• ९ मंसिर २०८१, आइतबार

थ्री गर्जेज कलेज र मदन भण्डारी फाउन्डेसनबीच पाँच बुँदे सम्झौता

blog

सम्झौतापछि नेपाल र चीनका नेताहरुहरु । तस्बिर : राजेश राई

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ २२ गते । चीनको प्रमुख शहर छोङछिङस्थित ‘छोङछिङ थ्रि गर्जेज भोकेसनल कलेज’ र मदन भण्डारी फाउन्डेसनबीच शैक्षिक विकास, वैज्ञानिक शिक्षाको अध्ययन र सीपमुलक अनुसन्धानको क्षेत्रमा सहकार्य गर्नेगरी पाँच बुँदे सम्झौता भएको छ । 

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईले शैक्षिक विकासका लागि तालिम केन्द्र स्थापना, अध्ययन र प्राविधिक कार्यक्रम परियोजना सञ्चालन गर्ने पाँच बुँदे सम्झौता भएको जानकारी दिनुभयो । 

सम्झौतामा फाउन्डेसनको तर्फबाट अखिल नेपाल महिला संघको अध्यक्ष समेत रहनु भएकी फाउन्डेसनको केन्द्रीय सदस्य टुका हमाल र ‘छोङछिङ थ्रि गर्जेज भोकेसनल कलेज’ को तर्फबाट प्रमुख लि जीओ कुअङले हस्ताक्षर गर्नुभएको छ । 

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन भ्रमणमा रहनु भएका नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टीका पोलिट्व्यूरो सदस्य युआन जियाजुनबीच भएको भेटवार्तामा एकअर्कामा अनुभव, सीप, विचार र ज्ञानलाई आदानप्रदान गर्ने बिषयमा कुराकानी भएको उहाँको भनाइ छ । सोक्रममा महासचिव पोखरेलले छोङछिङले आफ्नो आधुनिकीरणका क्रममा आर्जन गरेको ज्ञान, सीप र विकास प्रबिधि नेपालसँग आदानप्रदानको प्रस्ताव राख्नुभएको थियो ।