• ८ मंसिर २०८१, शनिबार

स्वदेशमै टीभी उत्पादन र रोजगारीको अवसर

राष्ट्रपति पौडेल र सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट पार्कबिच भेट

blog

राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुहुँदै कोरियाको सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट सिउङ ही पार्क । तस्बिर : राराष्ट्रपतिको निजी सचिवालय

काठमाडौं, भदौ २५ गते । राष्ट्रपति रामचन्द्र पौडेलसँग कोरियाको सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट सिउङ ही पार्कले आज शिष्टाचार भेट गर्नुभएको छ । सो भेटमा राष्ट्रपति पौडेलले कोरियाले गरेको विकासको प्रशंसा गर्नुहुँदै सूचना प्रविधिका विभिन्न पक्षमा चासो राख्नुभएको थियो ।

राष्ट्रपति भवन शीतल निवासमा सोमबार भएको भेटमा पार्कले सामसुङ कम्पनीले नेपालमा सञ्चालन गरेको विभिन्न उत्पादन तथा सोसम्बन्धी गतिविधिबारे संक्षिप्तमा जानकारी गराउनुभएको छ । 

नेपालमा सञ्चालन गर्न सकिने फ्याक्ट्री, सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाली विद्यार्थीहरूलाई उच्चस्तरको सूचना प्रविधिसम्बन्धी तालिम तथा भविष्यमा सामसुङ कम्पनी र नेपालबिच हुन सक्ने सहयोग योजना तथा सूचना प्रविधि र औद्योगिक उत्पादन सम्बन्धीका योजनाबारे पनि पार्कले सो अवसरमा जानकारी गराउनुभयो । 

सो अवसरमा सामसुङका उपाध्यक्षद्वय हयुङ वु लि र सुङ जुन पार्क, प्रबन्ध निर्देशक ह्यून लि, नेपालका लागि कोरियन राजदूत थेयङ पार्क र गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा लगायतको उपस्थिति थियो ।

स्वदेशमै टीभी उत्पादन र रोजगारीको अवसर 

सामसुङ कम्पनीको प्रविधिमा आधारित रहेर गोल्छा समूहले नेपालको नवलपरासीको भूमहीमा  पूर्ण टीभी जडान उत्पादन कारखाना सञ्चालनमा ल्याएको पनि सो अवसरमा जानकारी दिइयो । 

गत अप्रिलबाट सो कारखाना सञ्चालनमा आएको जनाइएको छ । सो कारखाना पूर्ण क्षमतामा सञ्चालन हुँदा वार्षिक एक लाख वटा टीभी तयार हुने तथा एक हजार जनाले रोजगारी पाउन सक्ने बताइएको छ । 

राष्ट्रपति पौडेललाई सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट सिउङ ही पार्कले उक्त कुराको जानकारी गराउनुभयो । 

साथै सामसुङको प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा सामसुङ इन्नोभेसन क्याम्पस सञ्चालन अन्तर्गत  सयजना विद्यार्थीलाई सहभागी गराई दुई वर्षे कार्यक्रम सञ्चालनमा रहेको सो अवसरमा जानकारी दिइयो ।

 राष्ट्रपति पौडेलले प्रविधि हस्तान्तरणसम्बन्धी कार्यक्रम, कारखानामा तयार हुने टिभी तथा त्यसबाट यहाँ सिर्जना हुने रोजगारीप्रति प्रसन्नता प्रकट गर्नुभयो ।