घुमी फिरी वर्ष दिनमा तिज आयो बरिलै
माइती घरको सम्झनाले मुटु खायो है ।
बाबा मेरा बिरामी छन्, आमा एक्ली घरमा
दाजुभाइ विदेशमा छन्, आफ्नै पारामा
नपाइने रै’छ बस्न बाउआमाको साथमा
लगाएसी पराई सिन्दुर, चुरा हातमा ।
नौ डाँडाको पारि गाउँमा रुँदै छु म बरिलै
माइती घरको सम्झनाले मुटु खायो है ।
रमाउँदै माइतीतिर जाँदै होलान् सहेली
पुगिसके होलान् बरै बाटुली र चमेली
मिठो पिठो पकाएको पेटभरि दर खाएर
नाच्दै होलान् कम्मर मर्काई रातो सारी लाएर ।
यसपालि नि म त माइत जान पाइन बरिलै
माइती घरको सम्झनाले मुटु खायौ है ।