटक सबैभन्दा कम ९ वर्षका सौरब बस्नेत अक्सनको लिष्टमा समेटिएका छन भने ४५ वर्षका खेलाडी राज बस्नेतको समेत नाम अक्सनको ड्राफ्टमा समेटिएको छ । 

स्थानीय क्रिकेट खेलाडीको उत्पादन गर्न र क्रिकेट प्रतिभा पहिचान गर्न चौथो संस्करणको क्रिकेट लिग प्रतियोगिता आयोजना गर्न लागिएको हो ।  प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख रुपियाँ खर्च हुने आयोजकले जनाएको छ ।