सुतिरहेको
सम्भवतः ननिदाएको
अर्धनिद्रित सहर
अनायास झसङ्ग... झस्कियो ।
औँसीको रात,
अन्धकारमय चकमन्नतामा
अर्थपूर्ण थियो सहरको झस्काइ ।
जब झस्कियो सहर
सहरभित्र हल्लीखल्ली मच्चियो,
आवाजहरूको आवाज बढ्यो
ठुला–ठुला बने आँखाहरू
मानौँ, सहरमा यस्तो बर्सात
कहिल्यै भएको थिएन ।
बर्सात पोहोर पनि भएकै हो
परार पनि भएकै हो
र, यसपालि पनि....
अब, भोलि सखारै
सुन्नु पर्ने छ एउटा अशुभ समाचार–
सहरको बर्सातले
कतै पर...
बाढी पसेर डुबायो सिङ्गै गाउँ ।