काठमाडौँ, भदौ ३० गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बाल सङ्गठनको भौतिक सम्पत्तिको संरक्षण र व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो।
राष्ट्रिय बालदिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बालबालिकाको संरक्षण, स्याहार, शिक्षा र स्वास्थ्यमा पहुँचका लागि स्थापना गरिएको बाल सङ्गठनको नाममा देशभर छरिएर रहेका भौतिक सम्पत्तिको व्यवस्थापनमा मन्त्रालयको ध्यानाकर्षण भएको बताउँदै त्यसको व्यवस्थापन गर्ने बताउनुभएको हो।
नेपाल बाल सङ्गठनले राष्ट्रिय बालदिवस–२०८० को अवसरमा आयोजना गरेको लोकनृत्य, चित्रकला प्रतियोगितामा सहभागी उत्कृष्ट विद्यार्थीका समूहलाई पुरस्कार प्रदान गरेको छ। बाल सङ्गठनले राष्ट्रिय बालदिवसका उपलक्ष्यमा शुक्रबार राजधानीमा आयोजित समारोहमा चित्रकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनुभएका निरू तामाङ, रचित कार्की र शुभेच्छालाई क्रमशः दस हजार, सात हजार र पाँच हजार रुपियाँ प्रदान गरेको हो।
त्यसै गरी सान्त्वना पुरस्कार कृतन दथेपुथेलाई दुई हजार पाँच सय रुपियाँ प्रदान गरियो। यस प्रतियोगितामा ३४ विद्यालयका ९९ जना बालबालिकाले सहभागिता जनाएका थिए। त्यस्तै लोकनृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका क्रमशः क्लिन्टन स्कुलका विद्यार्थीको समूहलाई दस हजार, हिमालयन इङ्ग्लिस स्कुलका विद्यार्थीलाई सात हजार र ब्राइट प्युचर माविका विद्यार्थी पाँच हजार रुपियाँसहित पुरस्कृत गरिएको थियो। नृत्य प्रतियोगितामा सहभागी दुई समूह लेब्रोटरी मावि र भ्याली भ्यु स्कुलका विद्यार्थीलाई सान्त्वना पुरस्कार दुई हजार पाँच सय रुपियाँ प्रदान गरिएको थियो। नृत्य प्रतियोगितामा २० विद्यालयका १३६ जना बालबालिका सहभागी थिए। कार्यक्रमलाई सम्बोधन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नेपाल बाल सङ्गठनका अध्यक्ष विद्या उपाध्याय न्यौपानेले सङ्गठनले विसं २०२२ भदौ ४ गतेदेखि नै राष्ट्रिय बालदिवस मनाउँदै आएको बताउनुभयो।
उहाँले बालदिवसकै अवसर पारेर विसं २०१९ साल माघ–फागुनतिर बालपत्रिका नामक पत्रिकाको पहिलो पटक प्रकाशन सुरु गरिएको प्रमाण भेटिएकाले नेपालमा बालदिवस मनाउन थालेको इतिहास करिब ६९ वर्षको हुन आउने चर्चा गर्नुभयो। बाल सङ्गठनले राष्ट्रिय बाल दिवस– २०८० को अवसर पारेर वार्षिक रूपमा प्रकाशन गरिने उक्त बालपत्रिकाको प्रकाशन सुरु गरेको छ।
त्यसै गरी ‘बालबालिकामा लगनीः सुनिश्चित भविष्यको थालनी’ भन्ने नारासहित आयोजित राष्ट्रिय बालदिवसका अवसरमा राष्ट्रिय बाल अधिकार परिषद्ले बालबालिकालाई मन्त्रीलाई चिट्ठी लेख्ने प्रतियोगिताको आयोजना गरेको थियो। दिवसका अवसरमा परिषद्द्वारा आयोजना गरेको कार्यक्रममा चम्पा सोनारीमगर, रितिषा गौतम र चन्दनकुमार यादवलाई पुरस्कृत गरेको छ।