• ६ जेठ २०८१, आइतबार

ख्वप विश्वविद्यालय विधेयक छिट्टै संसदमा पेस हुन्छ : शिक्षामन्त्री राई

blog

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई ।

काठमाडौं, भदौ १८ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ख्वप विश्वविद्यालय विधेयक छिट्टै संसदमा पेस गर्ने बताउनुभएको छ ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा बोल्नुहुँदै उहाँले ख्वप विश्वविद्यालय विधेयक–२०७३ संसद् अधिवेशन अन्त्य भएका कारण निष्क्रिय भएपछि त्यसको मस्यौदा तयारीको काम पुनः सुरु गरिएको र प्रक्रिया पूरा भएपछि त्यसलाई छिट्टै संसदमा पेस गर्ने जानकारी दिनुभयो ।

बैठकमा सांसद प्रेम सुवालले सो विधेयक कहिले संसदमा पेस हुन्छ ? भनी मन्त्री राईलाई प्रश्न गर्नुभएको थियो । मन्त्री राईले सो विधेयकको मस्यौदा तयार गर्नका लागि सरकारले कार्यदल नै गठन गरेको र त्यसले आफ्नो काम गरिरहेको समेत बताउनुभयो ।

‘‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन–२०७५ को कार्यान्वयनसँगै आधारभूत शिक्षा निःशुल्क र अनिवार्य भइसकेको छ । माध्यमिक तहसम्मको शिक्षा पनि कानुनतः निःशुल्क नै छ । सो भन्दा माथिको शिक्षा लक्षित वर्गहरूका लागि निःशुल्क छ । चिकित्सा, इन्जिनियरिङजस्ता विषयमा उल्लेख्य सङ्ख्यामा विद्यार्थीहरूले पूर्ण छात्रवृत्ति पाउने हुनाले उनीहरूका लागि पनि शिक्षा निःशुल्क सरह नै हुन्छ ।,’’ मन्त्री राईले भन्नुभयो, ‘‘ख्वप विश्वविद्यालयको विधेयक २०७३ मङ्सिर २६ मा व्यवस्थापिका संसद् सचिवालयमा पठाइएकोमा उक्त विधेयक संसदमा प्रस्तुत नै नभई अधिवेशन अन्त्य भएका कारण निष्क्रिय भयो । उक्त विश्वविद्यालयको नयाँ विधेयक तर्जुमा लागि मन्त्रिपरिषद्बाट पुनः सैद्धान्तिक स्वीकृति प्राप्त गरी मिति २०७९ कात्तिक ३० मा मन्त्रालयमा कार्य दल गठन गरी विधेयकको मस्यौदा तयार गरिरहेको र प्रक्रिया पूरा भएपछि सरकारले उक्त विधेयक संसदमा यथाशीघ्र पेस गर्ने ब्यहोरा अवगत गराउन चाहन्छु ।’’

त्यस अवसरमा मन्त्री राईले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन–२०७५ को कार्यान्वयनसँगै उच्च शिक्षा समेत लक्षित वर्गका लागि निःशुल्क नै रहेको दाबी गर्नुभएको थियो ।