गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १९ गते । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन भ्रमणमा रहनु भएका नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य युआन जियाजुनबीच आज भेटवार्ता भएको छ । चीनको सबैभन्दा ठूलो महानगर छोङछिङ शहर कमिटीका सचिव समेत रहेका जियाजुन र महासचिव पोखरेलबीच छोङछिङमा भेटवार्ता भएको हो ।
भेटका क्रममा पोलिटव्यूरो सदस्य जियाजुनले नेपाल र चीनबीचको सम्बन्ध पुरानो र घनिष्ट रहेको बताउनुभयो । उहाँले नेपाल एक चीनप्रति दृढ र प्रतिबद्ध रहेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ‘चीन बिरोधी गतिबिधि नेपालले अस्वीकार गरेकोमा हामी खुशी छौं ।’
ओली देशभक्त नेता : जियाजुन
नेता जियाजुनले एमाले र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध पुरानो र गहिरो भएको उल्लेख गर्दै भबिष्यमा पनि दुई पार्टीबीच ज्ञान, अनुभव र विचार आदानप्रदान जारी राख्नु पर्ने बताउनु भयो ।
नेता जियाजुनले गत साउनमा आफू नेपाल भ्रमणका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट भएको उल्लेख गर्दै अध्यक्ष ओलीलाई आफूले एक देशभक्त नेताको रुपमा पाएको बताउनुभयो ।
गत साउनमा आफ्नो नेपाल भ्रमणका क्रममा नेपालीहरुको विकास र आर्थिक समृद्धिको तीव्र चाहना पाएको उल्लेख गर्नुहुँदै जियाजुनले नेपालको बिकासमा सहयोगका लागि चीन तत्पर रहेको बताउनुभयो । आर्थिक विकासका लागि शहर र गाउँ, धनी र गरीवबीचको असन्तुलनलाई हटाउन जरुरी रहेको उल्लेख गर्दै जियाजुनले यसका लागि छोङछिङको सफल अनुभव रहेको बताउनुभयो । उहाँले छोङछिङको सफल अनुभव र ज्ञान नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण हुने र नेपालसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
दक्षिण एशियाको गरिबी निवारणका लागि छोङछिङ केन्द्र रहेको उल्लेख गर्दै नेपालको समृद्धिका लागि कृषि, पर्यटन र उद्योगमा सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो । धान उत्पादनका लागि छोङछिङ प्रसिद्ध रहेको बताउँदै उहाँले नेपालको कृषिको आधुनिकरणका लागि छोङछिङको ज्ञान र प्रबिधि सहयोग गर्न तत्पर रहेको बताउनुभयो । कृषिको अध्ययन गर्नेलाई छोङछिङको विश्वविद्यालयमा छात्रवृत्ति र अनुभव तथा अनुसन्धान गर्नेलाई छोङछिङले अवलोकनको अवसर दिने उहाँले बताउनुभयो ।
विकासमा चीनको महत्वपूर्ण भूमिका : पोखरेल
महासचिव शंकर पोखरेलले नेपाल र चीनबीच जनस्तरमा धेरै पुरानो सम्बन्ध रहेको बताउनुभयो । भृकुटी र अरनिकोदेखि नै जनस्तरमा सम्बन्ध रहेको उल्लेख गर्नुहुदै सन् १९५५ मा प्रथम जननिर्वाचित प्रधानमन्त्री मनमोहन अधिकारीको चीन भ्रमण चीन र नेपालबीचको सम्बन्ध महत्वपूर्ण रहेको स्मरण गर्नुभयो ।
जनताको बहुदलीय जनवादका प्रवर्तक जननेता मदन भण्डारीको चीन भ्रमण विचार निर्माण र परिवर्तनमा महत्वपूर्ण रहेको बताउनुभयो ।
महासचिव पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएको बेला भएको नेपाल र चीनबीचको व्यापार तथा पारवहन सम्झौताले नेपालललाई तेश्रो मुलुकसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्नुभयो । यसले नेपालको स्वाधिनता र स्वाभिमानको पाटोमा गौरव बढाएको बताउनुभयो ।
उहाँले राष्ट्रपति सीजिनपिङको नेपाल भ्रमणका क्रममा भएका सम्झौताहरु कार्यान्वयन नभएको उल्लेख गर्दै ती सम्झौताको प्रभावकारी कार्यान्वयनको पक्षमा एमाले रहेको बताउनुभयो । महासचिव पोखरेलले छोङछिङबाट नेपालस्थित दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा छोङछिङ उडानको प्रस्ताव पनि राख्नुभयो ।
भेटमा नेकपा (एमाले) विदेश विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमलगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।