नागेन्द्रकुमार कर्ण
महोत्तरी, भदौ २९ गते । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकामा शुक्रबार बिहान पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । जलेश्वर नगरपालिका वडा नं. ८ बजराही बस्ने पङ्कज ठाकुरको ४ वर्षीय छोरा प्रियंन्सराज ठाकुरको डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार खेल्दाखेल्दै घर नजिकै रहेको पोखरीमा पुगेको उनको डुबेर मृत्यु भएको हो । घरका सदस्यहरूले बच्चालाई खोजी गर्दा उनको शव पोखरीमा फेला परेको र प्रादेशिक अस्पताल जलेश्वर पुराउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
शवलाई पोष्टमार्टमको लागि अस्पतालमै राखिएको छ । केही समययता महोत्तरी सहितका जिल्लाहरूमा अत्यधिक गर्मी बढेको छ । गर्मीको कारणले पोखरी तथा नदिहरुमा नुहाउने क्रम पनि बढेकोले र बच्चाहरूलाई निगरानीमा नराख्दा यस्तो घटना घट्ने भएकोले सचेत भएर बालबालिकाहरूलाई निगरानी गर्न प्रहरीले आग्रह गरेको छ ।