गोकर्ण पौडेल
तुलसीपुर, भदौ २६ गते । तुलसीपुर उपमहानगरपालिका–१७ वनकट्टीमा नेपाल संस्कृत विश्वविद्यालयको जग्गामा आँपका बोटबाहेक केही थिएनन् । सिँचाइको व्यवस्था नभएको डाँडामा अन्नबाली उत्पादन समेत हुँदैनथ्यो । इलमीको हातमा माछा भनेजस्तै त्यही सिँचाइ नहुने जमिनमा अहिले बाह्रै महिना सयपत्रीले ढकमक्क देखिन्छ ।
बाह्रै महिना सयपत्री फूलको उपलब्धता हुने भएपछि जिल्लामा हुने अधिकांश सभा समारोहमा त्यही प्रयोग हुन थालेको छ । जिल्लामा विगतका वर्षमा चाडपर्वलाई मात्रै लक्षित गरेर सयपत्रीको फूल उत्पादन गर्ने गरिएको थियो ।
यो वर्षदेखि बाह्रमास सयपत्री उत्पादन गर्ने उद्देश्यले तुलसीपुर –१७ बनकट्टीस्थित चार जना युवाले सामूहिक रूपमा थालेको फूल खेती रहरलाग्दो भएको छ । नेपाल संस्कृत विश्वविद्यालयको ३५ बिघा जग्गा भाडामा लिएर नेचुरल एग्रो एण्ड नर्सरीमार्फत थालिएको फूलखेतीमा अहिले बेमौसमका लागि ६ बिघा जमिनमा तीन चरणमा फूल रोपिएको छ ।
तीमध्ये पहिलो चरणमा रोपिएको फूल ढकमक्क फूलेको छ । बाँकी १० बिघामा एक लाख १५ हजार सयपत्रीका बिरुवा दसैँ–तिहारजस्ता पर्वलाई लक्षित गरी रोपिएको छ ।
बाह्रै महिना दैनिक दुई क्विन्टल फूल उत्पादन गर्ने लक्ष्यसाथ सयपत्रीका बिरुवा रोपिएका छन् । फूल आयातलाई रोक्ने उद्देश्यसाथ व्यावसायिक रूपमा ठुलो प्लटमा सयपत्रीका बिरुवा रोप्न सुरु गरिएको युवा बुद्धिराज पौडेलले बताउनुभयो । उहाँले भदौ महिनादेखि दैनिक एक क्विन्टल फूल उत्पादन भइरहेको बताउनुभयो ।
दसैँ–तिहारजस्ता चाडपर्वलाई मध्यनजर राख्दै तीनसय क्विन्टल फूल बिक्री गर्ने लक्ष्यसाथ १० बिघा क्षेत्रफलमा बिरुवा रोपिएको छ । नर्सरीमा फूलखेतीसँगै तरकारी र फलफूल, दुबोको खेती गरिएको छ । १५ हजार बोट काउली, ७ क्विन्टल बढी आलु रोपिएको छ भने करिब दुई बिघा जग्गामा पाँच जातको अदुवा, पाँच जातको बेसार, बदाम, मुङको दाललगायत अनुसन्धानका लागि रोपिएको छ ।
त्यस्तै, ४ बिघामा केरा खेती र २ बिघामा दुबोको खेती गरिएको छ । नर्सरीमा सयपत्रीतर्फ कर्मा १११, कर्मा ५५५, कर्मा ७७७, कर्मा स्वान ह्वाइट र मालासिस जातका फूल तथा मखमली र गोदावरी फूलहरू रोपिएको छ ।
सो जग्गा प्रयोग गरेबापत संस्कृत विश्वविद्यालयलाई वार्षिक १६ लाख तिर्दैआएको पौडेलले बताउनुभयो । पुष्प व्यवसायी पौडेलले वार्षिक रूपमा खर्च कटाएर ४० लाख आम्दानी हुने लक्ष्य राखिएको बताउनुभयो । जिल्लामा विद्यार्थीले समेत व्यावसायिक रूपमा सयपत्री खेती गरेका छन् ।
व्यवसायी पौडेलले डाँडामा हिउँदेयाममा सिँचाइको उचित प्रबन्ध नहुँदा सोचेअनुरूप सयपत्रीबाट फाइदा लिन नसकिएको बताउनुभयो । कृषि फर्ममा विभिन्न कलेजबाट कृषि विषय पढिरहेका विद्यार्थी अनुसन्धानका लागि प्रयोगात्मक ज्ञान लिन आउनेगरेका छन् । फर्ममा १२ जना श्रमिक कार्यरत रहेको पौडेलले बताउनुभयो ।