• १ जेठ २०८२, बिहिबार

चेपाङको धार्मिक कर्म गराउने ‘पाण्दे’ भेट्नै कठिन

blog

वसन्त पराजुली 

भरतपुर, भदौ २२ गते । सीमान्तकृत समुदायमा पर्ने चेपाङ जातिमा धार्मिक तथा सामाजिक कार्य गराउने ‘पाण्दे’ लोप हुँदै गएका छन् । जन्मदेखि मृत्युसम्मका सामाजिक कार्यमा धार्मिक कर्म गर्ने पण्डित, बिरामी हुँदा झारफुक गर्ने झाँक्री र ओखतीमुलो गर्ने वैद्यको काम चेपाङ समुदायमा ‘पाण्दे’ ले नै गर्छन् । 

चेपाङको बाहुल्य रहेको क्षेत्रमा भेटिने ‘पाण्दे’ अहिले मुस्किलले जिल्लाभरिमा दुई–चार जना मात्रै रहेको नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्द चेपाङले बताउनुभयो । “जन्मदेखि मृत्युसम्मका सामाजिक कार्य गर्ने ‘पाण्दे’ को अभाव हुन थालेको छ । पहिला पहिला समुदायमा घरघरै जस्तो भेटिन्थे, अहिले भेट्नै मुस्किल छ,” अध्यक्ष चेपाङले भन्नुभयो । 

अझै चेपाङको राष्ट्रिय पर्व न्वागी (छोनाम) मा ‘पाण्दे’ ले नै नयाँ खाद्यान्न बालीको पूजा गरेर मात्र खाने प्रचलन छ । पहिले न्वागी परिवारमा हुने गरे पनि केही वर्षयता ‘पाण्दे’ कै अभावमा जिल्ला वा केन्द्रीय रूपमा गर्नु परेको अध्यक्ष चेपाङले बताउनुभयो । “शुव्रmबार परेको यस वर्षको न्वागी पर्वमा हामीले धादिङको च्याङ्लीमा केन्द्रीय तहमै सीमित गरेर पर्व मनाउँदै छौँ,” उहाँले भन्नुभयो । गत वर्ष मकवानपुर र अघिल्लो वर्ष चितवनमा आयोजना गरिएको थियो । 

चेपाङ सङ्घले २०६८ सालदेखि हरेक वर्ष भदौ २२ गतेका दिन यो पर्व मनाउँदै आएको छ । न्वागी पर्वमा बागमती प्रदेश सरकारले गत वर्षदेखि चेपाङ समुदायलाई दिएको बिदालाई यो वर्ष पनि निरन्तरता दिएको छ । प्रदेश सरकारले चेपाङ समुदायको बाहुल्य रहेको चितवन, मकवानपुर र धादिङमा सार्वजनिक बिदा दिएको छ । शुव्रmबार योे पर्व परे पनि अघिल्लो दिन बिहीबारदेखि नै चोखो खाएर भोलिपल्ट शनिबारसम्म मनाउने कार्यव्रmम तय भएको छ । यो दिन घैया धानको चामल, पिँडालु, निबुवा आदि फलफूलले भूमिलाई पूजा गरी पितृलाई खुवाउने प्रचलन छ । 

चेपाङको बाहुल्य रहेको मकवानपुरको राक्सिराङ गाउँपालिका–८ का ५६ वर्षीय ‘पाण्दे’ देवीलाल चेपाङले आफ्नो समुदायमा नयाँ अन्न र फलफूल पितृलाई नचढाई खाएमा देवता रिसाउने विश्वास रहेको बताउनुभयो । “हामीले एकपाखे ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाएर नेम (सूर्य), लाह (चन्द्रमा), सिङ (रुख), भूमि, नदी एवं प्रकृतिको पूजा गरेपछि बल्ल यो वर्षभरिको खाना फुक्छ,” उहाँले भन्नुभयो । पछिल्लो समय छरछिमेकी, नाताकुटुम्ब निम्तो गरेर सामूहिक भोज गर्ने प्रचलन पनि बढेको छ । चेपाङले न्वागी पर्वलाई ‘पान्देई घ्यासा’ पनि भन्छन् । यो चेपाङ जातिको सबभन्दा ठुलो पर्व भएकाले दुःखसुख बिर्सिएर खानपिन र रमाइलो गरेर मनाइन्छ । यो सिजनमा उब्जने मकै नै चेपाङको मुख्य खाद्यान्न बाली हो । चेपाङको खाद्यान्नमा मकैको ८० प्रतिशत योगदान रहने गरेको छ ।

धर्म परिवर्तन

गोरखापत्र दैनिकका चेपाङ भाषा पृष्ठ संयोजक पत्रकार नेपोलियन चेपाङले पछिल्लो समय चेपाङ समुदायमा देखिएको धर्म परिवर्तनको समस्याले समुदायमा ‘पाण्दे’ को अभाव भएको बताउनुभयो । चेपाङ समुदायका अगुवासमेत रहनुभएका नेपोलियनले विपन्न समुदायका चेपाङलाई विभिन्न आर्थिक प्रलोभनमा पारेर धर्म परिवर्तन गराइएको आरोप लागाउनुभयो । “चेपाङको धर्म भनेको प्रकृतिपूजन हो । अहिले व्रिmश्चियन धर्मको प्रभाव यो समुदायमा पर्दा यसका आफ्ना मौलिक संस्कृति लोप हुँदै गएपछि ‘पाण्दे’ पेसा गर्नेको सङ्ख्या घट्दै गएको हो,” उहाँले भन्नुभयो । उहाँका अनुसार २०४८ सालको राजनीतिक परिवर्तनसँगै चेपाङ समुदायमा धर्म परिवर्तनको लहर चलेको हो ।  

‘पाण्दे’ कोही कसैबाट सिकेरभन्दा पनि आफैँ आउने ज्ञान भएको विश्वास चेपाङ समुदायमा छ । 

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा चेपाङ जातिको जनसङ्ख्या ८४ हजार ३६४ रहेको छ । जसमध्ये चितवनमा ३२ हजार चेपाङ छन् । पछिल्लो समय काठमाडौँ, ललितपुर, इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, बारा, पर्सा, तनहुँ, कास्की, गुल्मी, गोरखा, लमजुङ, बाँके, बर्दिया, नवलपरासी, रुपन्देही र दाङ गरी २६ जिल्लामा चेपाङ जातिको बसोबास विस्तार भएको छ ।