• ८ मंसिर २०८१, शनिबार

टिउरिङ टेस्ट [कथा]

blog

कुनै एक बिहान उनीहरू उठ्दा दुवैले आफूलाई एक्लो पाए । झ्यालबाट चिहाउँदै गरेको मलिन घामलाई कोठामा छाडेर दुवै बाहिरी छतमा निस्के । उत्तरतर्फबाट जोसिएर बहेको बतास सँगसँगै यी जोडी टहल्दै गए । श्रीमती तीव्र चालमा अघिअघि र श्रीमान् उनको अनुसरण गर्दै पछिपछि देख्दा उनीहरूबिच कुनै असामान्य परिस्थितिले गर्दा दूरी बढिरहेको प्रतीत हुन्थ्यो । किनकि कतिपय कुरा शब्दले भन्न नसकेर मान्छेका चालढाल एवं अनुहारको उतारचढावको साङ्केतिक भावले व्यक्त गर्दछ । 

जसरी यस बेला अनियन्त्रित बतासको भाषा बुझ्न असजिलो भएको छ, त्यस्तै यिनीहरूको चुपचाप मौन भाषालाई अड्कल लगाउन कठिन छ । तेज बतासको धारले यताउता ठक्कर दिँदाको आजको दिनलाई बतासे दिन भन्न सुहाउँछ । यस्तै बतासे दिनहरूको प्रहारले होला मुख्यतया पुराना मान्यताहरू भूतकालको विस्तृत क्षितिजमा डुब्दै हिँडेका । 

सवा छ फुटको अग्लो शरीर भारलाई बोकेको ऊ अगाडि ठिङ्ग उभिँदा उनलाई रोकिन बाध्य तुल्यायो । “अरे किन ? मलाई यस्तो मन पर्दैन । एक्लै टहल्न देऊ ।” ऊ मुस्कुराउँदै सोध्यो “प्रिय ! के भयो, सञ्चो भएन कि ? कि मदेखि रिसाएकी, बोल न ।” 

“म किन रिसाउने ? मलाई केही भको छैन । म सञ्चै छु ।” उनको स्वरमा झर्काइको खस्रोपन मिसिँदै गयो । उसले उनको हात समातेर सुस्तरी भन्यो, “तिम्लाई अलि थकाइ लागे जस्तो छ, ऊ त्यहाँ बस । केही पिउन चाहन्छ्यौ प्रिय ? हुस्की, बियर, वाइन अथवा सफ्ट ड्रिङ्क्स म लिएर आउँछु ।” उसको हात पन्छाउँदै चर्को स्वरमा बोलिन्, “न न पर्दैन पर्दैन मलाई यस बेला वाक्क दिक्क नपार न । हात छोड मेरो ।” 

“होइन मबाट के गल्ती भो रानी ।” 

“गल्ती ? तिम्ले काँ गल्ती गर्न जानेका छौ र ? बरु जानेको भए त हुन्थ्यो नि ।” उनी फटाफट अघि बढिन् । सबैतिर न कुनै हलचल र साथै नभई सुनसान थियो । बादलको पातलो रजततन्ना पार गरेर घामको पीतआलोक छरिँदै गयो । 

ऊ अगाडि बढ्यो र उनको हात आफ्नो हातमा जोड्ने कोसिस ग¥यो । 

“न न न फेरि किन ? मलाई यसरी नछोऊ हरे । न सताउ न रजत ।” 

अब भने ऊ आश्चर्य चकित भयो । “यस्तो त कहिल्यै देखाएनौ पहिले । भन न के हो यो अचम्म रानी ।” उनले अर्कोतिर मुख फर्काएर बोलिन्, “म वाक्क दिक्क भइसकेँ । तिम्रो बनावटी टुच्चेपन अब मन लाग्न छोड्यो । म अघाएँ, मलाई पुग्यो । मेरो पिछा नगर ।” पत्नीको आरक्त अनुहार देखेर ऊ एकदम डरायो । असहज भएर होला उसले आफ्नो छरितोे जिउको चालढाललाई शिथिल पारेर छेउको बेन्चमा थचक्क बस्यो । 

तीव्र बतासको चाल सँगसँगै उनी हिँड्दै गइन् । एक चक्कर लगाएर उसको समीप पुगिन् । अनि सुस्तरी बोलिन, “रजत तिमीभित्र जाऊ । पछि म बोलाउँला ।” उसले बिचैमा कुरा काटेर भन्यो, “अहँ म तिम्लाई यस बेला एक्लो छोड्दिन किनभने तिमी यस बेला धेरै दुःखी छौ । अहिलेको एक्लोपन तिम्रा लागि घातक हुन सक्छ ।” 

“कसरी ?” 

“यस्तो अवस्थामा मान्छेले जे पनि गर्न सक्छ । त्यो खतराको मोल म लिन सक्दिनँ प्रिय !” अलि दूरी कायम गरी उनी छेउमा बसिन् । ऊ अचानक उठ्यो । ठिक पछाडि पुगेर उनको टाउको, कुम, ढाडमा मालिस झैँ थिच्नमिच्न लाग्यो । उनले आँखा चिम्म गरिन् । 

उसले पल्लो घरको छतमा देखाउँदै भन्यो, “ऊ हेर त हामी जस्तै परेवाका जोडी । यो संसारमा माया–प्रेम जस्तो महान् कुरो अरू नहुँदो रहेछ ।” उसको हात पन्छाएर जुरुक्क उठिन्, “माया, माया, प्रेम, प्रेम, तिम्रो यही सुगा रटाइ प्रेमले म दिक्क हुन्छु । यस्तै लोलोपोतो अनि फिल्मी संवाद जस्तो मायाले म पीडित छु । म मान्छु कैयौँ कुरामा तिमी सबल छौ । तर... ।” 

“तर के ? मेरा सबै कुरा तिमीमा समर्पण छैन र ? मेरोतर्फको रतिक्रिडाको प्रकारान्तरले दिने चरम आनन्द शिथिल हुन गई मेरो क्षमतामा कमीकमजोरी आएको हो कि ?” उनको गुलाबी अधरोष्ठमा गहिरो चुम्बन दिँदै बोल्यो, “मेरी सानु ।” 

यताउता र चारैतिर हेरेर उनी कराइन्, “छि ! छि ! ल ल पख ! पख ! त्यो कारण होइन, होइन ।” 

“थोरै दिन भयो मैले अर्कै प्रकारको उल्झनमा तिम्लाई देखिराछु । तिम्रो मनोभाव र मस्तिष्क एक अर्कामा तालमेल भएको छैन । भन रानी, के हो त म असफल भएको हो त ? तिमीले प्रायः भन्ने गथ्र्यौ मलाई प्रज्ञा, प्रभाव, महिमा, ओज, कला, कौशल, पराक्रम आदिसहितको म एक पूर्ण कीर्तिस्तम्भ हुँ तर अहिले आएर म नाकाम हुँदै गएँ ।” 

उनले मुस्कुराउने प्रयत्न गर्दै भनिन्, “प्रिय रजत, तिमी नवीन चामत्कारिक र दुर्लभ हौ । जहाँसम्म सम्भोग तृप्तिको कुरा छ, त्यो मधुक्षणलाई सम्झिने हो भने वास्तवमा तिमी आमूर (कामदेव) को पर्याय हौ तर पनि मलाई अर्कै कुराले उदास बनाएको छ ।” 

प्रसङ्गलाई अर्कोतर्फ लाने कोसिस गर्दै उसले भन्यो, “सानु, भित्र गएर गीतसङ्गीतको मजा लिउँ । म पियानो बजाउँछु, तिमी नाच ।” उसको चम्किलो एवं तेज आँखाहरूको मादकतातर्फ दृष्टि दौडाउँदै उनी रल्लरत्तिएर टक्क रोकिइन् । उनको हात पकडेर भित्र कोठामा पुग्यो । पियानोको मधुर धुन बजाउँदै गाउन लाग्यो । उनलाई अब नाच्ने सङ्केत ग¥यो । गीत र सङ्गीत सँगसँगै उनी मज्जासँग नाँच्दै गइन्, झुम्दै गइन् । अचानक टक्क अडेर टाउको समाइन् । 

“भो म थाकेँ । मलाई भाउन्न भएर चक्कर लाग्यो ।” पुनः छततिर लम्किन्, “सानु, सानु, नानु ।” उनको पछि ऊ दौड्यौ । उसले आफ्नो बाहुपासमा उनीलाई कस्दै गयो तर उसलाई पर सारेर उनी तुरुन्त पछाडि हटिन् । “तिम्रो काख सदा न्यानो र रापिलो छ तर चिसो र ठण्डा कहिल्यै भएन । चिसोपन पनि त आउन जरुरी छ जिन्दगीमा हरेक चिजहरू वाञ्छनीय हुन्छन् । मेरो भनाइको बुझाइ यो हो कि हरदम गरम र नरम बन्नु मनासिव होइन । कति बेला चिसो, ठण्डा र कडक बन्नु अति आवश्यक हुन्छ व्यवहारमा ।” 

ऊ सुस्तरी बोल्यो, “प्रिय ! तिम्रो चाहना अनुसार नै हामी एक भएका हौँ । अहिले आएर के भो तिम्लाई ?” “हो तिमी सही छौ तर फिजिकल कनेक्टिभिटी क्षणिक मात्र हुँदोरहेछ ।” उसले उत्साहित हुने कोसिस गर्दै भन्यो, “धेरैदिन घरमा बस्दा दिक्क भएको हुनु पर्छ । हिँड कतै घुम्न जाऔँ ।” उनको हात समातेर डो¥याउने प्रयत्न ग¥यो । उनी टसमस भइनन् । “हेर कृत्रिम अनुभूति बोकेर म हरक्षण रहन सक्दिनँ । अहिले म कतै जादिनँ । मलाई बल नगर ।” उसले कर गर्दै उनलाई तल बाटोमा ओराल्यो । “ल हिँड अब बाहिरी संसारको मजा लिएर घुमौँ ।” एकअर्कालाई अँगालोमा कस्दै उनीहरूले पाइला चाल्न लागे । “उफ् ! बतास, मौसम ठिक छैन ।” उनी फरक्क फर्केर घरतर्फ दौडिन् । “पख, पख रानी !” उनी छतमा पुगिसकेकी थिइन् । 

नदीपारिबाट हान्निएर आएको चिसो स्याँठले एक धक्का मा¥यो । समयको खालीपन त्यहाँ पुग्दा मन त्यहाँ झन् बोझिलो हुँदै थियो । उनी फेरि खनिइन्, “अब म तिमीलाई झेल्न नसक्ने भएँ । तिमी आफूलाई पूर्ण ठान्छौ तर अपूर्ण छौ ।” “तिम्ले मलाई चिन्न नसकेर यस्तो हाँस्यास्पद आक्षेप लगाउँदै छौँ । तिम्रो प्रत्येक प्रत्येक पललाई हर्षानन्दले रङ्गाइदिएको छु । दुनियाँदारीमा असल बन्नु धेरै गाह्रो कुरा हो । हो म त्यो बन्न तरखरमा असफल भएँ । तिम्रो हरक्षणलाई मायाको मालाले बुनिदिएकी छु ।” उनी च्याँठिएर बोलिन्, “माया, माया, माया, म माया र प्रेम को भोको छैन । मलाई एउटा पूरा श्रीमान् चाहिन्छ । त्यो तिमी बन्न सकेनौ ।” 

“मैले कत्ति बुझिन कस्तो पूरा र कस्तो अपूरा ?”, उसले भन्यो । उनी अझ चर्किएर बोलिन्, “सबै पुगिसक्यो । अघाएर उल्टी हुन लाग्यो ।” “अनि के त ? अझै बुझ्न सकिनँ ।” उसको आँखामा सिधा आँखा जुधाएर भनिन्, “तिम्रो एकलय प्रेमालाप र रङबिनाको दिनचर्या उफ् ! टाउकै दुखिसक्यो ।” ऊ झटपट उनको टाउको मिच्न थाल्यो । “भन तिमी भन्दै जाऊ, म सुन्दै जान्छु प्रिय ।” भन्न गाह्रो भएर पनि बल गरेर भन्दै गइन्, “सुन, रजत तिम्रो गुलियो र सधैँ रसिलो माया हैन । दुखाइयुक्त मिठो र कहिले कहिले पीडासहितको प्रेम चाहिएको हो ।” “कस्तो ? पटक्कै बुझ्न सकिनँ ।” अब उनी अलि हौसिएर बोलिन्, “तिमी मसँग कुनै बेला एकदम रिसाउ । कहिले गाली गर, निहुँ खोज, ईष्र्या गर, बमगोला बारुद जस्तै पड्क, सक्छौ दिन ?” टाउको मिच्दामिच्दै ऊ टक्क स्थिर भयो । वरिपरि अनि चारैतर्फ हेरी भ्याउँदा बल्ल उसले रङ्गीन विविधता पायो । मौन समय पल सँगसँगै सबै कुरा दौडिरहेको देख्दा आँखाले ठम्याउन सकेन । अपर्झट उसले के ठान्यो खै ? 

“प्रिय, म ती खराब कुरा दिन सक्तिनँ तिमीलाई । मानिस सुखको उत्कण्ठामा सधैँ भांैँतारिरहेको हुन्छ । तिमी भने दुःख र पीडाको नरकमा बल्झिन चाहन्छ्यौ ।” 

“हो मलाई मायाले मात्रै पुग्दैन । मैले भनेको पनि दिन सक्छौ ?”

“अहँ, म खराब बन्न असमर्थ छु । मेरो क्षमता बाहिरको त्यो अगम्यतामा म कसरी पुगुँ ? रिसाउन, गाली गर्न, प्रताडन या पिट्न आदि अप्रीतिकर कार्यबाट म एकदम अलग छु । म सुक्खा र रुखो बन्नै सक्दिनँ ।” 

उनको ठिक अगाडि उभिएको विशाल कायलाई छल्दै उनी तेज रफ्तारले हिँड्दै कराइन्, “म सक्तिनँ, सक्तिनँ, म हारेँ ।” ऊ पछिपछि दौड्यो । उसलाई भेट्याउन नदिने प्रयत्नमा उनी तेज दौडिन् । बतासको तेज रफ्तारले खोसेर बुट्टे इन्द्रेणी सलले उनको आँखालाई झपक्क छोप्यो । उनी आत्तिइन्, “आमै ।” ऊ दौडेर सल छुट्याउने प्रयास ग¥यो । हुरीको मजबुत हातले सल उडाइलग्यो– फर... फर..... फरफर... । पछिपछि ऊ दौडँदै गयो । छतको अन्तिम छोरमा पुगेर तनक्क उफ्रिँदा दुपट्टाको फेर समातिहाल्यो । उनी जोडले कराइन्, “रजत होसियार ।” तर उसको सन्तुलनले उसलाई टिकाउन सकेन । “गड्याङ्ग गुडुङ्ग ।” “रजत, मेरो रजत ।” बिजुली मिलिक्क चम्क्यो । 

घनमय मेघ गगनभरमा पोतिएर अँध्याराको चपेटामा गयो । हावामा कावा खाँदै दस तल्लाबाट ऊ दुपट्टा सलको फेर समातेर उल्टिँदै पल्टिँदै ढलपल ढलपल झर्दै थियो । उनी लिफ्टतर्फ चिच्याउँदै दौडिन् । तल पुग्दा पानी दर्किसकेको थियो । भुइँभरि चक्नाचुर शरीरका अवयवहरू टुक्रिएर छरिएका थिए । उनको आँसुको भेल उसको टाउकोमा ओइरियो । टाउको उठाएर हातले छातीमा टाँस्दै बोलिन्, “बिदा रजत ! अलबिदा अब म दुःखी हुने छु । मेरो प्रिय !” उसले सुस्तरी अलर्ट साउन्ड दियो– बिपबिप... बिपबिप... ।” अन्तिमपल्ट मुख चलाएर चेतावनी सङ्केत बोल्यो “टिउरिङ टेस्ट १ फेल ...! टिउरिङ टेस्ट फेल ... !” अनि एआई २. चुप लाग्यो । 


टिउरिङ टेस्ट : रोबोटलाई मानिस बराबरको क्षमतामा ढाल्ने पद्धति र परीक्षण । 

एआई : कृत्रिम मेधामानव अर्थात् आर्टिफिसियल इन्टलिजेन्स रोबोट ।